काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । यो साता ३ दिन खुलेको बजार तीनै दिन ओरालो झरेको हो ।
यसैक्रममा आज बजार ३.९४ अंकले तल झरेको छ । ०.१९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०६६.८९ अंकमा ओर्लिएको छ ।
आज ३०३ कम्पनीका १ करोड १३ लाख ८३ हजार ४ सय ७१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ९८ लाख ४५ हजार ५ सय ३०.८० रुपियाँ बराबरको कारोबार भएको छ ।
समग्रमा बजार घटे पनि विभिन्न ८ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । भिजन लुम्बिनी उर्जा कम्पनीको सबैभन्दा बढी १० प्रतिशतले शेयर मूल्य बढ्यो । चिरख्वा हाइड्रो, हाथवे, मनकामना इन्जिनियरिङ, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ, तारागाउँ रिजेन्सी र सोनापुर मिनिरल्सका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका हुन् ।
त्यस्तै धौलागिरी लघुवित्त र बीपीडब्लू लघुवित्तका लगानीकर्ताहरुले १०–१० प्रतिशत घाटा व्यहोरेका छन् ।
आज सोनापुर मिनिरल्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १४ करोड १० लाख ५१ ह्जार ८ सय ४३.९० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार २१.०३ अंकले बजार घट्दा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८ सय २९.८० रुपियाँ र हिजो बुधबार १७.२३ अंकले बजार घट्दा ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार ६ सय ११.३७ रुपियाँ बराबरको कारोबार भएको थियो । सोमबार र मंगलबार सार्वजनिक बिदाका कारण बजार बन्द रह्यो ।
साताको अन्तिम दिन पुस ५ गते बिहीबार पनि बजार ३२.७७ अंकले घटेको थियो ।