काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल सेवाका प्रयोगकर्तालाई लक्षित गर्दै सिम कार्डको स्वामित्व आफ्नै नाममा दर्ता गर्न मिल्ने अनलाइन केवाईसी अद्यावधिक सुविधा सञ्चालनमा ल्याएको छ । लामो समयदेखि अरूको नाममा दर्ता भएका सिम प्रयोग गर्दै आएका वा आफ्नो व्यक्तिगत विवरण अद्यावधिक नगरेका ग्राहकहरूलाई सहजता प्रदान गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको टेलिकमले जनाएको छ ।
यस सेवासँगै अब सिम कार्डको स्वामित्व परिवर्तन गर्न वा विवरण सच्याउन टेलिकमको कार्यालय पुग्नुपर्ने झन्झट हटेको छ । कम्पनीले तयार पारेको अनलाइन फारममार्फत ग्राहकहरूले घरमै बसेर आवश्यक प्रक्रिया पूरा गर्न सक्नेछन् ।
अनलाइन केवाईसी अद्यावधिक वा सिमको स्वामित्व दाबी गर्न प्रयोगकर्ताले केही कागजात तथा विवरण उपलब्ध गराउनुपर्ने हुन्छ । त्यसअन्तर्गत नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, आफूले प्रयोग गरिरहेको सिमबाट हालसालै सम्पर्कमा आएका पाँचवटा मोबाइल नम्बरको विवरण र हालै खिचिएको एक प्रति डिजिटल फोटो आवश्यक पर्ने टेलिकमले जानकारी दिएको छ ।













