काठमाडौं । गोरखाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा एमए पावर प्रालिले निर्माण गर्ने ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैकको अगुवाईमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
लगानी सम्झौता एमए पावरका अध्यक्ष अनुप आचार्य र कुमारी बैकका प्रमुख व्यवसाय अधिकृत क्षितिज खड्काको उपस्थितिमा कुमारी बैंकक, प्रभु बैंकक, सिद्धार्थ बैंकक, कृषि विकास बैंक, सानिमा बैंक, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक तथा सांग्रिला डेभलपमेन्ट बैंकको रु. १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानीमा आयोजना निमार्ण हुने गरी ऋण सम्झौता सम्पन्न भएको छ ।
स्वपूँजी लगानी अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालको हुनेछ । साथै डोल्मा इम्पाक्ट फण्डले पनि कम्पनीमा संस्थापक शेयरको ४९ प्रतिशतसम्म स्वपूँजी लगानी रहने कम्पनीका अध्यक्ष आचार्यले जनाए ।
यही समुहबाट हाल सेतीखोला हाईड्रोपावर लिमिटेड मार्फत सेतीखोला जलबिद्युत आयोजना २२ मे.वा. निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।
आयोजनाको नेपाल बिद्युत प्राधिकरणसँग २०८० साल कात्तिक ०१ गते बिद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई व्यपारिक उत्पादन शुरु गर्नु पर्ने मिति २०८६ साल बैशाख २२ रहेको छ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनस्वीकृतीका लागी सम्बन्धित निकायमा अन्तिम चरणमा रहेको कम्पनीका अध्यक्ष आचार्यले जनाए । आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल बिद्युत प्राधिकरणको मार्किचोक सब–स्टेशनमा २२०–१३२ केभी मा जोडिने छ ।