काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । यो साता ३ दिन खुलेको बजार तीनै दिन ओरालो झरेको हो ।
यसैक्रममा आज बजार ३.९४ अंकले तल झरेको छ । ०.१९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०६६.८९ अंकमा ओर्लिएको छ ।
आज ३०३ कम्पनीका १ करोड १३ लाख ८३ हजार ४ सय ७१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ९८ लाख ४५ हजार ५ सय ३०.८० रुपियाँ बराबरको कारोबार भएको छ ।
समग्रमा बजार घटे पनि विभिन्न ८ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । भिजन लुम्बिनी उर्जा कम्पनीको सबैभन्दा बढी १० प्रतिशतले शेयर मूल्य बढ्यो । चिरख्वा हाइड्रो, हाथवे, मनकामना इन्जिनियरिङ, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ, तारागाउँ रिजेन्सी र सोनापुर मिनिरल्सका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका हुन् ।
त्यस्तै धौलागिरी लघुवित्त र बीपीडब्लू लघुवित्तका लगानीकर्ताहरुले १०–१० प्रतिशत घाटा व्यहोरेका छन् ।
आज सोनापुर मिनिरल्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १४ करोड १० लाख ५१ ह्जार ८ सय ४३.९० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार २१.०३ अंकले बजार घट्दा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८ सय २९.८० रुपियाँ र हिजो बुधबार १७.२३ अंकले बजार घट्दा ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार ६ सय ११.३७ रुपियाँ बराबरको कारोबार भएको थियो । सोमबार र मंगलबार सार्वजनिक बिदाका कारण बजार बन्द रह्यो ।
साताको अन्तिम दिन पुस ५ गते बिहीबार पनि बजार ३२.७७ अंकले घटेको थियो ।
शेयर बजारमा ३.९४ अंकको गिरावट, चार अर्बमा समेटियो कारोबार
मानव सेवा आश्रममा आश्रित २ जनाको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडा ९ लामसुरेधापस्थित मानव सेवा आश्रमको केन्द्रीय कार्यलयमा आश्रित दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर अनुसार आश्रममा बसेका १९ वर्षीया पुजा मानव र २५ वर्षीय अमित विकको मृत्यु भएको हो ।
पुजालाई विसं २०७६ मंसिर १ गते बागलुङस्थित सडकपेटीबाट उद्धार गरी यहाँ ल्याइएको थियो भने अमितलाई गत असार २७ गते मकवानपुरको बकैया ३ हात्तिसुँडेस्थित बाटोबाट वेवारिसे अवस्थामा उद्धार गरी ल्याइएको थियो ।
पुजाको मंगलबार र अमितको आज बिहान निधन भएको प्रहरीले जानकारी दिएको छ । दुवै जनाको कालगतिले मृत्यु भएको जानकारी आएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आश्रमले सडकपेटी एवं सार्वजनिक स्थलहरुमा जीवनव्यतित गरिरहेका मानिसहरुको उद्धार गरेर उनीहरुको सेवा गर्दै आएको छ ।
प्रभु बैंकका सीईओ अशोक शेरचन सम्मानित
बागलुङ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन गृहजिल्ला बागलुङमा सम्मानित भएका छन् । बुधबार सातौं बागलुङ महोत्सवमा सिइओ शेरचनलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मानित गरेका हुन् ।
कार्यक्रममा राष्ट्रपति पौडेलले सिइओ शेरचनलाई सम्मानपत्र प्रदान गरे । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा सफल नेतृत्व गरी बैंकिङ क्षेत्रबाट देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिएको भन्दै सीईओ शेरचनलाई सम्मान गरिएको हो ।
बागलुङमा जन्मिएका शेरचन यतिखेर सक्षम र सबल बैंकरको रुपमा स्थापित छन् । बैंकिङ क्षेत्रमा शेरचनको २८ वर्षको अनुभव छ । शेरचनको नेतृत्वमा रहेको प्रभु बैंकले केहीसमय अघि मात्रै ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्राप्त गरेको थियो ।
कांग्रेस केन्द्रीय समिति बैठक आज १ बजे बस्दै
काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि बैठक सुरू हुने कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।
बैठकमा मुख्यगरी मन्त्रीहरूका कामकारबाहीको समीक्षा गर्ने तयारी गरेको छ। मन्त्रीहरूले आफूले गरेका कामबारे पनि पार्टीलाई जानकारी गराउनेछन्।
साथै महासमिति बैठक तयारी र राष्ट्रिय सभा निर्वाचनलगायत विषयमा पनि केन्द्रीय समितिमा छलफल हुने जनाईएको छ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै
काठमाडौं । जिल्ला अदालत काठमाडौंमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा अन्तिम सुनुवाइ प्रारम्भ भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि राखिएको छ ।
न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरु गरिए पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा बुधबारका लागि राखिएको थियो ।
सोमबार र मंगलबार सार्वजनिक बिदा अदालत बन्द भएको थियो । बुधबार पनि निरन्तर सुनुवाइ सुरु गरिए पनि बहस नसकिएपछि आजका लागि पुनः सुनुवाइ राखिएको हो ।
यसअघि, नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो ।
दुईजना नेपालीको अपहरण गर्ने ६ जना भारतीय पक्राउ
काठमाडौं । प्रहरीले दुई जना नेपालीको अपहरण गर्ने ६ जना भारतीयलाई पक्राउ गरेको छ ।
चितवनको भरतपुरका कृष्ण थापा र रत्ननगरका दीपेन्द्र महतको अपहरण गरेको आरोपमा ६ जना भारतीय आफ्नै देशमा पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारतीयहरुमा राम नरेश कुमार, अकबर राइन, नइम अकतर, कौसर अली, सदाब सइम र ईरसाद शेख रहेका छन् । उनीहरूले कृष्ण र दीपेन्द्रलाई पुस ५ गते अपहरण गरेका थिए ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले भारतीय प्रहरीहरुसँग सहयोग तथा समन्वय गरी अपहरणमा परेका थापा र महतलाई सितामढीबाट सकुशल उद्धार गरेको थियो ।
भारतीय प्रहरीले पीडितबाट अपहरण तथा शरीर बन्धक शीर्षकमा जाहेरी दरखास्त लिई थप अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ ।
नेपाल बैंकका शाखा प्रबन्धकलाई तोकियो बिगोसहित ६ वर्ष जेल सजाय
काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालाको सजाय निर्धारण गरिएको छ ।
आज विशेष अदालतका न्यायाधीशहरू खुसिप्रसाद थारू, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई ५४ लाख ८४ हजार रुपैयाँ बिगो र उति नै जरिवाना तोकेको हो ।
साथै उनलाई ६ वर्ष १ महिना कैद सजाय तोकिएको छ ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले अख्तियारको मागबमोजिम नै उनलाई सजाय भएको जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोइरालामाथि बैंकको सिस्टम ह्याक गरेर बैंकमा जम्मा गर्नुपर्ने ब्याज आफ्नो खातामा जम्मा गरी भ्रष्टाचार गरेको आरोप लगाएको थियो । उनीविरुद्ध अख्तियार ०७७ असार ३१ मा मुद्दा दर्ता गरेको थियो ।
गठबन्धन पाँचै वर्ष जाने प्रधानमन्त्रीको दाबी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन सरकार पाँचै वर्ष जाने जनाएका छन् ।
गोरखाको वारपाक सुलिकोट गाउँपालिकामा आयोजित जनतासँग अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले गठबन्धनको सरकार पाँचै वर्ष टिक्ने जनाएका हुन् । गठबन्धन सरकारको एक वर्षे कार्यकालमा केही रेकर्ड कायम हुने काम भएको जनाउँदै प्रधानमन्त्रीले बाँकि ४ वर्षमा धेरै राम्रा काम गरिने जनाए ।
उनले भने–’सरकारले यो एक वर्षे कार्यकालमा केही रेकर्ड कायम हुने केही कामहरु गरेको छ । नागरिकता समस्या , मिटरव्याजीको समस्या , सामाजिक सुरक्षाको क्षेत्रमा , विकास निर्माणको क्षेत्रमा सरकारले बुढिगण्डकी आयोजना , जलवायु न्यायको विषयमा पर्वतिय देशहरुको नेतृत्व गरिएको छ । एक वर्षमा यति काम भएभने बाँकि ४ वर्षमा त झनै धेरै राम्रा काम हुनेछन् ।’
सरकारले राम्रा कामको सुरुवात गरेको भएको भएपनि गणतन्त्र र परिर्वतन विरोधिहरुले ती काम राम्रा भए भनेर नभन्ने बताउँदै राम्रा कामको पचार जनता र परिर्वतन पक्षधरले गर्नुपर्ने प्रधानमन्त्रीको भनाई थियो । प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले गाउँगाउँमा सिंहदरबारको रुपमा महिला, दलित र सबैको समानुपातिक प्रतिनिधित्व हुने व्यवस्था स्थापना गरेका छौं । यसबाट धेरै राम्रा काम पनि भएका छन् । त्यसको पक्षमा हामीले बोल्नुपर्छ । सरकारका राम्रा कामको प्रचार हामीले नै गर्नुपर्छ ।’
पछिल्लो समय परिर्वतन विरोधिहरुले सरकार, गठबन्धन र प्राप्त उपलब्धिका विरुद्ध सडयन्त्र गरिरहेको प्रधानमन्त्रीको भनाइ छ। त्यसकै कारण नकारात्मक मात्रै देखाएर अध्यारो मात्रै देखाउने काम गर्न खोजिएको उनले जनाए। यद्यपी त्यस्ता सडयन्त्र र परिर्वतन विरोधि अवरोध छिचोल्न सरकार सफल बनेको प्रधानमन्त्रीको भनाई छ ।
गठबन्धनका विरुद्ध विभिन्न सडयन्त्र र धार्मिका द्धन्द्ध सिर्जना गर्न खोजियो । तर उनीहरुले जतिसुकै बल गरेपनि केही भएको छैन । हामीले बडो धैर्यताको साथ धार्मिक र अतिवादी प्रयास विफल तुल्यायौं,’ प्रधानमन्त्री प्रचण्डले भने ।
प्रधानमन्त्री प्रचण्डले पहिलो वर्ष गठबधन परिर्वतन लगायतका विभिन्न अलमलका बजेट निर्माणमा राम्रो ध्यान दिन नसकिएको जनाउँदै यो वर्ष बजेट निर्माणमा व्यापक छलफल गरेर जनताको सहभागीता बजेट निर्माणमै गराइने जनाए ।
‘निर्वाचन लगत्तै एउटा परिस्थितिमा सरकार बन्यो र मैले त्यो सरकारको नेतृत्व गर्न पाएँ, पछि फेरि राजनीतिक कोर्स फेरियो म फेरि गठबन्धनको प्रधानमन्त्री बनें’ उनले भने, ‘ त्यतिबेलासम्ममा नीति तथा कार्यक्रम बनिसकेको थियो, त्यसैले गत वर्ष पर्याप्त ध्यान पुग्न सकेन, आगामी बजेटमा म उचित सम्बोधनको प्रयास गर्नेछु ।’
आईएमई पे एजुकेशन पार्कबीच संझौता
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ र एजुकेशन पार्कबीच आइईएलटीएस र पीटीईको तयारी कक्षामा ५०५ छुट दिने सम्झौता भएको छ ।
उक्त सम्झौताअनुसार सिभिल मल, काठमाडौंको आठौं तलामा रहेको एजुकेशन पार्कमा आइईएलटीएस र पीटीईको तयारी कक्षा लिन इच्छुक विद्यार्थीले आईएमई पे मार्फत कक्षाको शुल्क भुक्तानी गर्दा सो छुट प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
पुस ६ गतेबाट लागु भएको सो योजनाको अवधि तीन महिनाको हुने आइएमई पेले जनाएको छ । आइईएलटीएस र पीटीई कक्षामा अग्रणी एजुकेशन पार्क र आईएमई पे बीचको यो योजनाले सो कक्षा लिन चाहने विद्यार्थीहरुलाई अझ सहज हुने दुबै कम्पनीले विश्वास लिएका छन् ।
योजनाको अवधि ३ महिनाको भएता पनि पहिला कक्षा बुक गर्ने विद्यार्थीहरुले आफ्नो समय अनुसारको कक्षाको छनोट गर्न सक्नेछन् । दुबै कक्षा अनलाइनमार्फत समेत लिन सकिने व्यवस्था गरेको एजुकेशन पार्कले जनाएको छ ।
महालक्ष्मी विकास बैंक र विभिन्न संघसस्थाबीच संझौता
काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले ति संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
काठमाडौंको न्युरोडमा रहेको एन्जल ज्वेलर्स प्रालिमा सुन बनाउने ज्यालामा महालक्ष्मीका ग्राहकले ४० प्रतिशत छुट पाउने छन् । त्यस्तै अन्य संस्थाहरुमा पनि बैंकका ग्राहकले छुट पाउने छन् ।
यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।