लमही– दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। अन्य २ जना घाइते भएका छन्।
बर्दियादेखि काठमाडौं जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७१९ नम्बरको बस आइतबार राति करिब ११ बजेदेखि दाङको लमही नगरपालिका–९ रिहार नजिकै दुर्घटना भएको थियो।
दुर्घटनामा ज्यान गुमाउनेमा बर्दियाको गेरुवा गाउँपालिका–१ घर भएका ३६ वर्षीय भिमनाथ योगी र ठेगाना नखुलेका युवराज चौधरी छन्। मृतकहरुको शव लमही अस्पतालमा राखिएको छ।
बसमा ४७ जना यात्रुहरु सवार रहेकामा अन्य यात्रुहरु भने सकुशल रहेका छन्। बस चालक सामान्य घाइते भएका र उनको कोहलपुरमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रारम्भिक अनुमान छ। पट्टा भाँच्चिएपछि बसको अगाडि बसेका २ जना हुत्तिएर च्यापिन पुगेकाले उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।