Page 22

आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।
यस्तै, सहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने संघीय संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यावधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन ।
यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ र ‘सार्वजनिक सेवा प्रसारण विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्नेछन ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन ।

सहकारी छानविन समितिको म्याद थप गर्ने तयारी

काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको म्याद थप गर्ने तयारी भएको छ । मंगलबार बस्ने प्रतिनिधिसभा बैठकबाट म्याद थपको प्रस्ताव पेस हुने जनाईएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा समितिको कार्यविधि थपसम्बन्धी प्रस्ताव पेस गर्ने विषय उल्लेख छ ।
जसअनुसार सभापति सूर्यबहादुर थापाले समितिको कार्यविधि थपसम्बन्धी प्रस्ताव पेस गर्ने संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।
समितिको म्याद यही साता सकिन लागेको तर काम धेरै बाँकी रहेकाले म्याद थपको प्रस्ताव लैजान लागिएको जनाईएको छ । समितिको हालसम्म ५१ वटा बैठक बसेको छ भने अब प्रतिवेदनको मस्यौदा लेखन गर्न सुरु गरिएको छ ।

गण्डकी सरकारका मन्त्री दीपक मनांगेको राजीनामा स्वीकृत

पोखरा । गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङेले दिएको राजीनामा स्वीकृत भएको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनको राजीनामा स्वीकृत गरेका हुन ।
आज आफ्नो मन्त्रालय परिवर्तन भएसँगै असन्तुष्टि जनाउँदै मनाङगेले भौतिक पूर्वाधार मन्त्रीबाट राजीनामा दिएका थिए ।

गण्डकी सरकारका मन्त्री ‘दीपक मनाङे’ ले दिए राजीनामा

पोखरा । गण्डकी सरकारका मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ ले मन्त्री पदबाट राजीनामा दिएका छन ।
सरकार पुनर्गठन हुनुअघि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री भएका गुरूङले मन्त्रालय फेरिएसँगै राजीनामा दिएका हुन ।
मनाङ्गेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय नेकपा एमालेलाई सरकारमा सहभागी गराउने क्रममा एमालेलाई दिइएपछि उनी असन्तुष्ट थिए ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङ्गेको मन्त्रालय परिवर्तन गरेर आजै वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका हुन।

कुमारी बैंकले उद्यमशिलता प्रर्वद्धनका लागि क्युआर कारोबारकै धितोमा कर्जा दिने

काठमाडौं । देशका हरेक भागमा रहेका उद्यमशिलता प्रर्वद्धनका लागि ‘देशैभरी वर्षैभरी’ उद्यमी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम संचालन गरिरहेको कुमारी बैंकले साना उद्यमीहरुलाई वित्तीय सबलता प्रदान गर्ने उद्देश्यले क्युआर कारोबारकै धितोमा क्युआर मर्चेन्ट फोनलोन सुविधा संचालन गरिहेको छ ।
यस योजना अन्तर्गत उद्यमीहरुले आफ्ना नजिक रहेका कुमारी बैंकका शाखाहरुमा आफ्ना ब्यावसायको खाता खोली क्युआर मार्फत प्रतिहप्ता कम्तीमा दुई ब्यावसायिक कारोबारहरु लगातार ४ हप्ता भई मासिक कम्तीमा १० हजार रुपैयाँ बराबरको कारोबार उक्त बैंक खातामा हुँदा उद्यमीहरुले २ लाखसम्मको कर्जा कुनै पनि कागजात वा धितो बिना नै कुमारी बैंकको मोवाइल बैकिङ एप प्रयोग गरी सहजै लिनसक्ने छन् ।
यसरी लिएको कर्जाको भुक्तानीको तरिका समेत उक्त एप मार्फत नै गर्न सकिने भएकोले व्यावसायीहरु कर्जा लिन तथा तिर्नका लागि बैंक जानु पर्ने छैन ।
यस सुविधाबाट साना उद्यमीहरु सहजै औपचारिक वित्तीय संयन्त्रमा आर्कषित हुने तथा उनीहरुको उद्यमशिलता प्रजर्द्धनमा केही टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आएको छ ।

 

शेयर बजारमा १२७ अंकको उछाल, १३ अर्ब बढीको कारोबार

काठमाडौं । शेयर बजार आज पुनः उच्च अंकले बढेको छ । तर जुन हिसावले बजार उचालियो त्यसरी नै कारोबार रकम भने बढेन ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १२७.३२ अंकले उचालिएको छ । ४.७२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २८२३.२५ अंकमा पुगेको छ ।
शेयर बजार उचालिंदा सबै समूहमा हरियाली छाएको छ । आज फाइनान्स समूह सबैभन्दा बढी ७.९४ प्रतिशतले बढेको छ ।
आज ३३५ कम्पनीका ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८ सय २.६७ रुपियाँ बराबरको कारोबार भएको छ ।
आज विभिन्न १७ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । नेशनल हाइड्रो, बेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स र सुपर माई हाइड्रोका लगानीकर्ताले १०–१० प्रतिशत र दोल्ती पावर तथा मल्टिप्रपोज फाइनान्सका लगानीककर्ता ९.९९ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै लक्ष्मी उन्नती कोषका लगानीकर्ताले सबैभन्दा बढी ४.७१ प्रतिशतले घाटा व्यहोरेका छन् । आज विभिन्न २२ कम्पनीको शेयर मूल्य घट्दा बाँकीमा हरियाली छाएको हो ।
आज गुडविल फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४६ करोड ५२ लाख ५१ हजार ९ सय रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो आइतबार ५३.६३ अंकले बजार घट्दा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार ३ सय ४९.३२ रुपियाँ बराबरको कारोबार भएको थियो ।

बाँकेको नरैनापुरमा झाडापखालाबाट ४ को मृत्यु, ७ जना बिरामी

बाँके । नरैनापुरमा झाडापखालाका कारण चार जनाको मृत्यु भएको छ ।
बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सात जना बिरामी परेका छन् ।
नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उनकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको आइतबार मृत्यु भएको जानकारी दिए ।
भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिए । उनले भने, ‘आफूसहित अन्य स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेका छौँ ।’
झाडापखाला नियन्त्रण गर्न स्वास्थ्य कार्यालय बाँकेसँग समेत समन्वय भएको छ । गर्मी र खानेपानी दूषित भएका कारण झाडापखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

आज बुबाको मुख हेर्ने दिन

काठमाण्डौं । आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्वमा वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाइँदैछ ।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ ।
सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्। सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ । आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ ।
आजको दिन छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बुबा नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।
आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्ने गर्छ । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा पनि मेला लाग्छ ।
‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बुबालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बुबा परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कूल स्थिर हुने बुद्धोक्त पाराजीकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।
आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको छ । अरु दान दीन दुःखीलाई दिए पनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।

देउवालाई अब प्रधानमन्त्री नबन्न महामन्त्री शर्माको प्रस्ताव

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेर बहादुर देउवालाई अब प्रधानमन्त्री नबन्न प्रस्ताव गरेका छन् ।
उनले केन्द्रीय समितिको बैठकमा बोल्दै अब प्रधानमन्त्री नबन्न र त्याग देखाउन प्रस्ताव राखेका हुन् ।
उनले एमालेसँगको ७ बुँदे समझदारी बमोजिम ०८३ असारसम्म ओली नेतृत्वको सरकारलाई सफल बनाउन कांग्रेसले सम्पूर्ण ध्यान लगाउनुपर्ने र एकताबद्ध रुपले साथ दिनुपर्ने जानकारी दिए । तर त्यसपछि सभापति देउवालाई आफू प्रधानमन्त्री नबनेर आफ्नै पुस्ताका कोही नेतालाई बनाउन अनुरोध गरे ।
शर्माले नाम देउवालाई डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा।शशांक कोइराला, अर्जुनरसिंह केसीमध्येबाट प्रधानमन्त्री बनाउन देउवाले प्रस्ताव गर्न सक्ने विकल्प दिए ।

 

बाल मन्दिरको सम्पतिको पूर्ण संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल सङ्गठन (बाल मन्दिर) का देशभर छरिएका भौतिक सम्पतिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिएका छन ।
सङ्गठनका पदाधिकारसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले जे जति जमिन, भवन र सम्पति छन्, तिनको पूर्ण सुरक्षाका लागि आवश्यक परे कठोर कदम पनि चालिनुपर्ने जनाएका हुन ।
नवनियुक्त मुख्यसचिव एकनारायण अर्याल, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणिन्द्र गौतमसहित भएको छलफलमा प्रधानमन्त्री ओलीले भने, ‘बाल मन्दिरका जग्गामा अरुले अतिक्रमण गरेको वा नियमबमोजिम भाडा सम्झौता नगरी बसेको छ भने कडाइ र तीव्रताका साथ तिनको नियन्त्रण र प्रयोग हुनुपर्छ । धनी पूर्जाविना लामो समयदेखि सङ्गठनले भोगाधिकार लिँदै आएको छ भने पनि ती जग्गा सङ्गठनकै नाममा ल्याइनुपर्छ ।’
प्रधानमन्त्री ओलीले सङ्गठनको नयाँ विधान स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउन, सङ्गठनको जिम्मामा रहेका बालबालिकालाई सन्तुलित आहार, उचित लत्ताकपडा र माया ममता दिनसहित गुणस्तरीय शिक्षा दिन पनि अनुरोध गरे । ‘बाल सङ्गठनका बालबालिकाले हुने खाने परिवारका बालबालिकाले पाए सरह सुविधा पाउनुपर्छ । उनीहरु स्वस्थ्य हुनुपर्छ । उचित शिक्षा र मायाा पाउनुपर्छ । त्यसका लागि सरकारले सक्दो सहयोग गर्छ ।’
सङ्गठनका अध्यक्ष विद्या न्यौपानेले विशिष्ट सङ्गठनको स्पष्ट पहिचानसहित परिमार्जित र आधिकारिक विधान स्वीकृत गर्न, बजेटको व्यवस्था गर्न, जग्गा जमिनको संरक्षण गर्न, जन्मदार्ता र नागरिकता पाउन समस्या हुने बालबालिकाका लागि आवश्यक सहजीकरण गर्न सरकारसँग अनुरोध गरिन । हाल सो सङ्गठनको आश्रयमा करिब तीन सय बालबालिका रहेका छन ।

लेटेष्ट समाचार

साफ महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

काठमाण्डौं । पोखरा अन्तर्राष्ट्रिय फुटबल रंगशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार लिग चरणका दुई खेल हुँदैछन्। पहिलो खेल बांग्लादेश...

राष्ट्रपति पौडेल जापानमा, नेपाल –जापान सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाइँदै

काठमाण्डौं । नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव सोमबार मनाइँदैछ । यस अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल...

प्रतिनिधिसभा निर्वाचन ः प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापियो

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५...