काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्ष २०८२, ८३ को तेस्रो त्रैमाससम्ममा ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा गरेको बैंकले नाफा ३३.९१ प्रतिशतको बढाएको हो ।
नबिल बैंकले नोक्सानी व्यवस्थामा भारी कटौति र खराब कर्जा घटाउँदै आफ्नो व्यावसायिक दक्षतामा सुधार गरेको देखिन्छ । आधार दर र स्प्रेड रेट खुम्चिए पनि कर्जा र निक्षेप विस्तारको ठूलो आकारले बैंकको लाभांश क्षमतालाई बलियो बनाएको छ भने वित्तीय स्वास्थ्य थप सुरक्षित र सुदृढ देखिएको छ ।
यस अवधिमा खुद ब्याज आम्दानी ४० करोड ५० लाख रुपैयाँले बढेर १२ अर्ब ४५ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने खुद फि एन्ड कमिसन १६ करोड रुपैयाँले बढेर २ अर्ब ४३ करोड ७६ लाख रुपैयाँ पुगेको छ । यसैगरी बैंकको सञ्चालन नाफा ७ अर्ब ६२ करोडबाट बढेर ९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।
बैंकले ९ महिनाको अवधिमा व्यवसाय विस्तारमा आक्रामक देखिन्छ । असार मसान्तसम्म ४ खर्ब १० अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले चैत मसान्तसम्म कर्जा बढाएर ४ खर्ब ४७ अर्ब ९४ करोड रुपैयाँ पुर्याएको छ । त्यस्तै निक्षेप संकलन ५ खर्ब २४ अर्ब ६२ करोडबाट बढेर ५ खर्ब ७८ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।
कर्जा विस्तारसँगै अधिक तरलता र प्रतिस्पर्धाका कारण बैंकको स्प्रेड दर गत आवको ३.५७ प्रतिशतबाट घटेर ३.३१ प्रतिशतमा झरेको छ । यसैगरी आधार दर ५.९७ प्रतिशतबाट घटेर ४.६५ प्रतिशत कायम भएको छ ।
नबिल बैंकको नाफामा वृद्धि हुनुको मुख्य कारण नोक्सानी व्यवस्थामा आएको भारी गिरावट हो । गत आवको चैतसम्म २ अर्ब २९ करोड ३२ लाख रुपैयाँ रहेको नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) चालु आवको सोही अवधिमा घटेर ४७ करोड ८७ लाख रुपैयाँमा झरेको छ । बैंकको निष्क्रिय कर्जाको अनुपातमा जोखिम व्यवस्था कति बलियो छ भन्ने सूचक ‘टोटल लोन लस प्रोभिजन टु टोटल लोन’ हेर्दा १०८.२० प्रतिशत पुगेको छ, जसको अर्थ बैंकसँग खराब कर्जाभन्दा बढी प्रोभिजनिङ रकम सुरक्षित छ । बैंकले आफ्नो गैर बैंकिङ सम्पत्तिलाई पनि घटाएर ३ अर्ब ८५ करोड रुपैयाँमा झार्न सफल भएको छ ।
यस अवधिमा निष्क्रिय कर्जा गत वर्षको ४.९६ प्रतिशतबाट घटेर ४.३७ प्रतिशतमा र खुद निष्क्रिय कर्जा १.५९ प्रतिशतबाट घटेर ०.९८ प्रतिशतमा झरेको छ । पुँजी पर्याप्ततातर्फ पुँजी पर्याप्तता अनुपात १२.५१ प्रतिशत र प्राथमिक पुँजी अनुपात ९.६९ प्रतिशत रहेको छ । बैंकको सीडी रेसियो ७९.५० प्रतिशत रहेको छ, जसले बैंकमा थप कर्जा लगानी गर्ने पर्याप्त तरलता रहेको देखाउँछ ।
यसैगरी ईपीएस बढेर ३३.०२ रुपैयाँ (गत आव २५.०५ रुपैयाँ) पुगेको छ । आरओई १३.६६ प्रतिशत पीई रेसियो १६.०५ गुणा र प्रतिसेयर नेटवर्थ २४३.३० रुपैयाँ रहेको छ ।
५ अर्बको अग्राधिकार सेयरको लाभांश र अन्य नियामकीय समायोजनपछि बैंकको ९ महिनाको वितरणयोग्य नाफा ३ अर्ब ९० करोड २ लाख रुपैयाँ कायम भएको छ । गत आवसम्मको सञ्चित नाफासमेत जोड्दा कुल रिटेन्ड अर्निङ ४ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ पुगेको छ । यो चुक्ता पुँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँको आधारमा बैंकको वार्षिकिकृत लाभांश क्षमता २१.१६ प्रतिशत पुगेको छ ।













