काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१, ८२ को चौथो त्रैमाससम्ममा ४१ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९४ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
नाफा घटेको देखिए पनि कम्पनीको बीमा व्यवसायमा भने उल्लेख्य मात्रामा वृद्धि देखिएको छ । अघिल्लो आवको अन्त्यसम्म २० अर्ब ६ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको कम्पनीले गत आवको अन्त्यसम्म ७ प्रतिशतले वृद्धि गर्दै २१ अर्ब ४७ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, कम्पनीको जीवन बीमाकोष अघिल्लो वर्ष ७९ अर्ब १ करोड रुपैयाँ रहेकोमा चालु आवको अन्त्यसम्ममा १३।८० प्रतिशतले बढेर ८९ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ ।
बीमितप्रति उत्तरदायी रहने प्रतिबद्धता स्वरूप कम्पनीले दाबी भुक्तानीमा समेत उल्लेख्य वृद्धि गरेको छ । अघिल्लो वर्ष ८ अर्ब ३२ करोड रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले गत आवमा ३२.९४ प्रतिशतले बढाएर ११ अर्ब ७ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । साथै, कम्पनीको कुल आम्दानी पनि वृद्धि भएको देखिन्छ । अघिल्लो वर्ष २७ अर्ब १ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले गत आवमा ६ प्रतिशतले वृद्धि गर्दै २८ अर्ब ६४ करोड रुपैयाँ आम्दानी गरेको छ । तर आम्दानीसँगै खर्च पनि ९.१० प्रतिशतले बढेर २७ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष २५ अर्ब १४ करोड रुपैयाँ थियो ।
कम्पनीले अभिकर्तालाई प्रोत्साहनस्वरूप दिने कमिशनमा पनि वृद्धि गरेको छ । अघिल्लो वर्ष १ करोड ६८ लाख रुपैयाँ कमिशन दिएकोमा यसपालि २९.४० प्रतिशतले बढाएर २ करोड १८ लाख रुपैयाँ कमिशन वितरण गरिएको छ ।
वित्तीय विवरण अनुसार, कम्पनीको प्रतिशेयर आम्दानी अघिल्लो वर्षको १८.८१ रुपैयाँबाट घटेर ७.९२ रुपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ १२९.७२ रुपैयाँ कायम रहेको छ । कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँबाट ९.२० प्रतिशतले बढेर ५ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । महाविपत्ति कोषमा कम्पनीसँग ६६ करोड ७२ लाख रुपैयाँ, शेयर प्रिमियम २७ करोड ८४ लाख रुपैयाँ र जगेडा कोषमा ५१ करोड रुपैयाँ रहेको उल्लेख छ ।