मुग्लिन–नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । तुइनखोलामा भयंकर सुक्ख पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकमा मंगलबार दिउँसो ३ः२० बजे खसेको भयंकर सुक्खा पहिरोले सडक समेत भासिने जोखिम बढेको चितवनको एसपी गोविन्द पुरीले जानकारी दिए ।
एसपी पुरीले भने, ‘तुइनखोलामा अत्यन्तै ठूलो पहिरो खसेको छ । सुक्खा पहिरो खसेका कारण सडक नै भासिने जोखिम बढेको छ । जसका कारण तत्कालै सडक खुल्ने कुनै सम्भावना छैन ।’
सडक खुल्न कति दिन लाग्ने भन्ने कुनै निक्र्योल गर्न नसकिने अवस्था रहेको उनको भनाइ छ । यसविषयमा निर्णय लिन सडक विभागको टोलीसहित सुरक्षा समितिको बैठक अहिले बसिरहेको एसपी पुरीले जनाए ।
सडक नै भासिन सक्ने जोखिमका कारण अहिले सवारीसाधनलाई फिर्ता गरेर वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको उनले बताए । पहिरो निरन्तर खसिरहेकोले तत्काल पहिरो पन्छाउन सक्ने सम्भावना नरहेको उनले जनाए ।

LEAVE A REPLY