काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तिय संस्थाहरुबाट २५ अर्ब रुपियाँ निक्षेप तान्ने भएको छ ।
आज मध्यान्ह ३ बजे बोलकबोल मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सो बराबरको पैसा तान्ने भएको हो ।
राष्ट्र बैंकले २१ दिनका लागि सो बराबरको निक्षेप तान्न लागेका हो । यसमा बाणिज्य, विकास र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । उनीहरुले बोलकबोलमा व्याजदर प्रस्ताव गर्नुपर्ने हुन्छ ।
बैंकहरुले व्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन् । त्यसमा सबै भन्दा कम व्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिनेछ ।
अहिले बैंकहरुमा अधिक तरलता रहेको छ । त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले पटक पटक बोलकबोलबाट पैसा तान्दै आएको छ । सोही क्रममा आज राष्ट्र बैंकले २५ अर्ब रुपियाँ निक्षेप बोलकबोल गर्न लागेको हो ।
आजको बोलकबोलमा बैंकहरुले घटीमा १० करोड रुपियाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म प्रस्ताव गर्न सक्नेछन् । बैंकहरुले यसरी राष्ट्र बैंकमा राखेको निक्षेप यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा पनि धितोको रुपमा प्रयोग गर्न सक्नेछन् ।
२१ दिन अर्थात् आगामी असोज १२ गते बैंकहरुलाई सावाँ र व्याज भुक्तानी गरिनेछ । कर्जाको माग न्यून हुदाँ अहिले बैंकहरुमा पैसा थुप्रिएको छ । त्यो अवस्थामा बैंकहरुलाई तरलता व्यवस्थापन गर्न यो उचित बिकल्प हुने देखिन्छ ।
अहिले बैंकहरुमा ७२ खर्ब ५७ अर्ब निक्षेप हुदाँ कर्जा प्रवाह ५६ खब आठ अर्ब रुपियाँ छ । सीडी रेसियोको सिमाअनुसार बैंकहरुसँग करिब नौ खर्ब ९३ अर्ब रुपियाँ ऋण दिन मिल्ने पैसा छ । तर, कर्जाको माग बढ्न नसक्दा बैंकहरुमै त्यो पैसा थुप्रिएको छ ।














