काठमाडौं । एनआईसी एशिया बैंकले आर्थिक शिथिलताका कारण बैंकका कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउने उद्देश्यले ऋणीहरुको जरिवाना तथा हर्जाना रकममा छुट र साधारण वक्यौता ब्याज रकममा छुट दिने भएको छ । बैंकले ल्याएको नयाँ प्याकेज अनुसार २०८० चैत मसान्तसम्मको भाखा नाघेका सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेठ महिनाभित्र भुक्तान गरेमा छुट तथा सहुलियत दिने भएको हो ।
जसअनुसार ९१ दिनदेखि १ सय ८० दिनसम्म भाखा नाघेका ऋणीहरुले जेठभित्रै कर्जा भुक्तान गरेमा १५ प्रतिशत छुट पाउने भएका छन् । यस्तै १ सय ८१ दिनदेखि ३ सय ६५ दिनसम्म भाखा नाघेका ग्राहकले २५ प्रतिशत छुट पाउने भएका छन् ।
यस्तै ३ सय ६५ दिनभन्दा धेरै अवधिको भाखा नाघेका ग्राहकका लागि बैंकले ३५ प्रतिशत छुट दिने भएको छ । मासिक तथा त्रयमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहक यस योजनामा सहभागी हुनसक्ने बैंकले जानकारी दिएको छ ।
बैंकले ल्याएको यो छुट योजनाबाट आर्थिक शिथिलताका कारण समस्यामा परेका ग्राहकको वित्तीय भार कम गर्न मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सवलीकरणमा समेत टेवा पुग्ने विश्वास लिएको जनाईएको छ ।
कर्जा ग्राहकका लागि एनआईसी एशियाको छुट योजना
प्रभु बैंक र स्वस्तिक हेल्थ केयर सेन्टरबीच संझौता
काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटो, ललितपुरस्थित स्वस्तिक हेल्थ केयर सेन्टरले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपीडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका स्वास्थ सेवाहरुमा विशेष छुट दिने भएको छ ।
एक समारोहका बीच स्वस्तिक हेल्थ केयर सेन्टर का अध्यक्ष डा. अमृश थापा र प्रभु बैंकका प्रमूख मार्केटिङ अफिसर रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे । दुई पक्षीय समझदारी अनुसार छुट सुविधाका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक स्वस्तिक हेल्थ केयर सेन्टरमा पेस गर्नुपर्ने छ ।
नेपालको निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक स्वस्तिक हेल्थ केयर सेन्टरले निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ । साथै छिट्टै नै आकस्मिक उपचारदेखि सघन उपचार लगायत स्वास्थ सेवाहरु उपलब्ध गराउने जनाएको छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरुका लागि स्वस्तिक हेल्थ केयर सेन्टरमा विभिन्न स्वास्थ्य परीक्षणका प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवाहरुमा १ हजारदेखि २ हजार ५ सय रुपैयाँसम्मको छुट व्यवस्था रहेको स्वस्तिक हेल्थ केयर सेन्टरले जनाएको छ ।
यस्तै, ग्राहकहरुको रोजाइको अग्रणी बैंकको रुपमा रहेको प्रभु बैंक हालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित भएको छ । प्रभु बैंकका नेपालभर ३ सय २ वटा शाखा कार्यालयहरु छन् । २ सय ८५ एटीएम र ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले जनाएको छ ।
सरकार परिवर्तन गर्न अनेक षड्यन्त्र भइरहेको महासचिव पोखरेलको टिप्पणी
ताप्लेजुङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकार परिवर्तन गर्न अनेक षड्यन्त्रहरू भइरहेको टिप्पणी गरेका छन् । उनले जसपा विभाजनको उदाहरण दिँदै त्यस्ता षड्यन्त्रको प्रतिरोधमा सांसदहरू नै उत्रिएर पहल लिन थालेको समेत जानकारी दिए ।
मंगलबार बिहान ताप्लेजुङमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सरकार ढाल्न भएका प्रयासलाई सांसदहरूले नै असफल पार्न सक्रिय भएको दाबी गरे । ‘अहिले पनि सरकार परिवर्तन गर्नका लागि अनेक षड्यन्त्र भइरहेका छन् । तर त्यस्तो कार्यको प्रतिरोधमा सांसदहरू आफैँले पनि सङ्गठित भएर प्रयास गर्न थालेका छन् । जसपाका सांसदहरूले त संगठितरुपमा नै एउटा प्रयास गरिसक्नुभएको छ,’ उनले भने, ‘मलाई लाग्छ, त्यो क्रम अझै बढ्न सक्छ ।’
जसपाका सांसदहरूको विद्रोहलाई उनले विधिसम्मत र स्वाभाविक भएको जनाए । ‘जनता समाजवादी पार्टीका सांसदले विद्रोह गरेर सरकार र वर्तमान सत्ता गठबन्धन जोगाउन पहल लिनुभएको छ । यो सकारात्मक पहल हो,’ उनले भने, ‘लोकतन्त्रमा दलहरूभित्र कुनै समस्या भयो भने विधिसम्मत डङ्गबाटै अघि बढ्नुपर्छ । त्यस कारण अहिले जे भयो, त्यो कानूनीरुपमा प्राप्त अधिकारको उपयोग गरेर गरिएको कार्य हो ।’
उनले मुलुकमा बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने उद्देश्यका साथ एमालेले मिसन–०८४ को अभियान चलाएको जानकारी दिए । ‘जब राजनीतिक दलहरू धेरै हुन्छन्, कमजोर हुन्छन्, त्यसबेला बाह्य शक्तिहरूको हस्तक्षेप बढ्ने रहेछ,’ उनले भने, ‘त्यस कारण हामी नेकपा एमालेलाई यो देशको ठुलो शक्ति, बलियो शक्ति बनाएर देशलाई निकास र विकास दिन चाहन्छौँ । त्यसैकालागि पार्टीले मिसन ०८४ लाई एउटा अभियानकोरुपमा अघि बढाएको छ ।’
उनले अहिले एमालेले भागबन्डाको राजनीतिभन्दा पनि तत्काललाई स्थायी सरकार र मिसन–०८४ मा ध्यान लगाएको जनाए । ‘हामीले भागबन्डाको राजनीतिलाई महत्त्वपूर्ण विषय ठानेका छैनौँ । हामी मिसन ०८४ मा छौँ । त्यही कारण अहिले एमालेले सरकारमा महत्त्वपूर्ण मन्त्रालय बुझ्ने भन्दा पनि सरकारलाई निरन्तर चलाउने हिसाबले अघि बढेका छौँ,’ उनको दाबी छ ।
आज सभामुखले प्रधानमन्त्रीलगायत प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीलगायत प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन । सभामुखले आज बिहान साढे ११ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ ।
आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका हुन । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई छलफलका लागि बोलाएका हुन ।
सहकारी प्रकरणमा रास्वपा सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो । कांग्रेसको अवरोधले सदनको कारबाही प्रभावित भएपछि सभामुखले शीर्ष बैठक बोलाएका हुन ।
सभामुखले सदनको अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष बैठक आह्वान गरेका थिए । तर, सहमति प्रयास सार्थक हुन सकेको थिएन ।
सहकारी प्रकरणबारे सदनमा उठेका विषयलाई सहमतिमा टुंग्याउन मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग र कार्यव्यवस्थामा अलग अलग छलफल भएको थियो । संसदको वर्खे अधिवेशन आगामी २८ गतेदेखि सुरु हुँदैछ ।
अहिले देश एमालेमय भएको अध्यक्ष ओलीको दाबी
काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले देश एमालेमय भएको दाबी गरेका छन ।
आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित वरिष्ठ राजनीतिज्ञ सिद्धिलाल ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष ओलीले एमालेलाई लालटिन बालेर खोज्दा पनि नभेटिने बनाउँछौँ भनेर केही शक्ति लागेका भए पनि एमाले जता खोज्दा पनि भेटिने अवस्थामा पुगेको जानकारी दिएका छन । ‘खोज्दा नभेटिने होइन एमालेमय छ देश, जहाँ हेर्यो त्यहाँ एमाले भएको छ, जहाँ हेर्यो त्यहाँ एमालेमय बन्छ, त्यसैका लागि मिसन २०८४’, ओलीले भने ।
एमालेले स्वार्थका लागि होइन सफलताका लागि एकताको अभियान चलाउने उनले जनाए । राष्ट्रिय शक्तिलाई निर्णायक तहमा विकास गर्ने काममा एमाले लागेको उनले स्पष्ट पारे । एमालेलाई सिद्धाउँछौँ भनेर लागेको बेला पनि नेकपा एमाले देशको प्रमुख शक्तिको रूपमा स्थापित भएको उनले जानकारी दिए । हालै भएको दुईवटा निर्वाचन नेकपा एमालेले जितेको जनाउँदै उनले यो मिसन २०८४ को सफलताको सुरुवात भएको ओलीको भनाइ छ ।
एमालेको अभियानमा यथोचित ढङ्गले समाहित हुन उनले सबैलाई आग्रह गरे । एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्न सबैलाई एमालेको अभियानमा लाग्न ओलीले आह्वान गरे । उनले आफूलाई कम्युनिष्ट भन्ने पार्टी र व्यक्तिलाई कम्युनिस्ट पार्टीको मूलधार नेकपा एमालेमा समाहित हुन आग्रह गरे । ‘सबै आउनुस्, सबै एकजुट भएर जाऊँ’, ओलीले भने ।
ओलीले बामदेव गौतमले आफू एमालेमा फर्कन चाहेको भनि राखेको एकताको भावना निक्कै सकारात्मक भावना भएको जनाउँदै त्यस विषयमा छुट्टै बसेर छलफल गर्ने जानकारी दिए । गौतमको राष्ट्रिय एकता महाअभियान सफल होस् भन्दै उनले शुभकामना पनि दिए । अध्यक्ष ओलीले अहिले देशमा एउटा भुईँफुट्टा वर्ग जन्मिएको जनाउँदै त्याग, बलिदान र योगदान बिर्सने मात्र होइन, योगदानको समेत अवमूल्यन गर्ने प्रवृत्ति बढेको प्रति चिन्ता व्यक्त गरे । एमाले यी सबै कुरालाई चिरेर अघि बढेको उनको भनाइ छ । एकलकाटे र गैर जिम्मेवार प्रवृत्ति चिन्न र बुझ्न ओलीले आग्रह पनि गरे । ‘हाम्रो पार्टीले सही विचारको, सही प्रवृत्तिको बाटो समातेको छ, त्यो दिशा लिएको छ, त्यो अडान राखेको छ, त्यसै कारण एमाले एमाले भएको छ’, ओलीले भने ।
एमाले वैचारिक र राजनीतिक रूपमा स्पष्ट भएको उनले जानकारी दिए । गल्ती हुनसक्ने जनाउँदै उनले आत्म केन्द्रित भएर होइन, संगठन केन्द्रित सच्चिएर अघि बढ्नु पर्नेमा जोड दिए । नयाँ पुस्ताले पुराना सफलताका रेकर्ड तोड्दै नयाँ डोब बनाउनु पर्ने उनले स्पष्ट पारे ।
ओलीले चुनावी तालमेलदेखि पार्टी एकतासम्मको काम गरेर कम्युनिस्ट पार्टीलाई अघि बढाएको भए पनि त्यसलाई टिकाइराख्न नसकेको जनाए । एउटा उचाइमा पुगेको कम्युनिस्ट आन्दोलनले फेरि एक झड्का खाएको ओलीको भनाइ छ । आन्दोलनलाई देशी विदेशी शक्तिले सिद्धाउँछौँ भनेर लागेका भए पनि असफल भएका ओलीले जानकारी दिए ।
सिद्धिलाल ज्ञवाली देश र जनता प्रति निष्ठा भएको मानिस भएको ओलीले जनाए । ओलीले ज्ञवाली आन्दोलन र पार्टी प्रति निष्ठा भएको मान्छे भएको जानकारी दिए । ज्ञवाली आफ्नो भूमिको कारण कहिले काहीँ यता उता भए पनि आफ्नो कारण पार्टी र आन्दोलनबाट यता उता नहुने भएको ओलीले स्पष्ट पारे ।
गणेशमान सिंह अस्पताल र प्रभु बैंकबीच संझौता
काठमाडौं । ललितपुर महालक्ष्मिस्थान, स्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एन्ड रिसर्च सेन्टर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
एक समारोहकाबीच गणेशमान सिंह मेमोरियल हस्पिटल एन्ड रिसर्च सेन्टरका अध्यक्ष दीपक प्रकाश बास्कोट र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकाल ले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका परिवारले गणेशमान सिंह मेमोरियल हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी र दन्त चिकित्सालय लगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
शेयर बजारमा १५.६२ अंकको गिरावट, करोबार रकम २ अर्ब ८९ करोड
काठमाडौं । शेयर बजार आज सोमबार पनि दोहोरो अंकले घटेको छ । कारोबार रकम पनि पौने ३ अर्बमा खुम्चिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १.।६२ अंकले घटेको हो । ०.७९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९५८.७५ अंकमा झरेको छ ।
आज विकास बैंकबाहेक सबै राताम्मे भएका छन् । विकास बैंक समूह ०.२३ प्रतिशतले बढेको छ । वित्त समूह सबैभन्दा बढी १.९६ प्रतिशतले घटेको छ ।
आज ३१० कम्पनीका ६९ लाख ७८ हजार ३ सय २१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८९ करोड १३ लाख १९ हजार ९ सय ७९.८८ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि बोटलर्स नेपाल तराई लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ९.०३ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै दोल्ती पावर र पोखरा फाइनान्सका लगानीकर्ताहरुले १०–१० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज सिटिजन लाइफको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३१ करोड ९८ लाख ३० हजार ९ सय ४२.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
उक्त कम्पनीले आजै मात्रै २८७.४० प्रतिशत लाभांश घोषणा गरेको थियो ।
साताको पहिलो दिन हिजो आइतबार बजार २४.५८ अंकले तल झरेको थियो ।
आजदेखि बागमती प्रदेशमा नेपाल र तामाङ पनि कामकाजी भाषा
हेटौंडा । आजदेखि बागमती प्रदेशमा नेपाल र तामाङ भाषा पनि कामकाजी भाषा भएको छ। सरकारले जारी गरेको प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० आजदेखि कार्यान्वयनमा आएको हो।
बागमती प्रदेशसभाबाट ुप्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०ु गत २०८० असोज २२ मा पारित भएको थियो। गत कार्तिक २३ गतेका दिन प्रदेश राजपत्रमा प्रकाशित गरिएको हो। राजपत्रमा प्रकाशित भएको सोमबार १८० दिन पुगेको छ। प्रकाशित भएको १८० औं दिनमा कार्यान्वयनमा जाने कानुनि व्यवस्था रहेको छ।
काठमाडौँको वसन्तपुरमा एक औपचारिक कार्यक्रम गरि उक्त घोषणा गर्ने तयारी गरिएको छ। कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समेत उपस्थिति रहनेछ।
नेपाल र तामाङ भाषा पनि कामकाजी भएको अवसरमा बागमती प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ।
जापानी विदेशमन्त्री कामिकावा योको स्वदेश फिर्ता
काठमाडौं । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री कामिकावा योको स्वदेश फिर्ता भएकी छन । जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण रहेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गरे । राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवास र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सिंहदरबारमा जापानका विदेशमन्त्री योकोले शिष्टाचार भेटवार्ता गरेकी थिईन ।
भेटका क्रममा द्विपक्षीय हित तथा चासोका विषयमा छलफल भएको थियो । राष्ट्रपति पौडेलसँगको भेटका क्रममा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा शून्य कार्बन उत्सर्जन नीतिको कार्यान्वयनका लागि आपसी सहयोग र सहकार्यका विषयमा छलफल भएको थियो ।
त्यसैगरी, प्रधानमन्त्री दाहालसँगको भेटका क्रममा आर्थिक तथा सामाजिक क्षेत्रमा सहकार्यका लागि छलफल भएको जनाइएको छ ।
उनले विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेकी थिईन । साथै उनी जमलस्थित मण्डला बुक प्वाइन्ट गई केही नेपाली पुस्तक खरिद समेत गरेकी थिईन ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठले विदेशमन्त्री योकोको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन ।
ल्यापट र सुन चोरेको आरोपमा दुईजना पक्राउ
काठमाडौं । चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंस्थित मैतिदेवीका ३७ वर्षीय जोन खड्गी र ३४ वर्षीय सञ्जय खड्गी छन् ।
प्रहरीका अनुसार यही वैशाख १६ गते दिउँसोको समयमा काठमाडौंको ताहाचलस्थित सविना खड्काको डेरा कोठाबाट ल्यापटप, मोबाइल फोन र दुई तोला सुन चोरी भएको थियो । अनुसन्धानका क्रममा चोरीमा जोन र सञ्जय संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूलाई धुमबाराहीबाट पक्राउ गरिएको थियो । साथै उनीहरूविरुद्ध यसअघि नै पाँचपटक चोरीसम्बन्धी सहितका कसुरमा मुद्दा दर्ता भएको देखिएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट एक थान ल्यापटक, तीन थान मोबाइल फोन र एक थान मोटरसाइकल बरामद गरिएको छ ।