काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारी साधन (इभी) चार्ज गर्न चार्जिङ स्टेशन स्थापना गरेको छ । बैंकले आफ्नो कर्पोरेट कार्यालय कमलादीमा उक्त चार्जिङ स्टेशन स्थापना गरेको हो ।
आज आयोजित एक विशेष कार्यक्रमकाबीच बैंकका संचालक कृष्णप्रसाद शर्मा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले सम्युक्त रुपमा उक्त चार्जिङ स्टेशनको समुद्घाटन गरेका हुन् । गाडी चार्ज प्रालिसंगको सहकार्यमा बैंकले स्थापना गरेको सिसिटू सिगंल गनको ४० किलोवाट क्षमता रहेको छ ।
उक्त चार्जिङ स्टेशनमा बैंकमा सेवाको लागि आउने ग्राहक र बैंकको कर्मचारीहरुलाई आफ्नो इभी गाडी चार्ज गर्न व्यवस्था गरिएको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोगकर्ता बढेसंगै बैंकमा आउने ग्राहकहरुको सवारी साधनलाई लक्षित गरी बैंकले चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको हो ।
उक्त कार्यक्रममा बैंकका संचालक शर्माले बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गरी वातावरण अनुकुल इभी सवारी साधनको प्रर्वद्धनको एक पहलको रुपमा यस चार्जिङ स्टेशनको स्थापना गरेको जानकारी दिए । साथै, बैंकले आफ्नो व्यवसाय विस्तारसंगै वातावरणमैत्री उपायहरु अवलम्बन गरिरहेको समेत उल्लेख गरे ।
साथै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्लोबल आइएमई बैंक वातावरण संरक्षण र उत्तरदायी बैंकप्रति प्रतिबद्ध रहेको जनाए । उनले ग्लोबल आइएमई बैंकले आफ्नो १८औं वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा १८ हजार विरुवा रोपण गरिरहेको बताउँदै बैंकले वातावरण मैत्री प्रोडक्टहरु ल्याएर वातावरण संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणमा काम गरिरहेको जनाए । उनले ग्लोबल आइएमई बैंकले सञ्चालन गरेको इभि चार्जिङ स्टेशन अन्य बैंक तथा वित्तीय संस्थाहरुले समेत अबलक्बन गर्ने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा बैंकका उच्च पदस्थ कर्मचारी र गाडी चार्ज प्रा.लि. को प्रतिनीधीहरुको उपस्थिति रहेको थियो ।
बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ ।