निर्वाचनको तयारीमा जुटे सरकार र निर्वाचन आयोग

काठमाण्डौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरकारले निर्वाचन आयोगसँग मिलेर तयारी तीव्र पारेको छ ।
प्रधानमन्त्री सुशीला कार्की र आयोगका पदाधिकारीबीच मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा निर्वाचन तयारीलाई प्राथमिकता दिँदै आवश्यक स्रोतसाधन, जनशक्ति र सुरक्षाको व्यवस्था गर्ने विषयमा सहमति गरिएको छ ।
प्रधानमन्त्री कार्कीले निर्वाचन नेपाल सरकारको उच्च प्राथमिकता भएको उल्लेख गर्दै आयोगलाई आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको जनाईन । उनले शान्ति–सुरक्षाको भरपर्दो व्यवस्था मिलाइने, सरोकारवालाहरूसँग निरन्तर छलफल गरिने र निर्वाचन सहज बनाउन अनुकूल वातावरण तयार गरिने स्पष्ट पारिन् ।
सो अवसरमा कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतपेटिका सहितका आवश्यक सामग्री मौज्दातमै रहेको र बाँकी सामग्री पनि स्वदेशमै उत्पादित सामग्रीलाई प्राथमिकता दिँदै प्रतिस्पर्धात्मक तरिकाले खरिद गरिने जानकारी दिए । उनले निर्वाचन सुरक्षाका लागि सरकारलाई अनुरोध गर्दै, राजनीतिक दल, नागरिक समाज र सञ्चार जगतसहित सबै सरोकारवालाको सक्रिय सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
छलफलमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, मुख्य सचिव एकनारायण अर्याल लगायत अधिकारीहरूको उपस्थिति थियो । आयोगका तर्फबाट आयुक्त डा। जानकी कुमारी तुलाधर, सगुन सम्शेर जबरा तथा सचिव महादेव पन्थसहित पदाधिकारीहरूको सहभागिता थियो ।

LEAVE A REPLY