काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेत जोडिएको टेरामक्स भ्रष्टाचार प्रकरणमा विशेष अदालतले प्राविधिक परिक्षणका लागि विज्ञ समूह गठन गरेको छ ।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले खरिद सम्झौता अनुसार उपकरण जडित भएको, नभएको परिक्षणका लागि विज्ञ समूह गठनका लागि आदेश दिएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणका विषयविज्ञ वरिष्ठ इन्जिनियरको संयोजकत्वमा त्रिभुवन विश्वविद्यालय पुल्चोक इन्जिनियरिङ क्याम्पसका टेलिकम्युनिकेसन एन्ड इलेक्ट्रोनिक विषयविज्ञ प्राध्यापक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का विषयविज्ञ रहेको विशेष विज्ञ समूह गठन गरिएको छ ।
टेरामक्स खरिदमा एक अर्ब ११ करोड ६५ लाख ५२ हजार १४३ रुपैयाँ भुक्तानी भएको आरोप पत्रमा उल्लेख छ। खरिद भएका सामान जडित गरिसकेको आपूर्तिकर्ताको जिकिर छ ।













