काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवस ‘सतर्कता र प्रतिबद्धतामार्फत समाजको संरक्षण गर्ने भन्सार’ भन्ने नाराका साथ मनाएको छ ।
कान्तिपथस्थित नेपाल चेम्बर अफ कमर्सको सभाहलमा आज आयोजित कार्यक्रममा माननीय अर्थमन्त्री रामेश्वरप्रसाद खनाल प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा भन्सार विभागका उच्च अधिकारी, नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री खनालले भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीलाई दोसल्ला ओढाई सम्मानपत्रसहित सम्मान गरे ।
सो अवसरमा भन्सार विभागका महानिर्देशक भण्डारीले भन्सार प्रणालीलाई पारदर्शी, चुस्त र समाजमैत्री बनाउन भन्सार प्रशासनको भूमिका महत्वपूर्ण रहेको उनले उल्लेख गरे ।
चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले कार्यक्रमलाई सम्बोधन गर्दै भन्सार प्रशासन र निजी क्षेत्रबीचको सहकार्यले मुलुकको व्यापार, राजस्व संकलन तथा आर्थिक विकासमा सकारात्मक योगदान पुर्याउने जनाए ।
कार्यक्रममा भन्सार विभाग र नेपाल चेम्बर अफ कमर्सबीच समन्वय, सतर्कता र प्रतिबद्धताका माध्यमबाट समाज संरक्षणमा भन्सारको भूमिकालाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो ।
चेम्बरले मनायो ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवस
प्रभु बैंकको ७ लाख २७ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रभु बैंक लिमिटेडका १३ जना संस्थापक शेयरधनीहरूले ७ लाख २७ हजार ५४३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन्।
शेयरधनीहरूले आफ्नो नाममा कायम शेयर बेच्न निवेदन दिएसँगै बैंकले बिक्रीमा राखेको हो। संस्थापक शेयर बेच्दा पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई नै दिनु पर्ने भएकाले हाल यस शेयर प्रभु बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न सक्नेछन्।
उक्त शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। यस समयावधिभित्र संस्थापक शेयरधनीबाट निवेदन नपरेमा सो शेयर सर्वसाधारणलाई बेच्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।
नेशनल लाईफले कोशीमा गर्यो सीईओ क्लब सदस्य सम्मान
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कोशी प्रदेशका अभिकर्ताहरुलाई बिर्तामोड स्थित होटल द किंग्सबरीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा सिइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
आर्थिक वर्ष २०८१, ८२ मा तोकिएको बीमाशुल्क संकलन गरी कोशी प्रदेशबाट योग्य हुनु भएका ३०० जना अभिकर्ताहरु, विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं कोशी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।
पानसमा द्विप प्रज्वलन गरी शुभारम्भ गरिएको उक्त सम्मान कार्यक्रममा सहभागि अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले सिइओे क्बलको सदस्यता वितरण तथा सम्मान गरेका थिए । साथै सो प्रदेशबाट आफ्नो कोडमा र संजलमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।
यसैगरी सो अवसरमा कम्पनीले बार्षिक योजना अन्तर्गत जारी गरेको नेशनल अवार्ड योजना अन्तर्गत नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए ।
समारोहमा प्रमुख कार्यकारी अधिकृत खत्रीले सिईओ क्लब र नेशनल अवार्ड अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान गर्ने क्रममा कोशी प्रदेशबाट छनौट हुनुभएका अभिकर्ताहरुलाई सम्मान गरिएको जनाएका थिए ।
साथै उनले कम्पनीले ल्याएको सिइओ क्लब कार्यक्रममा नेपाल भरबाट १६०० जना जना भन्दा बढि अभिकर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको जनाउँदै कम्पनीले सबै तहका अभिकर्ताहरु माझ लोकप्रिय हुने यस्ताखाले योजनाहरु ल्याउन हरसंभव प्रयासरत रहेको पनि जनाए ।
चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफजल अहमदले मोटिभेसनल तालिम प्रदान गरेको सो समारोहमा सहभागि अभिकर्ताहरुले तालिमबाट थप उर्जा मिलेको र प्रमुख कार्यकारी अधिकृत खत्रीबाट आफ्नै क्षेत्रमा सम्मान ग्रहण गर्न पाउँदा गर्व महशुस भएको जनाएका थिए ।
शेयर बजारमा ५७.५५ अंकको उछाल, पौने १४ अर्ब बढीको कारोबार
काठमाडौं । शेयर बजार उच्च अंकले बढेसँगै कारोबार रकम पनि पौने १४ अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५७.५५ अंकले बढेको हो । २.१२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७७२.१७ अंकमा उक्लिएको छ ।
बजार उचालिएसँगै आज सबै समूहमा हरियाली छाएको छ । होटल समूह सबैभन्दा बढी ३.३५ प्रतिशतले बढेको हो ।
आज ३३१ कम्पनीका ३ करोड ९ लाख १५ हजार १ सय ८३ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार ६ सय ४५.०५ रुपियाँ बराबरको कारोबार भएको भएको छ ।
आज विभिन्न १३ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । एसवाई प्यानल, श्रीनगर एग्रिटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दीपुर केबलकार, हिमस्टार उर्जा, माबिलुङ इनर्जी, रिलायन्स फाइनान्स र आँखुखोला जलविद्युत कम्पनीका लगानीकर्ताहरुले १०–१० प्रतिशत नाफा कमाएका छन् ।
त्रिशुली जलविद्युत, क्रेस्ट माइक्रोलाईफ इन्स्योरेन्स, नेपाल वायरहाउजिङ, बरुण हाइड्रो र स्वस्तिक लघुवित्तका लगानीकर्ताहरुले क्रमशः ९.९८, ९.९३, ९.८४, ९.६५ र ९ प्रतिशत नाफा कमाएका छन् ।
एभरेष्ट बैंकको ऋणपत्र २०८५ का लगानीकर्ताहरुले सबैभन्दा बढी ५.८० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज आँखु खोला जलविद्युत्को उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४३ करोड ५९ लाख ३३ हजार १ सय ६२.६० रुपियाँ बराबरको शेयर किनबेच भएको छ ।
मुख्यमन्त्री कँडेलद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् ।
आज निर्वाचन आयोगको कार्यालयमा उपस्थित भई मुख्यमन्त्री कँडेलले आफ्नो मतदान अधिकार प्रयोग गरेका हुन् ।
आज राष्ट्रिय सभा निर्वाचन, १७ नयाँ सदस्य छानिने
काठमाण्डौं । राष्ट्रिय सभा सदस्यको निर्वाचन आइतबार हुँदैछ ।
निर्वाचनका लागि आइतबार बिहान ९ बजेदेखि मतदान हुनेछ ।
राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ। जसमध्ये कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा राष्ट्रियसभा सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी १७ पदका लागि आइतबार निर्वाचन हुन लागेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जनाए।
नेकपाका उम्मेदवार हेमराज घिमिरे उम्मेदवारी दर्ता गर्न समयमै नआएपछि थापा निर्विरोध भएका हुन् । यस्तै एक जना राष्ट्रपतिबाट मनोनित हुनेछन्। बाँकी १७ सदस्यका लागि निर्वाचन हुँदैछ।
निर्वाचन आयोगका अनुसार सात वटै प्रदेशमा मतदान केन्द्रमा आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख–अध्यक्ष र उपप्रमुख–उपाध्यक्ष मतदाता हुन्छन्।
राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहलाई १९ मतभार र प्रदेश सभा सदस्य तर्फ ५३ मतभार कायम गरिएको छ।
केही प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख एवं अध्यक्ष, उपाध्यक्षले राजीनामा दिई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेकाले मतदाता नामावलीबाट उनीहरूको नाम हटाइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए।
आयोगका अनुसार १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका थिए। जसमध्ये कांग्रेस र एमालेले भागवण्डा गरेर क्रमशः ९ र ८ सिटमा उम्मेदवारी दिएका छन्। बाँकी एउटा पदमा लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार महन्थ ठाकुरलाई समर्थन गरेका छन्।
कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २, २ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २, २ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुँदैछन्।
भागवण्डा अनुसार कोशी प्रदेशमा कांग्रेसबाट सुनिलबहादुर थापा, एमालेबाट रोशनी मेचे र सोम पोर्तेल उम्मेदवार छन्। मधेश प्रदेशमा कांग्रेसका धमेन्द्र पासवान, रन्जित कर्ण र एमालेका रेखा झा उम्मेदवार छन्।
बागमती प्रदेशमा कांग्रेसले गीता देवकोटा र एमालेले प्रेम दंगाललाई उम्मेदवार बनाएको छ। गण्डकी प्रदेशमा कांग्रेसबाट जगत तिमिल्सिना र एमालेबाट र सम्झना देवकोटा उम्मेदवार छन्। लुम्बिनी प्रदेशमा कांग्रेसबाट वासुदेव जंगली र चन्द्रबहादुर केसी, एमालेबाट रामकुमारी झाक्री उम्मेदवार छन्।
कर्णाली प्रदेशमा कांग्रेसबाट ललितजंग शाही, एमालेबाट मिना रखाल, सुदूरपश्चिम प्रदेशमा कांग्रेसका खम्मबहादुर खाती र एमालेका लीला भण्डारी उम्मेदवार रहेका छन्।नेपाली कम्युनिस्ट पार्टीले सबैतिर एकल उम्मेदवारी दिएको छ।
‘पब्लिक डिबेट’का लागि एमाले तयार छ ः अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन लक्षित सार्वजनिक बहस (पब्लिक डिबेट) का लागि आफू र पार्टी तयार रहेको जनाएका छन् ।
आइतबार बिहान सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले देश बनाउने र देश जलाउने पक्षबीचको प्रतिस्पर्धामा एमाले देश निर्माणको पक्षबाट मैदानमा रहेको स्पष्ट पारेका हुन् ।
अध्यक्ष ओलीले नयाँ र पुराना सबै राजनीतिक दल चुनावमा होमिएको उल्लेख गर्दै सार्वजनिक बौद्धिक वृत्तबाट प्रमुख नेताहरूबीच पारदर्शी बहसको माग उठिरहेको जनाए । सामाजिक सञ्जालमा ‘फ्रेमिङ’ गरिएका प्रचार सामग्रीमार्फत मतदातालाई भ्रममा पार्ने प्रवृत्ति देखिएकाले यस्तो पब्लिक डिबेटको माग आएको हुनसक्ने अध्यक्ष ओलीको भनाइ छ ।
यसपटकको निर्वाचनमा ऐतिहासिक भूमिका खेलेका दलदेखि भर्खरै खुलेका नयाँ दलहरूसम्मले प्रधानमन्त्रीको उम्मेदवार तोकेर प्रतिस्पर्धामा उत्रिएको उल्लेख गर्दै अध्यक्ष ओलीले देशको नेतृत्व गर्न खोज्ने दलहरूका एजेन्डा, विगतमा गरेका काम र भावी योजनाबारे सार्वजनिक रूपमा आमनेसामने बहस हुनु सकारात्मक भएको जनाए ।
“यसपालीको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरु पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका छन् । देशको नेतृत्व गर्न खोज्ने दलहरुका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ रु सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ । यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के गर्यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु ।” अध्यक्ष ओलीले भने, “चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाउँछु । त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्दछु ।”
मागअनुसार भर्ना कम भएपछि निर्वाचन प्रहरीको दरखास्त समय थप
काठमाण्डौं । निर्वाचन प्रहरीको संख्या मागअनुसार आवेदन नपरेपछि केही जिल्लामा भर्ना समय थप गरिएको छ ।
मागअनुसार आवेदन नै कम परेको र आवेदकसँग लिइएको परीक्षामा कपिपय अनुत्तीर्ण भएपछि दरखास्तका लागि समय थप गरिएको छ ।
शनिबार र आइतबार दरखास्त दिन सक्ने गरी म्याद थप गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बाग्लुङ, काभ्रे, सिन्धुपाल्चोक, धनकुटा, रामेछापलगायतका जिल्लामा मागभन्दा कम निर्वाचन प्रहरी उत्तीर्ण भएका छन् ।
आउँदो फागुन २१ को चुनावका लागि आवश्यक निर्वाचन प्रहरी भर्ना गरी उनीहरुलाई तालिम दिने तयारी छ ।
रामेछापमा ४ सय ३३ जना अपुग भएपछि जिल्ला प्रहरी कार्यालय रामेछापले तेस्रो पटक म्यादसहित आवेदन माग गरेको जनाएको छ ।
१ हजार ३ सय ३३ जनाको लागि दरखास्त आह्वान गरेकोमा दुई पटक म्याद थप गर्दा जम्मा ९ सय जनाले मात्रै आवेदन पेश गरेका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
यस्तै बाग्लुङमा तीन पटक म्याद थप गर्दा पनि आवश्यक सङ्ख्यामा आवेदन आउन सकेको छैन ।
बाग्लुङमा १ हजार २ सय ९८ जना नेपाल प्रहरीतर्फ माग गरिएको थियो । तर १ हजार ४८ जनाको मात्र आवेदन परेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।
बाग्लुङमा मागअनुसारको आवेदन नआएपछि तेस्रो पटक आइतबारसम्मलाई आवेदन दिन म्याद थप गरिएको हो ।
नेपाल प्रहरीतर्फ झन्डै १ लाख ३४ हजार निर्वाचन प्रहरी भर्ना गर्न लागिएको छ । छनोट भएकालाई माघ १५ देखि तालिम दिने तयारी छ ।
बालेन साह तेह्रथुमको चुनावी अभियानमा व्यस्त
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह चुनावी प्रचारप्रसारका क्रममा तेह्रथुम पुगेका छन्। झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका शाहले तेह्रथुमको म्याङ्लुङ देवीथानमा स्थानीय मतदातासँग भेटघाट गरेका हुन्।
स्थानीयसँगको अन्तरक्रियामा शाहले तेह्रथुमलाई कागज वा पुस्तकबाट मात्र होइन, प्रत्यक्ष अनुभव गरेर बुझ्न चाहेको जनाएका छन्।
‘तेह्रथुमको बारेमा विकिपिडियामा पढ्न सकिन्छ, किताबबाट पनि बुझ्न सकिन्छ,’ उनले भने, ‘तर यहीँ आएर यहीको हावापानीमा भिजेर, यहीको माटोमा बसेर, यहीका मान्छे भेटेर आँखा, हात र मनले महसुस गरेपछि मात्र त्यो ठाउँ कस्तो रहेछ भन्ने थाहा हुन्छ। भोलि तेह्रथुमका समस्या उठाउँदा आफूलाई पनि थाहा होस् भनेर यहाँ आएका हौँ।’
उनले रास्वपाका सभापति तथा उम्मेदवार इन्जिनियरिङ पृष्ठभूमिका रहेको उल्लेख गर्दै स्थानीयस्तरमै सकिने र व्यवहारिक कामलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। ‘ठूला–ठूला कुरा भन्दा पनि सकिने कुरा गरौँ,’ शाहले भने, ‘यहाँ कृषि उत्पादन राम्रो छ तर बजारको समस्या मुख्य रूपमा देखिएको छ।’
तेह्रथुममा आयोजित भेटघाट कार्यक्रममा रास्वपा तेह्रथुमका उम्मेदवार सुरेन्द्र कार्की पनि सहभागी थिए। शाहले स्थानीय समस्यालाई प्रत्यक्ष रूपमा बुझेर नीति तथा योजनामा समेट्ने उद्देश्यले भेटघाट गरिएको जनाए।
झापा–५ बाट उम्मेदवारी दिएका शाह पूर्वी नेपालका विभिन्न जिल्लामा चुनावी अभियान सञ्चालन गरिरहेका छन्। यसअघि उनी इलाम, ताप्लेजुङ र पाँचथरका विभिन्न स्थानमा पुगेका थिए।
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको सुझाव
काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीलाई एक ढिक्का बनाउनु नेतृत्वको मुख्य जिम्मेवारी भएको जनाएका छन् ।
पाण्डेले निर्वाचनको समयमा कार्यकर्ताको मनोबल खस्किने खालका प्रतिक्रिया नदिन नेतृत्वलाई सुझाव दिएका छन् । टिकट वितरणको सवालमा अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लक्षित गरेर पाण्डेले यस्तो सुझाव दिएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेको सन्देशमा भनिएको छ, ‘अहिले कार्यकर्ताको मनोबल घटाउने बेला होइन, सबैलाई जोडेर ऊर्जा प्रदान गर्नु पर्छ ।’ उनले आफू एमालेका उम्मेदवारहरुलाई जिताउन मैदानमा खटिएको जनाएका छन् ।
नेता पाण्डेलेआफ्नै सहयोद्धाहरूलाई सार्वजनिक रूपमा न्यूनीकरण गर्नुभन्दा संस्थागत निर्णय र सामूहिक विचारको जगमा उभिएर बाह्य चुनौतीको सामना गर्नु नै राजनीतिक परिपक्वता भएको जनाएका छन् ।
उनले भनेका छन्, ‘टिकट वितरणको ‘क्याल्कुलेसन’ लाई हामीले पार्टी हितका लागि कुनै विरोध नगरी स्वीकार गर्यौँ, तर एमालेलाई जिताउने हाम्रो साझा संकल्पमा पूर्वाग्रही टिप्पणीले कुनै सकारात्मक अर्थ राख्दैन। मेरा लागि वैचारिक असहमति राख्ने साथीहरू पनि उत्तिकै आदरणीय एमाले हुन् र मत फरक हुँदैमा कसैप्रति पूर्वाग्रह राख्ने मेरो राजनीतिक संस्कार छैन । तसर्थ, टिप्पणीहरूको व्यर्थ खण्डनमा अल्झिनुभन्दा म अहिले एमालेका उम्मेदवारहरूलाई जिताउन र संगठनको साख जोगाउन पूर्ण रूपमा मैदानमा खटिइसकेको छु।’

















