काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको छ ।
आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२, ८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन् ।
यस्तै, राष्ट्रिय सभाको बैठक आज दिउँसो १ः१५ बजे बस्नेछ । बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने छ ।
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै
काठमाडौंमा जारी निषेधाज्ञा विरुद्धको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत आइतबार जारी गरेको निषेधाज्ञा विरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
राजवादीहरुको आन्दोलनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोटेश्वर, बल्खु र चाबहिलको सिफल चौर बाहेक अन्त्य प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको थियो ।
त्यसविरुद्ध राजावादीहरुको संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले रिट दायर गर्न खोजेका थिए । तर सो रिट दर्ता गर्न सर्वोच्च प्रशासनले अस्वीकार गरेको हो ।
नेपालले रिट दरपिठ विरुद्ध निवेदन लिएर पुनः सर्वोच्च अदालत जाने जनाएका छन्।
माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर, सांसदबाट निलम्बित
काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर भएको हो।
नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ । नेपालको इतिहासमा पहिलोपटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो । यस्तै, मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारविरुद्धको मुद्दा चलेको पहिलोपटक हो ।
आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । केही दिनअघि अख्तियारले नेपालसँग बयानसमेत लिएको थियो ।
पतञ्जलीलाई दिइएको हदबन्दीभन्दा बढीको जग्गा अनियमितता प्रकरणको अनुसन्धान टुंग्याएर अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्न लागेको बेला नेपालको बयान लिइएको विषय चुहिएपछि यसमा नेपालको संलग्नताबारे चासो पाइएको छ ।
२०६६ सालमा माधव नेपाल प्रधानमन्त्री भएको बेला नेपाल नेतृत्वको सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेर पतन्जलीलाई हदबन्दी छुटमा जग्गा खरिद गर्न स्वीकृति दिएको थियो । सोही जग्गा विक्री गर्न अनुमति दिने निर्णय पनि नेपाल नेतृत्वकै सरकारले गरेको थियो ।
आयुर्वेद कम्पनीलाई व्यावसायिक प्रयोजनका लागि दिइएको जग्गामा पतन्जलीले आयुर्वेद कम्पनी चलाएन । जग्गा खरिद गरी जग्गा खण्डित गरेर बिक्रीका लागि ‘काष्ठमण्डप बिजनेश होम्स’लाई दिइएको पाइएको छ । प्लटिङ गर्ने व्यवसायीको निजी कम्पनीमा ३५३ रोपनी जग्गा पुगेको पाइएपछि अख्तियारले छानबिन थालेको थियो ।
यता भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेपालको सांसद पद निलम्बन भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ साथै भ्रष्टाचार निवारण ऐन, २०५८ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भए स्वतः निलम्बन हुने प्रावधान छ ।
माओवादीले गृहमन्त्री लेखकलाई संसदमा बोल्न दिने
काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) ले संसदमा गृहमन्त्री रमेश लेखकलाई बोल्न दिने भएको छ । बिहीबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा संसदमा गृहमन्त्री रमेश लेखकलाई बोल्न दिएर उनको जवाफ सुनने विषयमा छलफल गरेको हो ।
‘भिजिट भिसा प्रकरणमा माओवादीसहित विपक्षी दलहरूले संसद अवरोध गर्दै आएका छन् । यहि विषयमा गृहमन्त्रीले लेखकले संसदमा बोल्न पाउनु पर्ने जनाउँदै आएका छन् ।
माओवादी उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले सत्तापक्षमा रहेका राजनीतिक पार्टीसहित विपक्षीमा रहेका राजनीतिक पार्टीहरूसँग सदनको अवरोध खुलाउने विषयमा बैठकमा छलफल भएको जनाए ।
बैठकले संसद्को गतिरोध अन्त्य गर्न अधिकतम प्रयास गर्ने निर्णय पनि गरेको छ।
पदाधिकारी बैठकपछि सापकोटाले भने, ‘हामी सकेसम्म यो महत्वपुर्ण र गम्भीर विषय भएकाले छानबिनका लागि पनि वातावरण बनाउनुपर्छ र सदनमा छलफलको वातावरण पनि बनाउनुपर्छ भन्ने आजको छलफलको निष्कर्ष छ ।’
भिजिट भिसा प्रकरणमा छानबिनको विषय भएकाले यसलाई सकारात्मक निष्कर्षमा पुर्याउन सरकार र विपक्षी पार्टीहरूसँग कुराकानी गर्ने प्रवक्ता सापकोटाले जनाए।
‘व्यक्ति विशेषमा पार्टीको ध्यान छैन, मुख्य विषय छानबिन समिति गठन गरी प्रभावकारी छानबिन गर्नु हो, यसबारेमा निरन्तर छलफल भइरहेको छ । यसलाई सकारात्मक निष्कर्षमा पुर्याउनुपर्छ भन्ने दृष्टिकोणबाट छलफल अघि बढेको छ’, सापकोटाले भने, ‘यो गम्भीर विषय भएकाले छानबिनका लागि वातावरण बनाउनुपर्छ । सदन सञ्चालनका बारेमा सकारात्मक छलफल गरी अघि बढ्नुपर्छ भन्ने निष्कर्ष निकालेका छौँ ।”
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा वा छानबिन समिति नबनेसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने रास्वपाको अडान छ । उक्त अडानमा माओवादीले पनि साथ दिएकाले मंगलबार र बुधबारको बैठक सूचना टाँसेर स्थगित हुँदै आएको छ ।
कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरस्वती प्राथमिक विद्यालय मेचीनगर, झापाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण गरेको छ ।
कार्यक्रममा बैंकको इट्टाभट्टा शाखा प्रबन्धक निर्जर पौडेलले विद्यालयका प्रधानाध्यापक फूलमाया बुढाथोकीको उपस्थितिमा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत ४० जना विद्यार्थीहरूलाई सामग्री हस्तान्तरण गरे ।
सो सामग्रीमा विद्यालय झोला, कापी, कलम, पेन्सिललगायत आवश्यक शैक्षिक सामग्रीहरू समावेश गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै प्रधानाध्यापक बुढाथोकीले मेचीनगर क्षेत्रका सामाजिक–आर्थिक रूपले पिछडिएको विद्यार्थीहरूको शैक्षिक पहुँचमा बैंकको सहयोगले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
बैंकद्वारा गरिएको सहयोगले विद्यार्थीहरूको अध्ययनमा थप प्रेरणा मिल्ने पनि उनको भनाइ छ ।
उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।
यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमहरुलाई निरन्तरता दिने छ ।
हिमालयन लाइफ १७औं वर्षमा प्रवेश
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स आजबाट १६ वर्ष पुरा गरी १७औं वर्षमा प्रवेश गरेको छ । १७औं बार्षिकोत्सवको अवसरमा कम्पनीले बीमितलाई अझै बढि लाभ र लगानीकर्तालाई थप प्रतिफल दिने प्रतिबद्धता जनाएको छ ।
कम्पनीले १७औं वर्ष प्रवेश गरेको अवसरमा देशका विभिन्न शाखा कार्यालयमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरीरहेको छ । कम्पनीले यसका साथै, कम्पनीको केन्द्रिय कार्यालयमा विगत १० वर्षदेखि निरन्तर काम गरीरहेका कर्मचारीहरुलाई सम्मान गर्ने लगायतका विविध कार्यक्रम सञ्चालन गरी १७ औं वार्षिकोत्सव मनाइरहेको छ ।
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ कम्पनीको रुपमा २०६५ साल जेठ ११ गतेदेखि सुरु गरेको थियो । करिव दुई दशक समयदेखि जीवन बीमा कम्पनीको रुपमा सञ्चालनमा आएको कम्पनीले जीवन बीमाको क्षेत्रमा देशका कुना काप्चामा पुगेर आम सर्वसाधारणलाई सहज र सरल रुपमा जीवन बीमा सेवा प्रवाह गर्दै आइरहेको छ । देशमा जीवन बीमा व्यवसायको सूरुवाती चरणदेखि लिएर आजसम्म बीमा सेवा उपलब्ध गराउनमा हिमालयन लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी महत्वपूर्ण भुमिका रहेको छ ।
१७ औं बार्षिकोत्सवको अवसर पारेर कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजलाल कर्णले ग्राहक र लगानीकर्ताको विश्वास र साथ पाएकै कारण आजको सफलता हासिल गरेको उल्लेख गर्दै सबैमा हार्दिक आभार व्यक्त गरेका छन् । गौरवपूर्ण तरिकाले १६ औं वर्ष प्रवेश गरेको अवसरमा कम्पनीका सीईओ कर्णले सम्पूर्ण बीमित, कर्मचारी, अभिकर्ता, शेयरहोल्डर, सञ्चालक समिति तथा नियामक निकायलाई धन्यवाद व्यक्त गरेका छन् । उनले कम्पनीका सम्पूर्ण वित्तीय सूचांकहरु एकदमै बलिया रहेका र आउँदो दिनमा अझै बलियो बीमा कम्पनीका रुपमा स्थापित हुने प्रतिवद्धता जनाएका छन् ।
साथै, कम्पनीले आगामी वर्षहरुमा पनि बीमित र उनीहरुको परिवारको साथमा रहेर जोखिम बहन गरिरहने जनाएको छ । कम्पनीका अभिकर्ताहरुले देशका विभिन्न स्थानमा रहेका नेपाली नागरिकहरुको बीमा गरी १७ वर्षको अवधिमा लाखौ मानिसको जीवन रक्षावरण गर्न सफल भएका छन् ।
१७ औं वर्षदेखि नेपाली बीमा क्षेत्रमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले उल्लेख्य प्रगति गर्दै बीमा सेवा र दावी भुक्तानीमा पनि अग्रगामी भूमिका निर्वाह गर्दै आएको छ । सातै प्रदेशमा शाखा सञ्जाल, देशैभरि हजारौं सक्रिय बीमा अभिकर्तामार्फत बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।
हाल कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्ण रहेका छन् । उनले कुशलतापूर्वक कम्पनीलाई प्रगतिपथमा अघि बढाउन सफल भएका छन् । शुलभ अग्रवाल सञ्चालक समिति अध्यक्ष रहेको हिमालयन लाइफ इन्स्योरेन्समा शौरभ दुगर, प्रमिला के।शी। थापा, सचिन आचार्य र आशिस ढकाल सञ्चालक रहेका छन् ।
त्यस्तै, कम्पनीको डेपुटी सिईओमा कपिल कुमार दाहाल, जेआर डेपुटी सिईओमा माधव प्रसाद शर्मा, एसिस्टेन्ट चिफ अफिसरमा राजन प्रसाद अधिकारी, सीएफओ लक्ष्मण ज्ञवाली, कम्पनी सचिव तथा लिगल हेड इश्वर कुमार सेदाई लगायतको अनुभवि तथा उत्कृष्ठ कार्यसम्पादन भएको व्यवस्थापकीय समुह रहेको छ ।
कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा वित्तीय सूचांकमा पनि कम्पनीले सफलता हासिल गरेको छ । यस अवधिमा कम्पनीले ४७ करोड २४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
मनोज ज्ञवाली नबिल बैंकका सीईओ नियुक्त
काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् ।
कायमुकायम सीईओ रहेका उनलाई बैंक सञ्चालक समितिको बिहीबारको बैठकले सीईओमा चयन गरेको हो ।
२२ गतेदेखि लागू हुने गरि ४ वर्षका लागि उनी प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् ।
ज्ञानेन्द्र ढुंगानाले चैत १० गतेदेखि लागू हुने गरी सीईओबाट राजीनामा दिएपछि ज्ञवालीलाई यसअघि कामुको जिम्मेवारी दिइएको थियो ।
ज्ञवाली बैकिङ क्षेत्रमा स्पष्ट वक्ताका रुपमा चिनिन्छन् । उनले नेपाल राष्ट्र बैंक लगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तहमा नेतृत्वदायी भूमिकामा रही बैंकिङ क्षेत्रको अनुभव बटुलिसकेका छन् ।
सीएसमेत रहेका ज्ञवालीसँग बैंकहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंकसहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा २६ वर्ष लामो अनुभव छ । ज्ञवालीको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा नबिल बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको छ ।
त्यस्तै सोही समितीले नायब महाप्रबन्धक आदर्श बजगाँइलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ भने प्रमुख कानुन विभाग भिष्म न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी दिएको छ ।
ग्लोबल आइएमई बैंकद्वारा इभी चार्जिङ स्टेशन सञ्चालन
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारी साधन (इभी) चार्ज गर्न चार्जिङ स्टेशन स्थापना गरेको छ । बैंकले आफ्नो कर्पोरेट कार्यालय कमलादीमा उक्त चार्जिङ स्टेशन स्थापना गरेको हो ।
आज आयोजित एक विशेष कार्यक्रमकाबीच बैंकका संचालक कृष्णप्रसाद शर्मा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले सम्युक्त रुपमा उक्त चार्जिङ स्टेशनको समुद्घाटन गरेका हुन् । गाडी चार्ज प्रालिसंगको सहकार्यमा बैंकले स्थापना गरेको सिसिटू सिगंल गनको ४० किलोवाट क्षमता रहेको छ ।
उक्त चार्जिङ स्टेशनमा बैंकमा सेवाको लागि आउने ग्राहक र बैंकको कर्मचारीहरुलाई आफ्नो इभी गाडी चार्ज गर्न व्यवस्था गरिएको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोगकर्ता बढेसंगै बैंकमा आउने ग्राहकहरुको सवारी साधनलाई लक्षित गरी बैंकले चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको हो ।
उक्त कार्यक्रममा बैंकका संचालक शर्माले बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गरी वातावरण अनुकुल इभी सवारी साधनको प्रर्वद्धनको एक पहलको रुपमा यस चार्जिङ स्टेशनको स्थापना गरेको जानकारी दिए । साथै, बैंकले आफ्नो व्यवसाय विस्तारसंगै वातावरणमैत्री उपायहरु अवलम्बन गरिरहेको समेत उल्लेख गरे ।
साथै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्लोबल आइएमई बैंक वातावरण संरक्षण र उत्तरदायी बैंकप्रति प्रतिबद्ध रहेको जनाए । उनले ग्लोबल आइएमई बैंकले आफ्नो १८औं वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा १८ हजार विरुवा रोपण गरिरहेको बताउँदै बैंकले वातावरण मैत्री प्रोडक्टहरु ल्याएर वातावरण संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणमा काम गरिरहेको जनाए । उनले ग्लोबल आइएमई बैंकले सञ्चालन गरेको इभि चार्जिङ स्टेशन अन्य बैंक तथा वित्तीय संस्थाहरुले समेत अबलक्बन गर्ने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा बैंकका उच्च पदस्थ कर्मचारी र गाडी चार्ज प्रा.लि. को प्रतिनीधीहरुको उपस्थिति रहेको थियो ।
बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ ।
आज पनि प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । आज पनि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
विपक्षी दल गृहमन्त्रीको राजीनामाको मागबाट पछाडि नहटेपछि आज पनि बैठक बस्दै नबसी स्थगित भएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएपछि विपक्षी दलले उनको राजीनामा माग गर्दै संसद अवरोध गर्दै आएका छन् ।
सभामुखले दलका सचेतकहरूसँग छलफल गरेपनि सहमति जुट्न नसकेपछि बैठक बस्दै नबसी स्थगित भएको हो ।
अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
नेदरल्यान्डविरुद्ध नेपालले पायो २२६ रनको लक्ष्य
काठमाण्डौं । आइसीसी विश्वकप लिग–२ एक दिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत नेदरल्यान्डविरुद्ध जितका लागि नेपालले २ सय २६ रनको लक्ष्य पाएको छ।
स्कटल्यान्डको डुन्डीमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड ५ बल अगावै २ सय २५ रन बनाउँदा अलआउट भयो।
तेस्रो विकेटका लागि विक्रमजित सिंह र कप्तान स्कट इडिवार्डसले ७२ रनको साझेदारी गर्दै नेदरल्यान्डको इनिङस् उकासेका थिए। ५६ बलमा २ चौका हानेका विक्रमजित ३८ रन बनाउँदा सन्दीप लामिछानेको बलमा आरिफ शेखको हातबाट क्याच आउट हुन पुुगे।
कप्तान स्कटले ७१ बलमा ४६ रन बनाउँदा ललित राजवंशीको बलमा रोहित पौडेलको हातबाट क्याच आउट भए। नोह क्रोइस ४८ रन बनाउँदा सोमपाल कामीको बलमा बोल्ड आउट भए।
जच लायन–क्याचेट २७ रन बनाउँदा ललित कै बलमा करण केसीको हातबाट क्याच आउट हुन पुगे। तेजा निडामनुरु १३ रन बनाउँदा सन्दीप लामिछानेको बलमा दिपेन्द्रसिंह ऐरिको हातबाट क्याच आउट नै हुन पुगे। रोइलोफ भान डेर मेर्वे २० रनमा रनआउट भए।
ओपनर माइकल लेविट १ र म्याक्स ओ डाउड ४ रनमा पेभेलियन फर्के। सोमपाल कामीले अन्तिम ओभरको पहिलो बलमा भिभियन किंग्मालाई १ रनमा बोल्ड आउट गर्दै डच टोलीलाई अलआउट गरेका थिए।
नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए। करण केसी, सन्दीप लामिछाने, ललित राजवंशीले समान २ विकेट लिए।
नेपालले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ।