नेप्सेमा सामान्य सुधार, कारोबार रकम घट्यो

0

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । दिनभर अधिकांश समय नकारात्मक रहेको बजार अन्तिम समयमा सुधारिँदै ५।०१ अंकले बढेर २९३६.५६ विन्दुमा पुगेको हो।
सोमबार सेन्सेटिभ इण्डेक्स ०.२८ अंकले घट्दा फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०३ अंकले बढेका छन् । अघिल्ला दुई दिन उच्च वृद्धि भएको बजारमा सोमबार इन्ट्रा–डे करेक्सन देखिएको थियो ।
कारोबार रकम भने घटेको छ । आइतबार २३ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार १५ अर्ब ७८ करोड रुपैयाँमा सीमित भयो । कुल ३४२ स्टकको १ लाख ५६ हजारभन्दा बढी कारोबारबाट ३ करोड ८० लाख कित्ता शेयर किनबेच भएका छन् ।
सोमबार सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, सोलु हाइड्रोपावर र भुजुङ्ग हाइड्रोपावर को शेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन् । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर र होटल फरेष्ट इन करिब १० प्रतिशतले बढ्दा फस्ट माइक्रोफाइनान्सको मूल्य पनि करिब ९ प्रतिशतले उकालो लागेको छ । कारोबार रकमका आधारमा कुमारी बैंक अग्रस्थानमा रहँदा शिवम् सिमेन्ट्स र नेशनल हाइड्रोपावर कम्पनी पनि उच्च कारोबार हुने सूचीमा परेका छन् ।
१३ उपसमूहमध्ये ७ उपसमूह बढ्दा ६ उपसमूह घटेका छन् । उत्पादन तथा प्रशोधन उपसमूह सबैभन्दा बढी १.५३ प्रतिशतले बढेको छ भने जलविद्युत र म्युचुअल फण्ड उपसमूहमा पनि करिब १ प्रतिशतको वृद्धि देखिएको छ ।

LEAVE A REPLY