
काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीलगायत प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन । सभामुखले आज बिहान साढे ११ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ ।
आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका हुन । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई छलफलका लागि बोलाएका हुन ।
सहकारी प्रकरणमा रास्वपा सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो । कांग्रेसको अवरोधले सदनको कारबाही प्रभावित भएपछि सभामुखले शीर्ष बैठक बोलाएका हुन ।
सभामुखले सदनको अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष बैठक आह्वान गरेका थिए । तर, सहमति प्रयास सार्थक हुन सकेको थिएन ।
सहकारी प्रकरणबारे सदनमा उठेका विषयलाई सहमतिमा टुंग्याउन मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग र कार्यव्यवस्थामा अलग अलग छलफल भएको थियो । संसदको वर्खे अधिवेशन आगामी २८ गतेदेखि सुरु हुँदैछ ।