बाराका प्रिन्सिपलको हत्याका मुख्य अभियुक्त सिंह पक्राउ

बारा । प्रिन्सिपल रूपेश स्वर्णकार हत्याका मुख्य अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१, सुक्लहियाका २५ वर्षीय सुजित कुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जनाए । उनलाई प्रहरीले एक थान पेस्तोल र पाँच थान गोली समेत पक्राउ गरेको हो ।
बाराको बिश्रामपुर गाँउपालिका वडा नं ३ मा देखिएका उनलाई प्रहरीले पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि खुट्टामा गोली प्रहार गरी पक्राउ गरिएको काफ्लेले जनाए । सिंहको दुवै खुट्टामा गोली लागेको छ ।
गत असोजमा बाराको सदरमुकाम कलैयामा वडा नम्बर ६ मा दुई मोटरसाईकलमा आएका चार जनाको अज्ञात समूहले बाल एकता बोर्डिङका प्रिन्सिपल स्वर्णकारलाई दिन दहाडै गोली प्रहार गरी हत्या गरेका थिए ।
स्वर्णकार अन्नपूर्ण स्विट्सबाट मिठाई किनेर मोटरसाइकलमा विद्यालय फर्किरहेका बेला अज्ञात समूहले छाती, टाउकोमा गोली प्रहार गरी फरार मध्येका मुख्य सुटर सिंह रहेको प्रहरीले यस अघिनै पत्रकार सम्मेलन गरी जनाएको थियो ।
खुट्टामा गोली लागेका सिंहलाई कलैया अस्पतालमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ । सार्पसुटरका नामबाट परिचित सिंह यसअघिका बाराका दुई घटनाका समेत सुटर रहेको प्रहरीले जनाएको छ । घटनाको छानविन भइरहेको प्रहरीले जनाएका छ ।

LEAVE A REPLY