काठमाण्डौं । उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणका अभियुक्त बेचन झा र प्रतिक थापालाई थुनामै राख्न आदेश दिएको छ ।
न्यायाधीश अन्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतकै निर्णय सदर गरेको हो।
दुवैलाई २ भदौ २०८१ मा जिल्ला अदालत काठमाडौंले थुनामा राख्न आदेश दिएको थियो । आदेशपछि उनीहरु थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पुगेका थिए। तर उच्चले पनि उनीहरुको माग अनुसार थुनामुक्त गर्न अस्वीकार गरेको हो।
उनीहरुमाथि ठगी, लिखत किर्ते, राज्यविरुद्धको अपराध अनि संगठित अपराधको आरोप थियो ।
बेचन झा र प्रतिक थापालाई थुनामै राख्न उच्चको आदेश
सानिमा रिलायन्स लाइफद्वारा बीमालेख नविकरणमा शत प्रतिशत छुट
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ ।
उक्त पुनर्जागरण अभियान यही पुष १ गते देखी २४ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ ।
कुनैपनि बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि ब्यहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाईदा लिई बिमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।
हरेक नेपालीलाई बिमाको दायरा भित्र ल्याई बिमित र बिमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बिमा अनिवार्य रहेको छ ।
महालक्ष्मी विकास बैंकद्वारा ७ प्रतिशत लाभांश घोषणा
काठमाडौं । महालक्ष्मी विकास बैंकले ७ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०८०–८१ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर तथा ४ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव सोमराज पन्तले जनाएका छन् ।
कम्पनीको हाल कायम चुक्ता पूँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार ६ सय रुपियाँ छ ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।
शेयर बजारमा ५१.३७ अंकको पहिरो, करीब ६ अर्बको कारोबार
काठमाडौं । पुस महिनाको पहिलो दिन शेयर बजार उच्च अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५१.३७ अंकले घटेको छ । १.९१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६३०.९१ अंकमा ओर्लिएको छ ।
बजारमा ठूलै पहिरो गएसँगै सबै समूह राताम्मे भएका छन् । फाइनान्स समूह सबैभन्दा भन्दा बढी ४.४१ प्रतिशतले घटेको छ ।
आज ३०४ कम्पनीको १ करोड २७ लाख ४५ हजार ७ सय ७७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९३ करोड ५६ लाख ४ हजार ८ सय ४७.०४ रुपियाँ बराबरको कारोबार भएको छ ।
समग्रमा बजार घटे पनि कुथेली बुखरी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् । त्यस्तै जानकी फाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.५८ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २६ करोड ४५ लाख ९० हजार ३ सय ३०.९० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन
काठमाडौं । काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन भएको छ ।
पूर्वमन्त्रीसमेत रहेका ८५ वर्षीय सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज बिहान निधन भएको हो ।
सिंह लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए ।
२०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए ।
उनी पछिल्लो समय गणेशमान सिंहका छोरा एवम् वर्तमान उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा बस्दै आएका थिए । उनको निधन पनि प्रकाशमान निवासमै भएको हो ।
नेपालले पाकिस्तानको सामना गर्दै
काठमाडौ । यु–१९ एसिया कपमा डेब्यु गर्ने लागेको नेपालले सोमबार पाकिस्तानको सामना गर्दैछ।
समूह बी मा रहेका नेपाल र पाकिस्तानबीचको खेल मलेसियाको बायुमास ओभलमा हुने खेल बिहान १२ः४५ बजेबाट सुरु हुन लागेको छ।
यो प्रतियोगिता पहिलोपल्ट आयोजना भइरहेको हो।
नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोट च्याम्पियनका हैसियतमा एसिया कप खेल्न लागेको हो। टोलीको नेतृत्व पूजा महतोले गर्ने छिन्। नेपाल रहेको समूह ‘बी’मा पाकिस्तानसँगै भारत छ।
पाकिस्तान पहिलो खेलमै भारतसँग पराजित भएकोले नेपालले आजको खेल जित्न सके सुपर फोर मा प्रवेश गर्नेछ । पुजा महतोको कप्तानीमा रहेको नेपाली टोली उच्च मनोबलका साथ मलेसिया पुगेको छ ।
आईसीसी यू १९ महिला टी२० विश्वकप एसिया छनोटको विजेता बनेपछि नेपाल यू १९ विश्वकप र यू १९ एसिया कपमा छनोट भएको थियो ।
कर्णालीविरुद्ध टस जितेर पहिले बलिङ गर्दै सुदूरपश्चिम
काठमाडौं । पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध टस जितेको छ ।
टियु क्रिकेट मैदानमा भएको टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले बलिङ रोजेका हुन् ।
प्लेअफमा स्थान बनाउन कर्णालीलाई यो खेल सामान्य अन्तरको जित आवश्यक छ । यदी सामान्य अन्तरले पराजित भए पनि कर्णालीले प्लेअफमा स्थान बनाउने छ ।
नेपालका सबै वायुसेवालाई युरोप उडान गर्न अझै प्रतिबन्ध
काठमाडौं । युरोपेली युनियन (ईयू) ले नेपालका सबै वायुसेवा कम्पनीलाई आफ्नो आकाशमा उडान गर्न फेरि प्रतिबन्ध लगाएको छ ।
ईयूले प्रत्येक वर्ष अद्यावधिक गर्ने ‘ईयू सेफ्टी लिस्ट’ मा नेपालका हवाईजहाज र हेलिकप्टर सेवा प्रदायक सबै कम्पनीलाई युरोप उडानमा प्रतिबन्ध लगाइएको उल्लेख छ ।
ईयूले सेफ्टी लिस्टमा नेपालका सबै वायुसेवालाई राखे पनि हाल कुनै पनि वायुसेवाले त्यहाँ उडान गरेका छैनन् । यहाँ दुई अन्तर्राष्ट्रिय वायुसेवा नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स पनि युरोपका कुनै गन्तव्यमा जाँदैनन् ।
यो लिस्टमा पर्नु भनेको युरोपको आकाशमै प्रवेश गर्न नपाउनुृ हो । यसबाट चार्टर उडानमा जाँदा पनि समस्या पर्न सक्छ । ईयूले करिब ११ वर्षदेखि नेपालका सबै वायुसेवालाई आफ्नो आकाशमा उड्न प्रतिबन्ध लगाउँदै आएको छ ।
नेपाल बैंकका तत्कालीन उपप्रबन्धक श्रेष्ठ १३ वर्षपछि पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठलाई १३ वर्षपछि पक्राउ गरेको छ ।
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले उनलाई काठमाडौंको स्वयम्भूबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने, ‘भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले फैसला कार्यान्वयनका लागि हाम्रो टोलीले पक्राउ गरेको हो ।’
श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि १३ वर्षदेखि फरार रहेका निजले तत्कालीन समयमा कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरी रु ३९ करोड ८९ लाख हानी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निष्कर्ष छ ।
पक्राउ परेका उपप्रबन्धक श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि सोमबार अदालतमा पेस गरिने प्रवक्ता अधिकारीले जानकारी दिए ।
पोखरामाथि सुदूरपश्चिमको रोमाञ्चक जित, एक खेल अगावै पुग्यो प्लेअफमा
काठमाडौं । सुदूरपश्चिम रोयल्स् नेपाल प्रिमियर लिगको प्लेअफमा प्रवेश गरेको छ । रोमाञ्चक प्रतिस्पर्धामा पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफमा स्थान बनाएको हो ।
जितसँगै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गर्नुका साथै पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनेको छ ।
सुदूरपश्चिमले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १ सय ४८ रन बनाउँदै अल आउट भयो ।
पोखराका लागि आन्द्रेश गौसले सर्वाधिक ३६ रन जोडे । उनले २१ बलमा ४ चौका र २ छक्का प्रहार गरे । गौस ठूलो सटको प्रयास गर्दा सेफ अलि जेबको बलमा आरिफ शेखबाट समातिए । अन्तिम ओभरमा पोखरालाई जितका लागि ७ रन आवश्यक रहेको थियो । सुदूरपश्चिमका लागि स्कट कुगेलेनले १ रन मात्र खर्चिएर टोलीलाई रोमाञ्चक जित दिलाए ।
पहिलो ओभरको अन्तिम बलमा दिनेश खरेलले जीवनदान पाएका थिए । हर्मित सिंहको बलमा स्कट कुगेलेनले उनको क्याच ड्रप गरेका थिए । उनले त्यससमय ४ बलमा ४ रन बनाएका थिए । थप ११ रन जोडेर दिनेश स्कट कुगेलेनको बलमा नरेश बुढाऐरबाट समातिए ।
दिनेश आउट भएको ओभरमा कप्तान कुशल भुर्तेल रनको खाता नै नखोली स्कटकै बलमा आउट भए । त्यसपछि क्रिजमा आएका दिलिप नाथ ४ बलमा १ रन बनाउँदै कुगेलेनको बलमा आउट भए । एघारौं ओभरको पहिलो बलमा जेन मल्लिक १५ बलमा १० रन बनाउँदै आउट भए । मल्लिकलाई हर्मित सिंहको बलमा विकेट किपर विनोद भन्डारीले स्टपीङ गरे ।
छैठौं विकेटका लागि किरण ठगुन्ना र रेमन राइफरले ७० रनको साझेदारी गरे । राइफरले २८ बलमा २ चौका र २ छक्काको सहयोगमा ३३ रन जोडे । राइफर ठुलो सटको प्रयासमा बाउन्ड्रिमा नरेन साउदबाट समातिए । सुदूरपश्चिमका लागि स्कट कुगेलेनले ३।४ ओभरमा १८ रन खर्चिएर ५ विकेट लिए । हर्मित सिंहले ३ तथा सेफ अलि जेबले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रनको योगफल तयार गर्यो ।
सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन जोडे । उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे । ब्राण्डन मक्मुलनले १६ बलमा १ चौका र २ छक्काको सहयोगमा २३ रन जोडे । उनी पोखराका कप्तान कुशल भुर्तेलको बलमा सागर ढकालबाट क्याच आउट भए ।
१८.१ ओभरमा क्रिजमा रहेका इशान पाण्डे रिटायर्ट आउट हुँदै स्कट कुगेलेन क्रिजमा आएका थिए । इशान ११ बलमा १० रन जोड्दै रिटार्यट आउट भएका थिए । एनपिएलमा इशान रिटायर्ट आउट हुने पहिलो खेलाडी हुन् ।
कप्तान दीपेन्द्र सिंह ऐरीले १६ बलमा १ छक्काको सहयोगमा २० रन जोडे । उनी सागरबाट एलबिडब्लु भए । विनोद भन्डारी १४ रन जोड्दै कप्तान कुशलको बलमा नै आउट भए । हर्मित सिंहले १३ रन जोड्दै माइकल लिस्कको बलमा आउट भए ।
पोखराका लागि कप्तान कुशलले २ तथा रेमन राइफर, माइकल लिस्क र सागर ढकालले समान १ विकेट लिए ।
सुदूरपश्चिम यो खेलमा जितका साथ शीर्ष स्थानमा उक्लिदै प्लेअफ प्रवेश गर्ने दोस्रो टोली बन्न चाहन्छ । जनकपुर बोल्ट्स प्लेअफ प्रवेश गर्ने पहिलो टोली बनेको थियो । समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिमले सोमबार कर्णालीको सामना गर्नेछ । सोमबार लिगमा एकमात्र खेल हुनेछ ।

















