तुलसीपुर । दाङको तुलसीपुरमा खोलाले अटो बगाउदा दुईजना वेपत्ता भएका छन् । वेपत्ता हुनेमा तुलसीपुर–४ खाद्रे निवासी ५५ बर्षीया सीता आले र सुर्खेत घर भई अहिले सोही ठाउँमा बस्दै आएकी १६ बर्षीया मन्जु खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । उनका अनुसार तुलसीपुर बजारबाट खाद्रेतर्फ जादै गरेको रा १ ह ४०५५ नम्बरको अटोलाई तुलसीपुर–४ मा रहेको बेचनी खोलाले हिजो साँझ सवा ८ बजेको समयमा बगाएको हो । अटोमा ५ जना सवार रहेकोमा चालक तुलसीपुर–४ खाद्रे निवासी ४५ बर्षीय हरीकिशन बिक, अटोमा सवार ३३ बर्षीया सुनिता थापा र ७ बर्षीया सुशान्त आले भने खोलाबाट बाहिर निस्कन सफल भएपनी दुईजना यात्रुसहित अटोलाई खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ ।
वेपत्ता यात्रुहरुको खोजी कार्य अहिले पनि जारी रहेको प्रहरी निरीक्षक थापाले जनाए । यसैबिच तुलसीपुरको कालाखोलाले अटो बगाउदा वेपता भएका चालकको उद्दार गरिएको छ । तुलसीपुरबाट विजौरीतर्फ जाँदै गरेको रा १ ह २३५८ नम्बरको अटालाई घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत पर्ने कालाखोलाले गएराती पौने १० बजेको समयमा बगाएको थियो । वेपत्ता भएका अटो चालक तुलसीपुर–७ पर्सेनीका २२ बर्षीय दुर्गा पुनलाई उद्दार गरि उपचारका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको प्रहरीले जनाएको छ । चालक पुनले मापसे गरेको प्रहरीले जनाएको छ ।