काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले स्थायी कमिटी बैठकमा भएका छलफलबारे निर्णय गर्ने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
“बैठकमा यसअघि स्थायी कमिटी बैठकमा भएको छलफलमाथि निर्णय गर्ने तयारी छ । पार्टीको यही भदौ २१ गतेदेखि सुरु गर्ने मध्यपहाडी लोकमार्ग जागरण अभियानबारे टुंगा लाग्न बाँकी विषयमा टुंगो लगाइनेछ,” उनले भने ।
सापकोटाका अनुसार, एकतामा आएका दलका नेताहरूको कार्यविभाजनबारे पनि पदाधिकारी बैठकले निर्णय गर्नेछ ।
यसअघि, माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (गंगानारायण श्रेष्ठ) समूहबीच गत जेठमा एकता भएको थियो ।
बैठकमा पार्टीभित्र देखिएको अन्तरविरोध र समाधानका विषयमा पनि छलफल हुनेछ ।
यसअघि, माओवादीको स्थायी कमिटी बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो ।