काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै बिहान साढे ११ बजे बस्दै छ । बैठकमा गुठी पीडित मोही किसानहरूको समस्या तथा गुठी सम्बन्धी कानुन लगायतका विषयमा छलफल हुने जानकारी दिईएको छ ।
त्यस्तै बिहान साढे ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विभिन्न विद्यार्थी सङ्घ÷सङ्गठनहरूसँग विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने जनाईएको छ ।
बिहान ११ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय सम्पदा अन्तर्गत राष्ट्रिय निकुञ्ज, आरक्षण र संरक्षित क्षेत्रको विद्यमान अवस्था र यसको संरक्षण संवर्द्धनमा सामुदायिक वन उपभोक्ता महासङ्घको भूमिकाका सम्बन्धमा छलफल हुनेछ ।
तीन संसदीय समितिको बैठक बस्दै
टीआरसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्दैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा पुगेर अल्झिएको विधेयकमा सत्तारुढ दलभित्रबाटै सहमति खोजेर अघि बढ्न गठबन्धनको बैठक बोलाएका छन ।
बैठक आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । नेताहरू बैठकका लागि पुग्नेक्रम छ । प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बैठकमा राष्ट्रिय सभा निर्वाचनको तयारी र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा छलफल हुने जानकारी दिएका छन ।
गतवर्ष नै सरकारले संसद्मा दर्ता गराएको विधेयक पास गर्न प्रधानमन्त्री दाहाललाई दबाब छ । एमालेलाई समेत मनाएर सर्वसहमतिमा विधेयक पास गर्ने दाहालको चाहना असफल जस्तै बनिसकेको छ भने अब सत्तारुढ गठबन्धनले बहुमतबाट विधेयक पास गरेर अघि बढ्ने तयारी छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले यसअघि नै आगामी अधिवेशनबाट सो विधेयक पारित हुने जनाईसकेका छन ।
चन्द्रागिरि दुर्घटना ः मृत्यु हुनेको संख्या ५ पुग्यो
काठमाडौं । चन्द्रागिरि नगरपालिका ४ पानीघाट नजिक हिमचुली सेतोपहरामा आज दिउँसो भएको सवारी साधन दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
दुर्घटनामा घाइते छ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिएका छन ।
काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको प्र३ ०१ २३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसी दुर्घटना भएको थियो । अपराह्न १ः५५ बजेको समयमा भएको दुर्घटनाबाट चार जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनास्थलमै मृत्यु हुनेमा काठमाडौं मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, सोही स्थानका ६४ वर्षीया कल्पना तिवारी, काठमाडौं लाजिम्पाटका डा महेशकुमार गौतम र सोही ठाउँका चार वर्षीय प्रियान्स गौतम थिए ।
दुर्घटनामा स्मारिकाकी आमा डा. सृष्टि तिवारी गौतम सकुशल रहेको प्रहरीले जानकारी दिएको छ । मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
महालक्ष्मी विकास बैंकका सेयरधनीलाई ६.४० प्रतिशत लाभांश
काठमाडौं। महालक्ष्मी विकास बैंकका सेयरधनीले ६.४० प्रतिशत नगद लाभांश पाउने भएका छन्। बैंकको बाइसौं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो।
बैंकका सञ्चालक अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा शनिबार लैनचौरमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७९, ८० को संचालक समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ। बैंकको लेखा परीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको वासलात, आव २०७९, ८० को नाफा नोक्सानको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएका छन् ।
यसैगरी वार्षिक संचालक समितिको प्रस्तावअनुसार सभाले आर्थिक वर्ष २०७९, ८० को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको ६.४० प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ।
सभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार लगानीकर्ताको रुपमा भित्र्याउने प्रस्ताव पारित गरेको छ। सभाले आव २०८०, ८१ मा बैंकको लेखा परीक्षण गर्न जेबी राजभण्डारी एण्ड डिविन्स चाटर्ड एकाउण्टेन्ट्सलाई लेखा परीक्षकमा नियुक्ती तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ। साथै सभाले बैंकको प्रबन्धपत्र र नियमावलीका दफा तथा नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ।
सेतो पहरामा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु
काठमाण्डौ । राजधानी काठमाण्डौबाट हेटौंडा जोड्ने थानकोट–चित्लाङ सडक खण्डको सेतो पहरामा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
थानकोटबाट चित्लाङतर्फ गइरहेको प्रदेश–३–०१–०२३ च ६९८५ नम्बरको कार चन्द्रागिरि नगरपालिका–४ मा शनिबार दिउँसो दुर्घटना हुँदा ४ जनाको मृत्यु हुनुका साथै ६ वर्षीय स्माइल गौतम घाइते भएका छन् ।
मृत्यु हुनेमा काठमाण्डौको लाजिम्पाट बस्ने ओमकार तिवारी, महेशकुमार गौतम, कल्पना गौतम र श्रीयन्स गौतम रहेका थानकोट प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिए ।
घाइते बालकलाई उपचारका लागि काठमाण्डु ल्याइएको छ । प्रहरीका अनुसार बालकको अवस्था पनि गम्भीर छ । कार सडकबाट करीब ६०० मिटर तल खसेको थियो ।
माओवादीको विधान सम्मेलन फागुन १–३ गते
काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) को विधान सम्मेलन आउँदो फागुन १ देखि ३ गतेसम्म गरिने भएको छ । विधान सम्मेलन काठमाडौंमा गर्ने निर्णय पनि गरिएको छ ।
शनिबार बसेको स्थायी कमिटीको बैठकबाट यो निर्णय गरिएको उपाध्यक्ष एवं पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
विधान सम्मेलनअघि माघ २६ गते स्थायी कमिटीको बैठक बस्ने उनले जानकारी दिए ।
निर्वाचन आयोगले दियो राष्ट्रिय सभा उम्मेदवारलाई चुनाव चिह्न
काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ ।
शनिबार निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार नै बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो ।
सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन ।
निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी कूल ५१ जना उम्मेदवारको यही पुस २३ गते उम्मेदवारी मनोनयनपत्र दर्ता भएको आयोगले जानकारी दिएको छ ।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट च्याम्पियनसिप आजबाट सुरु
काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट च्याम्पियनसिप आजबाट सुरु हुने भएको छ । आजदेखि सुरु प्रधानमन्त्री कप क्रिकेट माघ २० गतेसम्म सञ्चालन हुने तालिका छ ।
पहिलो दिन आज नेपाल पुलिस क्लब र वाग्मती प्रदेशबीच टीयू मैदानमा पहिलो खेल हुनेछ । कोसी र मधेस प्रदेशबीच मुलपानी मैदानमा र लुम्बिनी र गण्डकी प्रदेशबीच सिद्धार्थ मैदानमा खेल हुने जनाईएको छ ।
प्रतियोगिताको यस संस्करणमा तीन विभागीय र सात प्रदेशसहित दश टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताका लिग चरणका खेलहरू त्रिवि क्रिकेट मैदान, मुलपानी र सिद्धार्थ क्रिकेट रंगशाला भैरहवामा हुनेछ । प्रतियोगिता एकदिवसीय संरचनामा सञ्चालन हुनेछ ।
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दै छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठक आज बिहान ११ बजेदेखि सुरु हुने माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । बैठकमा पार्टीको विधान संसोधनबारे छलफल बैठकको मुख्य एजेण्डा रहेको सापकोटाले जनाए ।
पार्टीको विधान मस्यौदा समितिले १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमाथि पनि आजको बैठकमा छलफल हुने उनले जानकारी दिए ।
त्यस्तै, बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षा पनि हुनेछ ।
राष्ट्रियसभा निर्वाचन ः आज उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने
काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएएको छ । बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जानकारी दिएको छ ।
माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभामा रिक्त १९ पदका लागि मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिन मतगणना गरिनेछ ।
निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ ।
















