ताप्लेजुङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकार परिवर्तन गर्न अनेक षड्यन्त्रहरू भइरहेको टिप्पणी गरेका छन् । उनले जसपा विभाजनको उदाहरण दिँदै त्यस्ता षड्यन्त्रको प्रतिरोधमा सांसदहरू नै उत्रिएर पहल लिन थालेको समेत जानकारी दिए ।
मंगलबार बिहान ताप्लेजुङमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सरकार ढाल्न भएका प्रयासलाई सांसदहरूले नै असफल पार्न सक्रिय भएको दाबी गरे । ‘अहिले पनि सरकार परिवर्तन गर्नका लागि अनेक षड्यन्त्र भइरहेका छन् । तर त्यस्तो कार्यको प्रतिरोधमा सांसदहरू आफैँले पनि सङ्गठित भएर प्रयास गर्न थालेका छन् । जसपाका सांसदहरूले त संगठितरुपमा नै एउटा प्रयास गरिसक्नुभएको छ,’ उनले भने, ‘मलाई लाग्छ, त्यो क्रम अझै बढ्न सक्छ ।’
जसपाका सांसदहरूको विद्रोहलाई उनले विधिसम्मत र स्वाभाविक भएको जनाए । ‘जनता समाजवादी पार्टीका सांसदले विद्रोह गरेर सरकार र वर्तमान सत्ता गठबन्धन जोगाउन पहल लिनुभएको छ । यो सकारात्मक पहल हो,’ उनले भने, ‘लोकतन्त्रमा दलहरूभित्र कुनै समस्या भयो भने विधिसम्मत डङ्गबाटै अघि बढ्नुपर्छ । त्यस कारण अहिले जे भयो, त्यो कानूनीरुपमा प्राप्त अधिकारको उपयोग गरेर गरिएको कार्य हो ।’
उनले मुलुकमा बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने उद्देश्यका साथ एमालेले मिसन–०८४ को अभियान चलाएको जानकारी दिए । ‘जब राजनीतिक दलहरू धेरै हुन्छन्, कमजोर हुन्छन्, त्यसबेला बाह्य शक्तिहरूको हस्तक्षेप बढ्ने रहेछ,’ उनले भने, ‘त्यस कारण हामी नेकपा एमालेलाई यो देशको ठुलो शक्ति, बलियो शक्ति बनाएर देशलाई निकास र विकास दिन चाहन्छौँ । त्यसैकालागि पार्टीले मिसन ०८४ लाई एउटा अभियानकोरुपमा अघि बढाएको छ ।’
उनले अहिले एमालेले भागबन्डाको राजनीतिभन्दा पनि तत्काललाई स्थायी सरकार र मिसन–०८४ मा ध्यान लगाएको जनाए । ‘हामीले भागबन्डाको राजनीतिलाई महत्त्वपूर्ण विषय ठानेका छैनौँ । हामी मिसन ०८४ मा छौँ । त्यही कारण अहिले एमालेले सरकारमा महत्त्वपूर्ण मन्त्रालय बुझ्ने भन्दा पनि सरकारलाई निरन्तर चलाउने हिसाबले अघि बढेका छौँ,’ उनको दाबी छ ।