काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले माघ १३ –१५ गते पोखरा ग्रान्डमा ‘एमडीआरटी अचिभर्स अवार्ड, २०२६’ सम्पन्न गरेको छ ।
सन् २०२५ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्ममा ‘एमडीआरटी २०२६’का लागि योग्य भएका ११० जना अभिकर्तालाई सम्मानित गरिएको हो । पानसमा दीप प्रज्वलन गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले एमडीआरटी जस्तो अन्तर्राष्ट्रिय संस्थाले तोकेको मापदण्ड पूरा गरी क्वालिफाई हुन सफल भई कार्यक्रममा सामेल भएका अभिकर्ताहरुलाई बधाई तथा आगामी दिनका लागि शुभकामना व्यक्त गरे । उनले क्वालिफाई भएका अभिकर्ताहरूलाई अन्तर्राष्ट्रियस्तरमा गई एक्स्पोजर लिन आग्रह गरे । बीमा क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा भएका असल अभ्यासहरूसँग साक्षात्कार हुन यस किसिमको कार्यक्रमले सहयोग गर्नुका साथसाथै नेपालमा पनि बीमासम्बन्धी नीति निर्माणमा सहयोग पुर्याउने उनले जनाए ।
विश्व अर्थतन्त्रमा आएका आर्थिक मन्दीका प्रभाव नेपालमा पनि परेको र यस कठिन समयका बावजुद पनि सफल भएका सबै अभिकर्ताहरूको उनले मुक्तकण्ठले प्रशंसा गरे । आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग हरेक क्षेत्रमा बढ्दै गएको र आगामी दिनमा विभिन्न क्षेत्रमा रोजगारीमा कटौती हुने खालको अवस्था सिर्जना भएको तर बीमा अभिकर्ताको काम कहिले पनि विस्थापित नहुने हुँदा अभिकर्ताहरु एकदमै सुरक्षित पेशामा रहेको कुरा बताउँदै उनले यस पेशाको गरिमा र महिमालाई ख्याल गर्दै जीवन बीमाको सचेतना आम नागरिकबीच पुर्याउन आग्रह गरे ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीले भव्य कार्यक्रम आयोजना गर्न पाउँदा मन हर्षित भएको जनाए । उनले नेपाल लाइफले बीमा बजारको करिब एक तिहाइ हिस्सा ओगटेको र आगामी दिनमा आम नागरिक बीच बीमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन आग्रह गरे ।
पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरु रहेको साथै उनीहरुकै अथक मेहनत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफू विश्वस्त रहेको जनाए ।













