काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले देश एमालेमय भएको दाबी गरेका छन ।
आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित वरिष्ठ राजनीतिज्ञ सिद्धिलाल ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष ओलीले एमालेलाई लालटिन बालेर खोज्दा पनि नभेटिने बनाउँछौँ भनेर केही शक्ति लागेका भए पनि एमाले जता खोज्दा पनि भेटिने अवस्थामा पुगेको जानकारी दिएका छन । ‘खोज्दा नभेटिने होइन एमालेमय छ देश, जहाँ हेर्यो त्यहाँ एमाले भएको छ, जहाँ हेर्यो त्यहाँ एमालेमय बन्छ, त्यसैका लागि मिसन २०८४’, ओलीले भने ।
एमालेले स्वार्थका लागि होइन सफलताका लागि एकताको अभियान चलाउने उनले जनाए । राष्ट्रिय शक्तिलाई निर्णायक तहमा विकास गर्ने काममा एमाले लागेको उनले स्पष्ट पारे । एमालेलाई सिद्धाउँछौँ भनेर लागेको बेला पनि नेकपा एमाले देशको प्रमुख शक्तिको रूपमा स्थापित भएको उनले जानकारी दिए । हालै भएको दुईवटा निर्वाचन नेकपा एमालेले जितेको जनाउँदै उनले यो मिसन २०८४ को सफलताको सुरुवात भएको ओलीको भनाइ छ ।
एमालेको अभियानमा यथोचित ढङ्गले समाहित हुन उनले सबैलाई आग्रह गरे । एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्न सबैलाई एमालेको अभियानमा लाग्न ओलीले आह्वान गरे । उनले आफूलाई कम्युनिष्ट भन्ने पार्टी र व्यक्तिलाई कम्युनिस्ट पार्टीको मूलधार नेकपा एमालेमा समाहित हुन आग्रह गरे । ‘सबै आउनुस्, सबै एकजुट भएर जाऊँ’, ओलीले भने ।
ओलीले बामदेव गौतमले आफू एमालेमा फर्कन चाहेको भनि राखेको एकताको भावना निक्कै सकारात्मक भावना भएको जनाउँदै त्यस विषयमा छुट्टै बसेर छलफल गर्ने जानकारी दिए । गौतमको राष्ट्रिय एकता महाअभियान सफल होस् भन्दै उनले शुभकामना पनि दिए । अध्यक्ष ओलीले अहिले देशमा एउटा भुईँफुट्टा वर्ग जन्मिएको जनाउँदै त्याग, बलिदान र योगदान बिर्सने मात्र होइन, योगदानको समेत अवमूल्यन गर्ने प्रवृत्ति बढेको प्रति चिन्ता व्यक्त गरे । एमाले यी सबै कुरालाई चिरेर अघि बढेको उनको भनाइ छ । एकलकाटे र गैर जिम्मेवार प्रवृत्ति चिन्न र बुझ्न ओलीले आग्रह पनि गरे । ‘हाम्रो पार्टीले सही विचारको, सही प्रवृत्तिको बाटो समातेको छ, त्यो दिशा लिएको छ, त्यो अडान राखेको छ, त्यसै कारण एमाले एमाले भएको छ’, ओलीले भने ।
एमाले वैचारिक र राजनीतिक रूपमा स्पष्ट भएको उनले जानकारी दिए । गल्ती हुनसक्ने जनाउँदै उनले आत्म केन्द्रित भएर होइन, संगठन केन्द्रित सच्चिएर अघि बढ्नु पर्नेमा जोड दिए । नयाँ पुस्ताले पुराना सफलताका रेकर्ड तोड्दै नयाँ डोब बनाउनु पर्ने उनले स्पष्ट पारे ।
ओलीले चुनावी तालमेलदेखि पार्टी एकतासम्मको काम गरेर कम्युनिस्ट पार्टीलाई अघि बढाएको भए पनि त्यसलाई टिकाइराख्न नसकेको जनाए । एउटा उचाइमा पुगेको कम्युनिस्ट आन्दोलनले फेरि एक झड्का खाएको ओलीको भनाइ छ । आन्दोलनलाई देशी विदेशी शक्तिले सिद्धाउँछौँ भनेर लागेका भए पनि असफल भएका ओलीले जानकारी दिए ।
सिद्धिलाल ज्ञवाली देश र जनता प्रति निष्ठा भएको मानिस भएको ओलीले जनाए । ओलीले ज्ञवाली आन्दोलन र पार्टी प्रति निष्ठा भएको मान्छे भएको जानकारी दिए । ज्ञवाली आफ्नो भूमिको कारण कहिले काहीँ यता उता भए पनि आफ्नो कारण पार्टी र आन्दोलनबाट यता उता नहुने भएको ओलीले स्पष्ट पारे ।