महालक्ष्मी विकास बैंकको लाभाशं वितरण क्षमतामा वृद्धि, खराब कर्जा सीमाभित्रै

काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१–८२ को समग्र वित्तीय परिसुचकहरुमा सकारात्मक सुधार गरेको देखिएको छ । बैंकले प्रकाशित गरेको उक्त आवको अपरिस्कृत वित्तीय विवरणमा खुद नाफा रु. ५०.०३ करोड पुगेको छ ।
यसअनुसार बैंकको लाभांश वितरण क्षमतामा वृद्धि भई ११.५१ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०८१–८२ को अन्त्यसम्म बैंकले रु। ५६.२२ अर्ब निक्षेप संकलन गर्न सफल भएकोमा रु। ४५.८५ अर्ब कर्जा परिचालन गरेको छ ।
कर्जा परिचालनमा बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ५.०५ प्रशितले वृद्धि गरेको हो । साथै आर्थिक वर्ष २०८१–८२ को अन्त्यसम्ममा शेयरधनी कोषमा प्रतिफल ११.७९ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ८३.९८ प्रतिशत रहेको छ ।
महालक्ष्मी विकास बैंकको खराब कर्जा अनुपात ४.८६ प्रतिशत मात्र रहेको छ जुन नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र हो । यस्तै, बैंकको पुँजी पर्याप्यता अनुपात पर्याप्त रहेको कारणले आगामी दिनहरुमा व्यवसाय वृद्धि गर्न कुनै पुँजीगत दबाब नरहने देखिन्छ ।
बैंकको गएको असार मसान्तसम्म कोष लागत प्रतिशत ४.५६ प्रतिशत रहेको छ जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.४७ प्रतिशत कम हो । कोष लागत प्रतिशत कम हुँदा सोको सकारात्मक असर आधार दरमा समेत परेको छ । बैंकको आधार दर २०८२ साउन मसान्तसम्म ६.५४ प्रतिशत रहेको छ । बैंकको आधार दर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदर समेत कम हुने हुँदा सोको लाभ ऋणीहरुले लिन सक्छन् ।
हालै मात्र बैंकले आफ्नो मोबाइल बैकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’मा भर्चुअल क्रेडिट कार्डको सुविधा थप गरेको छ । बैंकले देशभर आफ्ना १०३ शाखा कार्यालय र आठ लाखभन्दा बढी ग्राहक रहेको जानकारी दिएको छ ।

LEAVE A REPLY