काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आगामी माघ २० गतेपछि मात्र सुनुवाइ अघि बढाउने भएको छ ।
आज सर्वोच्चले आउँदो माघ २० गतेका लागि रिट निवेदकलाई साधारण तारिख दिएको छ । सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले संसद् विघटनको मुद्दामा अब माघ २० गतेपछि मात्र सुनुवाइ हुने जानकारी दिए ।
आउँदो फागुन २१ गतेका लागि तोकिएको आमनिर्वाचन रोक्न माग राखेर पूरक निवेदन समेत दर्ता भएकाले पहिले यस विषयमा सुनुवाइ भएपछि मात्र संसद् विघटनको मुद्दामा सुनुवाइ हुने भएको छ ।
नेपाली कांग्रेस, एमाले र अन्य दलका निवर्तमान सांसदले संसद् पुनस्र्थापनाको मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए । यसबाहेक कानुन व्यवसायी लगायतबाट १६ वटा भिन्नै रिट समेत दर्ता भएका छन् ।
रिट निवेदकले निर्वाचन प्रक्रिया समेत रोक्न माग गरेका छन् । सबै रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, तत्कालीन सभामुख देवराज घिमिरे, निर्वाचन आयोग, प्रतिनिधिसभा संसद् सचिवालयसहितको लिखित जवाफ पेस भइसकेको छ ।
सबै रिटमा माघ २० पछि मात्रै प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा र नहकुल सुवेदी संलग्न संवैधानिक इजलासमा सुनुवाइ हुने छ । यसअघि संसद् विघटनसम्बन्धी सर्वोच्चमा दर्ता भएका सबै रिटलाई एकैसाथ राखेर सुनुवाइ गर्न आदेश भएको थियो ।













