‘करिब ४ करोडसहित गोंगबुबाट पक्राउ परेका श्रेष्ठ मिटरब्याजी’

काठमाडौं । आफ्नै घरमा लुकाएर राखिएको अवस्थामा करिब चार करोड रकमसहित पक्राउ परेका व्यक्ति मिटरब्याजी रहेको प्रहरीले दाबी गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो ।
काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित आफ्नै घरबाट पक्राउ परेका मिटर सुन धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्ने गरेको दाबी प्रहरीले गरेको छ । उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी तथा प्रवक्ता शेखर खनाल भन्छन्, ‘प्रारम्भिक अनुसन्धानका क्रममा उनी मिटरब्याजी रहेको देखिन्छ । सुनका गरगहना धितो राखेर अनुचित लेनदने गरेको देखिन्छ ।’
७७ वर्षीय श्रेष्ठले आफ्नै घरमा अवैध करिब चार करोड राखेका थिए । अहिलेसम्म बरामद रकमअनुसार ३ करोड ७५ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी सुनका गरगहनाहरु पनि बरामद भएको पाइएको छ । सुनको जाँच गर्न र तौल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको भन्ने सूचना आएपछि प्रहरीले छापा मारेको थियो । सो क्रममा घरधनी श्रेष्ठ पक्राउ परेका हुन् । पक्राउ परेका श्रेष्ठको गोरखामा पनि घर रहेको पाइएको छ ।

LEAVE A REPLY