काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५ मा प्रोडक्ट इनोभेसन विधा अन्तर्गत गोल्ड अवार्डबाट सम्मानित भएको छ ।
इन्फोसिस फिनाकल इनोभेसन अवार्डको २०२५ संस्करणमा विश्वभरका प्रमुख बैंकहरूबाट १० वटा श्रेणीमा ३०० भन्दा बढी मनोनयनहरू भएका थिए ।
बैंकले डिजिटल इनोभेसन र सञ्चालनमा उत्कृष्टताका लागि उक्त अवार्ड प्राप्त गरेको हो । यस वर्ष पुरस्कृत विधा डिजिटल इनोभेसन—इन्टेग्रेटेड फोर्स लोन प्लेटफर्मले ब्याक अफिस क्रेडिट सञ्चालनलाई सुव्यवस्थित गर्नमा ठूलो सफलता हासिल गरेको छ ।
लगातार तेस्रो वर्ष यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुनुले ग्लोबल आइएमई बैंकको इनोभेसनप्रतिको समर्पण, डिजिटल सामथ्र्यको विकास र बैंकिङ क्षेत्रमा उत्कृष्टताको नयाँ कीर्तिमान कायम गर्ने दृढ संकल्पलाई उजागर गरेको छ ।
यसअघि बैंकले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन ग्लोबल स्मार्ट प्लस मार्फत सेक्युरिटी डिपोजिट लकर जारी गर्ने र ई–कमर्स कार्ड जारी गर्ने कार्यलाई डिजिटलाइज गरेबापत सन् २०२४ मा प्रोसेस इनोभेसन विधामा प्लेटिनम अवार्ड प्राप्त गरेको थियो ।
त्यसैगरी, सन् २०२३ मा ग्राहक अनुभव र सञ्चालन दक्षता अभिवृद्धिमा केन्द्रित डिजिटल रूपान्तरण पहलका लागि ट्रान्सफर्मेसन एक्सलेन्स गोल्ड अवार्ड प्राप्त गरेको थियो ।
बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ ।