मनोज ज्ञवाली नबिल बैंकका सीईओ नियुक्त

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् ।
कायमुकायम सीईओ रहेका उनलाई बैंक सञ्चालक समितिको बिहीबारको बैठकले सीईओमा चयन गरेको हो ।
२२ गतेदेखि लागू हुने गरि ४ वर्षका लागि उनी प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् ।
ज्ञानेन्द्र ढुंगानाले चैत १० गतेदेखि लागू हुने गरी सीईओबाट राजीनामा दिएपछि ज्ञवालीलाई यसअघि कामुको जिम्मेवारी दिइएको थियो ।
ज्ञवाली बैकिङ क्षेत्रमा स्पष्ट वक्ताका रुपमा चिनिन्छन् । उनले नेपाल राष्ट्र बैंक लगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तहमा नेतृत्वदायी भूमिकामा रही बैंकिङ क्षेत्रको अनुभव बटुलिसकेका छन् ।
सीएसमेत रहेका ज्ञवालीसँग बैंकहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंकसहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा २६ वर्ष लामो अनुभव छ । ज्ञवालीको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा नबिल बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको छ ।
त्यस्तै सोही समितीले नायब महाप्रबन्धक आदर्श बजगाँइलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ भने प्रमुख कानुन विभाग भिष्म न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी दिएको छ ।

LEAVE A REPLY