काठमाडौं । सोमबारबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सहुलियत पसल संचालन गर्ने भएको छ ।
कम्पनीले देशभर १ सय ११ स्थानमा सहुलियत पसल संचालन गर्ने भएको हो । पसल बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म संचालन हुनेछ । गत वर्ष खाद्यले ६३ स्थानमा मात्रै पसल संचालन गरेको थियो, यस वर्ष भने दुर्गम ठाँउहरुमा पसल बढाएको खाद्यले जनाएको छ ।
यस पटक भने सामान खरिदका लागि अनलाइन प्रणली पनि संचालनमा ल्याएको छ । अनलाइनबाट सामान अर्डर गरेमा होम डेलिभेरीको पनि व्यवस्था गरिएको खाद्यले जनाएको छ । उक्त डेलिभरीमा चार्ज लाग्ने छैन । तर सामान अर्डर ५ हजार रुपियाँ भन्दा माथिको हुनुपर्ने छ ।
यस्ता पसलहरु काठमाडौं उपत्यकामा थापाथली, रामशाह पथ,नख्खु दक्षिणकाली लगायतका ठाँउमा संचालन हुनेछन् । पसलहरुमा चामल, चिनी,दाल, तेल, चिउरा जस्ता अत्यावश्यक वस्तुहरुमा ५ देखि १० रुपियाँसम्म छुट दिने व्यवस्था गरेको छ ।
पसल संचालनका लागि सरकारले २ करोड ५२ लाख रुपियाँ बजेट छुट्याएको छ ।
खाद्य पसल संचालनमा आउने भए पनि खसीबोका बिक्रीमा भने खाद्य अन्योलमा परेको छ । यस वर्ष करिब २ हजार खसीबोका र च्याङग्रा बिक्री गर्ने तयारी गरेको कम्पनीले जेनजीको आन्दोलनमा कारण खसीबोका बिक्री गर्ने कि नगर्ने भन्नेमा अन्योल नै रहेको कम्पनीका सूचना अधिकारी माधव मिश्रले जानकारी दिए ।
आन्दोलनले गर्दा अधिकांश मानिसहरु विछिप्त रहेकाले कति ल्याउने वा न्याउने भन्ने कुरामा अल्झिएको उनले जनाए। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा यस बारेमा जानकारी गराएको र मन्त्रालयले जे निर्णय गर्छ त्यही अनुसार अगाडि बढ्ने उनले जानकारी दिए ।