काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो ३ः०० बजे बस्ने गरी बोलाइएको छ । ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् ।
यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । पटक–पटक सहमतिका लागि दलहरूबिच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।
आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूची छ ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रहरूबारे जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
कांग्रेस र एमालेले बिचौलियाका लागि काम गर्ने प्रचण्डको आरोप
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी अन्य पार्टीहरूभन्दा फरक रहेको जनाएका छन् ।
मुस्ताङमा बुधबार आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले जनताको हितका लागि मात्रै काम गर्ने जनाए ।
‘माओवादी अरूजस्तो पार्टी होइन । हामी जनताको हितका लागि काम गर्छौं । तर कांग्रेस र एमालेले बिचौलिया र दलालका लागि काम गरिरहेको उनको आरोप छ ,’
माओवादी नेता तथा कार्यकर्तालाई जनतामा पुग्न, जनताको आत्मसम्मान जोगाउन र समस्या समाधानमा सक्रिय भूमिका खेल्न प्रचण्डले निर्देशन समेत दिए ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले मुस्ताङलाई नमुना जिल्लाको रूपमा विकास गर्ने स्पष्ट योजना माओवादीसँग रहेको जनाए ।
‘हामीले मुस्ताङको वस्तुगत अवस्था बुझ्न स्थलमार्ग हुँदै गाउँगाउँमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गरेका छौँ । जनताका समस्या बुझेका छौँ । अब समाधानमा इमानदारीपूर्वक लाग्न आवश्यक छ,’ उनले भने ।
संवैधानिक निकायका नियुक्ति विवादमा सर्वोच्चले असार १८ गते निर्णय सुनाउने
काठमाण्डौंं । विभिन्न संवैधानिक निकायका ५२ जना पदाधिकारीहरूको नियुक्ति सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले असार १८ गते निर्णय सुनाउने भएको छ ।
बुधबार पेशी तोकिए पनि न्यायाधीशहरूको छलफल नसकिएकाले निर्णय सुनाउन अर्को मिति तोकिएको सर्वोच्चले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत विभिन्न संवैधानिक निकायका पदाधिकारीको नियुक्ति सम्बन्धी विषय सर्वोच्च अदालतमा लामो समयदेखि विचाराधीन छ ।
काठमाडौं महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारविरूद्व भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज परियारसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
परियार हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक हुन्। परियारसहित महानगरकै सूचना अधिकारी बस्नत आचार्य, रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, नमराज ढकाल, जनार्दशन गिरी र उत्तम दाहालविरूद्व मुद्दा दर्ता भएको हो ।
उनीहरूविरुद्ध चार करोड ३१ लाख ७२ हजार रुपैयाँ हिनामिना गरेको आरोप छ।
सीजी हिरो मोटोकर्पले पोखरामा ‘एक्सट्रयाक’ आयोजना गर्ने
काठमाण्डौं । सीजी हिरो मोटोकर्पले एक्सट्रयाकको दोस्रो संस्करण पोखरामा यही जेठ ३१ गते गर्ने भएको छ।
पहिलो संस्करणको रुपमा धुलिखेलमा अवस्थित ‘डर्ट टेम्पल’मा ३ सय बढी राइडरहरुको सहभागितामा ‘एक्सट्रयाक’ इभेन्ट सम्पन्न गरेसँगै अब पोखरामा पनि गर्न लागेको हो।
पोखराको इभेन्टमा मोटरसाइकलप्रेमी राइडरहरुले डर्ट ट्रयाक एवं अफ रोड राइडिङ्गको अविस्मरणीय अनुभव गर्न पाउने आयोजक कम्पनीले जनाएको छ।
इभेन्टमा सहभागीहरुले हिरोको एडभेन्चर श्रेणीका मोटरसाइकल विशेषतः हिरो एक्सपल्स २०० फोरभी र एक्सपल्स २०० फोरभी प्रो, विशेष रुपमा डिजाइन गरी तयार पारिएको ट्रयाकमा प्रत्यक्ष रुपमा चलाएर आफ्नो अफरोड राइडको स्किलको समेत परीक्षण गर्ने अवसर प्राप्त गर्नेछन्।
कार्यक्रममा सुरक्षाका समग्र मापदण्डको सुनिश्चिकताका साथै व्यवसायिक मार्सलहरुको प्रत्यक्ष प्रशिक्षण एवं निर्देशनमा सहभागीहरुले आफ्ना अफरोड राइडिङ्ग कलाको टेस्ट गर्नुका साथै थप राइडिङ्ग टिस्प पनि प्राप्त गर्ने अवसर प्राप्त गर्नेछन्।
पोखराको महेन्द्र गुफा नजिक आयोजना हुने वहुप्रतिक्षित ‘एक्सट्रयाक इभेन्ट’ बिहान १० बजेबाट सुरु हुनेछ। यस इभेन्टमा सहभागिता जनाउन इच्छुकहरुले समयमा नै हिरो मोटोकर्प नेपालको सोसियल मिडिया पेज गई निःशुल्क रुपमा रजिष्ट्रेसन गरी आफ्नो सिट सुरक्षित गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ।
सहभागिताका लागि इच्छुक राइडरहरुले चालक अनुमतिपत्रका साथ सेफ्टी गियरहरु आफ्नो साथमामा लिएर आउनुपर्नेछ। इभेन्टमा सहभागी तथा अनुभवी राइडरहरुका लागि हिरो मोटोकर्प नेपालका तर्फबाट मोटरसाइकल उपलब्ध गराइनेछ। साथै कम्पनीका तर्फबाट निःशुल्क एक्सपल्स ब्राण्डेड जर्सी लिमिटेड एडिशनको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार उक्त इभेन्टको मुख्य उद्देश्य मोटरसाइकलप्रेमी युवा पुस्ताहरुमा मोटरसाइकल संस्कृतिको प्रवद्र्धन गनुका साथै सीजी हिरो मोटोकर्पले बजारमा उपलब्ध गराउँदै आएका अत्याधुनिक प्रविधिमा सुसज्जित मोटसाइकलहरुको प्रत्यक्ष अनुभव प्रदान गर्नु पनि हो।
आइएमई लाइफ इन्स्योरेन्स र मेडिटेक इन्टरनेसनल हस्पिटलबीच संझौता
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब मेडिटेक इन्टरनेसनल हस्पिटल एन्ड रिसर्च सेन्टर, बुटवलमा उपचारसेवा लिदा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट प्राप्त हुने भएको छ ।
उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् । अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधा को लाभ लिन सक्नेछन् ।
यस किसिमको सहकार्यले एकतर्फ कम्पनीको व्यावसायिक सम्बन्धमा प्रभावकारिता ल्याउन सहयोग गर्नुका साथै अर्कातर्फ कम्पनीका बीमित अभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्नेछ ।
सविना मास्केलाई नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी
काठमाडौं । सरकारले सविना मास्केलाई नेपाल दूससञ्चार कम्पनी (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनीकी प्रबन्ध निर्देशक संगीता पहाडीलाई विशेष अदालतमा भ्रष्टाचारसम्वन्धी मुद्दा दर्ता गरेसँगै स्वतः निलम्बित भएपछि मास्केलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो ।
बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको भन्दै अख्तियारले पहाडीसहित १८ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । उक्त भ्रष्टाचारमा अख्तियारले मास्केसँग पनि बयान लिएको थियो । तर मुद्दा भने दर्ता गरेन् ।
बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्कामा भएको भ्रष्टाचारमा पहाडीसहित कम्पनीका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल, कर्मचारीहरु प्रतिभा श्रेष्ठ, हेमप्रभा रामप्रताप कर्ण, नवल चौधरी, राजेन्द्र श्रेष्ठ, झविन्द्रलाल उपाध्याय, देवेन्द्र खतिवडा, बिनिता श्रेष्ठ, राजीव केसी, मुक्तिप्रसाद अर्याल, सन्तोष श्रेष्ठ, परमात्मा भट्टराई, शैलेश श्रेष्ठ तथा विदेशी नागरिक लङ यङ, चिनियाँ नागरिक होङ वी र चिनियाँ कम्पनी एसिया इन्फो प्रालि विरूद्ध अख्तियारले शुक्रबार मुद्दा दायर गरेको थियो । उनीहरूविरूद्ध ३३ करोड ४८ लाख १७ हजार ४३० रुपियाँ विगो माग दाबी गरिएको छ ।
कुमारी बैंक र भेइकल एकेडेमी बीच सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेड र गुर्जुधारा, काठमाण्डौं स्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि.(गुर्जुधारा ट्रायल सेन्टर) का बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई एकेडेमीबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता अनुसार यातायात व्यवस्था कार्यालय ठूलोभर्याङ्गले सवारी चालक अनुमतीपत्रको लागी प्रयोगात्मक परिक्षासञ्चालन गराउदै आएको गुर्जुधारा स्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि. (गुर्जुधारा ट्रायल सेन्टर) मा उपलब्ध सम्पूर्ण ड्राइभिङ्ग कोर्सहरुमा कुमारी बैंकका ग्राहकहरुलाई १५ प्रतिशत छुट उपलब्ध गराइने भएको छ ।
विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना ग्राहकहरुको सुबिधाको लागि विभिन्न क्षेत्रका व्यवसायीहरुसँग समन्वयन गरि छुट तथा किस्ताबन्दीका सुविधाहरु उपलब्ध गराउँदै आएको छ । बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।
आज यी स्थानमा चट्याङसहित वर्षा हुने
काठमाण्डौं । हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ भने कोशी प्रदेशका धेरैजसो क्षेत्रमा मनसुनी वायुको प्रभाव छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी र हिमाली क्षेत्रका एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। उच्च पहाडी र हिमाली क्षेत्रका एकरदुई ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको र दिउसो देशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटमा फैसला आज
काठमाडौँ । संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ र २०७८ मा अध्यादेशमार्फत १३ संवैधानिक निकायका कुल ६१ पदमध्ये रिक्त ५२ संवैधानिक पदाधिकारी नियुक्त गरेको थियो ।
संवैधानिक परिषद्ले नियुक्तिका निम्ति गरेको सिफारिस तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी थिइन् । परिषद् बैठकमा तत्कालीन प्रधानन्यायाधीश चन्द्रशमशेर राणा र राष्ट्रियसभाका तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सामेल थिए ।
संविधान विपरीत जारी अध्यादेशका आधारमा बोलाइएको संवैधानिक परिषद्को बैठक तत्कालीन सभामुख अग्निप्रसाद सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवाले बहिष्कार गरेका थिए ।
अध्यादेशमार्फत गरेका ती नियुक्तिविरुद्ध अधिवक्ता ओमप्रकाश अर्याल, कीर्तिनाथ शर्मा, सुलभ खरेल, समृत खरेल, निशान्तबाबु खड्का, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले १५ वटा रिट दायर गरेका थिए । पटक–पटक सुनुवाइ हुँदै आएको थियो ।
रिटमा फैसला नहुँदै ३२ पदाधिकारीको चार वर्षे कार्यकाल गत माघ २१ मा सकिसकेको छ । बाँकी २० पदाधिकारीको पनि कार्यकाल अन्तिम चरणमा रहेको छ ।
















