काठमाण्डौं । खो खो विश्वकपमा नेपालको महिला टोली फाइनलमा पुगेको छ । नेपाली महिला राष्ट्रिय खो खो टोलीले शनिबार पहिलो सेमिफाइनलमा युगान्डालाई पराजित फाईनलमा पुगेको हो ।
भारतको नयाँ दिल्ली स्थित ईन्दिरा गान्थी ईन्डोर हलमा भएको खेलमा नेपालले युगान्डालाई ८९.१८ ले हरायो । नेपालले अब दक्षिण अफ्रिका र भारतबीच हुने दोस्रो सेमिफाइनल विजेतासँग उपाधिका लागि खेल्नेछ ।
नेपालको कुनै पनि टोली कुनै पनि खेलको विश्वकपमा फाइनलमा पुगेको पहिलो पटक हो ।
नेपालको महिला टोली अपराजित रहँदै फाईनल पुगेको हो । नेपाली टोलीले ६ खेल जित्दै फाइनल यात्रा तय गरेको हो । महिलातर्फ समूह सी मा रहेको नेपालले सबै चार खेल जित्दै समूह सी को विजेताको रूपमा क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।
नेपालले पहिलो खेलमा भुटानलाई ९३.२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३.३४ ले, तेस्रो खेलमा श्रीलंकालाई ११०.१० ले र चौथो खेलमा बंगलादेशलाई ८४.२४ ले पराजित गरेको थियो ।
क्वाटरफाइनलमा इरानलाई १०३.८ अंकको अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको थियो ।
खो खो विश्वकपमा युगान्डालाई हराउँदै महिला टोली फाइनलमा
आगामी निर्वाचनमा कम्तीमा २५० पालिका जित्ने प्रचण्डको दाबी
मोरङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा २५० पालिका जितेर माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने दाबी गरेका छन्।
माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका ५ तेतेरियामा गरेको धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । २०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादीलाई यस पटक ग्रामथानवासीले पहिलो बनाएर पालिका अध्यक्षमा जिताउनु रणनैतिक महत्वको विषय भएको उल्लेख गरे ।
उनले भने, ‘हामीले २०७९ को निर्वाचनमा १२२ पालिकामा प्रमुख तथा अध्यक्ष जितेका थियौँ, अब ग्रामथान थपिएपछि यो संख्या १२३ पुगेको छ । आगामी स्थानीय तह निर्वाचनमा २५० भन्दा बढी पालिकामा जीत हात पारेर माओवादी पहिलो पार्टी बन्छ, यो हामीलाई उपनिर्वाचनले दिएको महत्वपूर्ण सन्देश हो ।’
गत मंसिर १६ गतेको स्थानीय तहको निर्वाचनबाट पूर्वले माओवादी केन्द्रलाई नयाँ उचाइँमा उठाउने सन्देश दिएको उल्लेख गर्दै उनले मोरङको ग्रामथान गाउँपालिका र उदयपुरका दुई वटा जिताउनुका साथै अन्य वडामा पनि मत संख्या बढाएर पूर्वले विरोधीहरुलाई ठूलै जवाफ दिएको जानकारी दिए ।
उनले भने, ‘विरोधीहरुले अब माओवादी कमजोर भयो, एक्लै चुनाव लड्न सक्दैन भनेर अफवाह फैलाइरहेको बेला पूर्वले माओवादीलाई संख्या र लोकप्रिय मत दुबैमा पहिलो पार्टी बनाएको छ । यो एउटा पालिकाको मात्रै विजय होइन, यो देशैभरि विशेष सन्देश दिने रणनैतिक महत्वको जीत हो ।’
उनले ग्रामथानबासीले माओवादीलाई ठूलो गुण लगाएको उल्लेख गर्दै यहाँका जनताका लागि आफ्नो निवास खुला रहने र जनताको समस्या समाधानका लागि प्रतिबद्ध भएर लाग्ने जनाए ।
देशमा माओवादी केन्द्रकै कारण आम उत्पीडित जनताले अधिकार पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यसलाई कार्यान्वयन गर्दै देशबाट भ्रष्टाचारको जरा उखेलेर भ्रष्टाचारीलाई लखेट्नका लागि फेरि एक माओवादी केन्द्रलाई बहुमत दिन आग्रह गरे ।
उनले भने, ‘हामीले २०६४ मा जनताको मत पाएर पनि पार्टीलाई एकताबद्ध राख्न सकेनौं, जनताको विश्वास कायम राख्न नसकेकै हौँ । त्यतिबेलाको जनमत र आजको जस्तो हाम्रो सुझबुझपूर्ण चेतना र शैली मिल्यो भने अब हामी नेपाललाई राजनीतिक परिवर्तनको पूर्ण अनुभूति गराउने छौँ, हामी धेरै कुरा सम्झेर तपाइँहरुसमक्ष आएका छौँ, तपाईहरुलाई पनि २०६४ साल सम्झिदिन अपिल गर्दछु ।’
आफ्नो नेतृत्वको सरकारले विभिन्न क्षेत्रमा सुधारको थालनी गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विश्वविद्यालयमा योग्यताका आधारमा जिम्मेवारी दिने मेरिटोक्रेसीको थालनी, कर्मचारीतन्त्रमा हाम्रो होइन राम्रो मान्छेलाई जिम्मेवारी दिने र बेथिति गर्नेमाथि दण्डित गर्ने प्रक्रियाको सुरुवात, वर्षौदेखि रोकिएका शिक्षा ऐन, निजामति ऐन जस्ता कानुन निर्माणलाई अगाडि बढाउने लगायतका महत्वपूपूर्ण काम अघि बढाइएको जनाए ।
सरकारबाट बाहिरिएपछि आफूहरुले थालेका राम्रा काम लिएर जनताको बीचमा जाने प्रक्रिया सुरु गरेको जानकारी दिँदै उनले जनताको तागतबाट नै समाजवाद निर्माणको अभियान अघि बढाउने प्रण गरेको जानकारी दिए ।
आज ललितपुरका यी स्थानमा विद्युत सेवा अवरुद्ध हुने
काठमाडौं । मर्मत सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ ।
प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडरअन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुने जनाएको हो ।
प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भए बिजुली प्रवाह शीघ्रसमेत हुने जनाएको छ । बिजुली कटौतीका कारण उपभोक्तामा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।
बसको ठक्करबाट कावासोतीमा पैदलयात्रीको मृत्यु
नवलपरासी । कावासोतीमा बसको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ ।
दिल्लीबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बसले ठक्कर दिँदा कावासोतीको सभापति चोकमा बाटो काट्दै गरेका स्थानीय ७३ वर्षीय मानबहादुर सदासंकरको शुक्रबार साँझ ज्यान गएको हो ।
यु–१९ महिला विश्वकपमा नेपाल, उद्घाटन खेलमा बंगलादेशको सामना गर्दै
काठमाडौं । आईसीसी यू १९ महिला टी २० विश्वकप २०२५ को दोस्रो संस्करण आज देखि मलेसियामा सुरू हुँदै छ।
नेपालको महिला टोली पनि यस विश्वकपमा पहिलोपटक सहभागी हुँने भएको हो।
चार समूहमा विभाजित १६ टोली सम्मिलित यस विश्वकपमा नेपाल समूह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै छ। उद्घाटन खेलमा नेपालले शनिबार बंगलादेशको सामना गर्दैछ।
मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा शनिबार दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि खेल सुरू हुनेछ। नेपालको कप्तानमा पुजा महतो तथा बंगलादेशको कप्तानमा सुमैया अक्तर रहेका छन्।
नेपालले बंगलादेशसँग गत डिसेम्बरमा मलेसियामै भएको यू १९ एसिया कपमा खेलेको थियो भने उक्त खेलमा नेपाल पराजित भएको थियो।
नेपाली टोलीमा, पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीण, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा, चना चौधरी, सिमाना केसी, स्नेहा महरा, अनु कडायत र कृश्मा गुरुङ रहेका छन।
सरकार निरंकुश बन्दै गएको विपक्षी दलहरुको आरोप
काठमाडौं । विपक्षी दलहरुले संघीय संसदको नियमित हिउँदे अधिवेशन बोलाएर कानून निर्माण नगरी, संसदीय समितिमा छलफलको क्रममा रहेका विधेयकहरू फिर्तासमेत नलिई सोही विषयमा गम्भीर प्रकृतिका कानूनहरु अध्यादेशमार्फत् जारी गर्ने सरकारको कामप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विपक्षी सात दलले संयुक्त वक्तव्य जारी गर्दै सरकारको यो कदमबाट संविधानको मर्म तथा भावनामाथि प्रहार हुनुका साथै संसदीय प्रणालीको उपहास गर्ने खतरनाक, स्वेच्छाचारी र निरङ्कुश प्रवृत्ति प्रदर्शन गरेको आरोप लगाएको छ ।
वक्तव्यमा भनिएको छ, ‘हामी प्रतिपक्षी दलहरू सरकार र सत्तारुढ गठबन्धनका दलहरूको निहित स्वार्थ पूर्तिका लागि संसदलाई छलेर राष्ट्रको दूरगामी भविष्यमा गम्भीर असर पार्ने प्रकृतिका कानूनहरु अध्यादेशमार्फत् ल्याउने यो कदमको घोर भत्र्सना गर्दछौँ ।’
‘थ्रेसहोल्ड’ या अन्य कुनै नाममा दुई दलीय तानाशाही लाद्ने परिकल्पना संविधानले गरेको वक्तव्यमा उल्लेख छ। भनिएको छ, ’तर, स्वेच्छाचारी र तानाशाही ढङ्गले सत्तामा टिकिराख्न र विपक्षी दलहरूलाई फुटाउन राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने पटक–पटकको कसरतले नेपाली जनताले विभिन्न संघर्षबाट प्राप्त गरेका ऐतिहासिक उपलब्धि खोसिनेसम्मको परिस्थिति देखा परिरहेको छ । लोकतन्त्रको सुन्दरता नै फरक मत र विविधताको सम्मान हो । यो वा त्यो बहानामा निरङ्कुशता, स्वेच्छाचारिता र तानाशाही सिर्जना गर्ने सरकारका उपर्युक्त कदमको हामी विरोध गर्दछौँ ।’
जीबी राईको राहदानी रद्द गर्न अदालतको आदेश
काठमाण्डौं । सहकारी ठगी प्रकरणमा मुद्दा लागेर फरार रहेका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ ।
शुक्रबार न्यायाधीश हिमाल बेलबासेको इजलासले राहदानी विभागलाई राईको राहदानी रद्द गर्न निर्देशन दिएको छ ।
राई तत्कालीन गोरखा मिडिया नेटवर्कका अध्यक्ष हुन् । प्रहरीले राहदानी विभागलाई राईको राहदानी रद्द गर्न पत्र लेखेको थियो तर विभागले रद्द नगरेपछि जिल्ला सरकारी वकिल कार्यालय कास्कीमार्फत अदालतमा निवेदन दर्ता गरिएकोमा अदालतले रद्द गर्न आदेश दिएको छ ।
जीबी राईमाथि काठमाण्डौंको स्वर्णलक्ष्मी, चितवनको सहारा चितवन, रुपन्देहीको सुप्रिम, वीरगञ्जको सानोपाइला र सूर्यदर्शन सहकारी ठगीमा अभियोग लागेको छ । राईकै साझेदार रवि लामिछाने र छविलाल जोशी पक्राउ परेर मुद्दाको सामना गरिरहेका छन् ।
माघ २४ देखि राजधानीमा क्यान इन्फोटेक २०२५, प्रायोजक एवं स्टल बुकिङ खुला
काठमाडौं । क्यान महासंघले हरेक वर्ष आयोजना गर्दै आएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करण आगामी माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । नेपालकै ठूलो सूचना प्रविधि प्रदर्शनी मानिने क्यान इन्फोटेकमा यस पटक सूचना प्रविधिका नयाँ–नयाँ आविष्कार र प्रविधि समाधानलाई व्यापक रूपमा समेटिनेछ ।
क्यान इन्फोटेकको ३० औं संस्करणको मिति घोषणासंगै टाइटल स्पोन्सर, इन एसोसिएसन विथ, प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भर स्पोन्सरका साथै अन्य प्रायोजन तथा साझेदारीका निम्ति प्रस्ताव खुल्ला भएको छ ।
सञ्चार तथा सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहने छ ।
प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने क्यान महासंघका अध्यक्ष सुनैना पाण्डे घिमिरेले जनाए ।
क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिने छ ।
प्रदर्शनीमा राखिने नवीनतम प्रविधि स्टार्टअप इनोभेशन तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास लिइएको छ । यसैबीच क्यान महासंघले क्यान इन्फोटेक २०२५ का लागि आवश्यक पर्ने स्टल तथा ह्याङ्गर निर्माण र बिधुत आपूर्ति, सुरक्षा गार्ड, स्टेशनरी, छपाई लगायतका प्रस्ताबहरु समेत आब्हान समेत गरेको छ ।
आइएमई पेबाट धरहराको टिकट काट्न सकिने
काठमाडौं । डिजिटल वालेट ‘आइएमई पे’ अब धरहरा भ्रमणको निम्ति टिकट भुक्तानी पार्टनरको रुपमा रहनेछ । नव निर्मित धरहरामा गत संविधान दिवसको दिनदेखि प्रवेशमा शुल्क लागु गरिएको थियो।
केन्द्रीय आयोजना कार्यान्वयन इकाई (आवास तथा भवन) द्वारा संचालित धरहराको वेबसाइट मार्फत सेवाग्राहीहरुले अनलाइन टिकट खरिद गर्न सक्नेछन। टिकट खरिद गर्न भ्रमण मिति, समय र टिकट संख्या बुक गरी भुक्तानी गर्ने बेला आइएमई पे छनोट गरि टिकट बुक गर्न सकिनेछ ।
परम्परागत वित्तिय सेवालाई डिजिटलाईज गर्दै आउने क्रममा आइएमई पेले विभिन्न भुक्तानी सेवाहरुलाई आफ्नो एपमा अद्यावधिक गर्दै सेवाग्राहीहरुलाई थप लाभ प्रदान गर्दै आएको छ।
नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान
काठमाडौँ । नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित २० थान सामसुङ मोबाइल उपलब्ध गराएको छ ।
बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेलाई मोबाइल हस्तान्तरण गरेका हुन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नक्स प्रविधि प्रयोग भएका मोबाइल अरु मोबाइल भन्दा डाटा सुरक्षामा सुरक्षित र सुदृढ रहने हुँदा सार्वजनिक सुरक्षा, कानुनी कार्यसम्पादन गर्न तथा अरु ट्राफिकका दैनिक कामकाज डिजिटल रुपमा सञ्चालन गर्न प्रयोग गरिने जानकारी दिए ।
बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ट्राफिक व्यवस्थापन सरल र सहज गरि प्रविधिमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनका लागि मोबाइल फोन उपलब्ध गराइएको जनाए ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले नबिल बैंकको यस सहयोगले ट्राफिक प्रहरीको काम कारबाहीलाई छिटोछरितो अगाडि बढाउन सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । “बैंकले उपलब्ध गराएको मोबाइलको प्रयोगले प्रविधिमैत्री सेवा प्रवाहमा थप प्रभावकारी हुनेछ, आगामी दिनमा पनि बैंकसँग सहयोग र सहकार्य जारी रहनेछ”, उनले भने ।
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ । आगामी दिनमा पनि समाजको समग्र सुधारका कार्यक्रमलाई निरन्तरता दिइने बैंकको उल्लेख गरेको छ ।