काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ सालको निर्वाचनमा एमाले एक्लै निर्वाचन लड्ने धारणा व्यक्त गरेका छन ।
आजबाट सुरू भएको पार्टी पोलिट्ब्यूरो बैठकलाई सम्बोधन गर्दै उनले २०८४ को निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने प्रस्ट पारेका हुन।
‘नेकपा एमाले २०८४ को निर्वाचनमा कसैसँग गठबन्धन गर्दैन। एक्लै लड्छ। बरु त्यसपछि नतिजाका आधारमा सरकार बनाउन तालमेल गर्न सकिन्छ’, बैठकमा ओलीले गरेको ब्रिफिङ उधृत गर्दै एक पोलिटब्युरो सदस्यले भने,‘ त्यसका लागि शक्ति निर्माण गर्न आजैदेखि लाग्नुपर्छ।’
उनले मिसन ०८४ को तयारी गर्न पनि नेताहरूलाई निर्देशन दिए। त्यसका लागि पार्टीका राजनीतिक सांगठानिक कामलाई चुस्त दुरुस्त बनाउन र कार्ययोजना बनाएर कार्यान्वयनमा लैजान सक्नुपर्ने ओलीको भनाइ थियो।
‘संगठनहरु चुस्त दुरुस्त हुनुपर्यो, प्रदेश कमिटीहरू राम्रोसँग चल्न सकेका छैनन्, माथिको आदेश कुरेर बसेर मात्रै हुँदैन’, ओलीले भने, ‘ग्राउण्डमा योजना बनाएर अघि बढ्नुपर्यो र बनेका योजनाहरू कार्यान्वयनमा लैजानुपर्यो।’














