काठमाडौं । नेपालमा हायात ब्रान्डको तेस्रो होटेलको रूपमा रुपन्देहीको बुटवलमा हायात प्लेस बुटवल औपचारिक सञ्चालनमा आएको छ । गत महिना ‘सफ्ट ओपनिङ’ भएको यो होटल पूर्ण सञ्चालनमा आएको हो ।
औद्योगिक नगरी बुटवलमा तीन अर्ब ५० करोड रुपियाँ लगानीमा यो पाँचतारे होटल सञ्चालनमा आएसँगै नेपाल घुम्न र गौतम बुद्ध जन्मस्थल घुम्न आउने अन्य देशका पर्यटकहरुले अमेरिकी चेन ब्राण्डको होटलको सुविधा उपयोग गर्न पाउने भएका छन् । यो होटल बुटवल क्षेत्रकै सबैभन्दा ठूलो होटल हो ।
बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि निर्मित यो होटलमा क्यासिनो पनि सञ्चालन गर्ने योजना छ । दश तले यस होटलमा १०९ कोठा, स्विमिङ पुल, सम्मेलन तथा बैठक कक्ष आदि सुविधा र संरचना छन् । यशोदा फुड्स ग्रुपको मुख्य लगानी रहेको यस होटलमा चुन्नुप्रसाद पौडेल, कमलकिशोर मालपानी, नरिश्वर शर्मा पौडेल, भूमिराज पौडेल, श्रवण बेरिवाल र रेखा मालपानीको लगानी रहेको छ । यशोदा फुड्लो लोकप्रिय उत्पादन करेन्ट चाउचाउ हो ।
पाहुनाहरू र ‘वर्ल्ड अफ हायात’का सदस्यहरूका लागि महत्त्वपूर्ण मानिने बजारहरूमा विश्वव्यापी उपस्थिति विस्तार गर्ने क्रममा हायात प्लेस ब्रान्डले यो नयाँ होटेल सञ्चालनमा ल्याएको सो होटलले जनाएको छ ।
यस होटेलमा हायात प्लेस ब्रान्डको मौलिक डिजाइन, अनौपचारिक तथा आरामदायी वातावरण र निःशुल्क वाइ–फाइ तथा २४ सै घण्टा खानाका परिकार जस्ता व्यावहारिक सुविधाहरू उपलब्ध छन् ।
यसलाई बिजनेस (व्यापारिक) र लेजर (फुर्सदको समय बिताउने) दुवै प्रकारका यात्रुहरूको विविध आवश्यकता पूरा गर्ने गरी तयार पारिएको भँखै हायात प्लेस बुटवलले यसमा आराम र काम बीचको सन्तुलन पाउन सकिने जनाएको छ ।
होटेलमा किङ्ग र ट्विन रुमहरू, फरेस्ट भ्यू र हिल भ्यू विकल्पहरू सहित ३०० देखि ७७५ वर्ग फिट (२८ देखि ७२ वर्ग मिटर) सम्मका विभिन्न श्रेणीका कोठाहरू र फराकिला सुइटहरू उपलब्ध छन् । यस होटेलको मुख्य आकर्षण भनेको एक हजार ५६० वर्ग फिट (१४५ वर्ग मिटर)मा फैलिएको प्रेसिडेन्सियल सुइट हो, जसले विशिष्ट पाहुनाहरूलाई उच्चस्तरीय अनुभव प्रदान गर्दछ भन्दै सो होटलले आफ्नो विज्ञप्तिमा होटलमा १५० जनासम्म अटाउने ग्रान्ड बलरुम सहितको मिटिङ र कार्यक्रम स्थलहरू पनि उपलब्ध रहेको जानकारी दिएको छ ।
‘हामी हाम्रा पाहुनाहरूको अपेक्षाभन्दा माथि उठेर उत्कृष्ट आतिथ्य अनुभव प्रदान गर्न प्रतिबद्ध छौँ’ भन्दै होटलका महाप्रवन्धक तुषार नगर भन्छन्, ‘हाम्रा विशेष रूपमा डिजाइन गरिएका कोठाहरू, विविध खानपानका विकल्पहरू र फराकिला कार्यक्रम स्थलहरूले गर्दा हामी बिजनेस र लेजर दुवैखाले यात्रुहरूका लागि आदर्श गन्तव्य बनेका छौँ। पाहुनाहरू यहाँ काम गर्न, थकान मेटाउन, सम्मेलनमा भाग लिन वा विशेष अवसर मनाउन आउनुभएको होस्, हामी हरेक मोडमा सुविधा र आरामको मिलन हुने गरी स्वागतयोग्य वातावरण सिर्जना गर्न प्रयासरत छौँ। हाम्रो समर्पित टिम व्यक्तिगत सेवा प्रदान गर्न र हरेक बसाइलाई यादगार बनाउन उत्साहित छ, जसले बुटवलको मुटुमा एक प्रमुख रोजाइको रूपमा हाम्रो पहिचानलाई अझ बलियो बनाउनेछ।’
शिकागोमा मुख्यालय रहेको हायात होटेल्स कर्पोरेसन विश्वभर ४४० भन्दा बढी स्थानहरूमा नेटवर्क रहेका छन् ।
हायात प्लेस बुटवलका विशेषताः
– सुत्ने, काम गर्ने र रमाइलो गर्ने छुट्टाछुट्टै स्थानसहितका १०९ फराकिला गेस्टरुमहरू, जसमा कोजी कर्नर सोफा–स्लिपर बेड समेत रहेको छ।
– सबै पाहुनाहरूको आवश्यकता अनुसार तातो र चिसो परिकारहरू समावेश गरिएको निःशुल्क ब्रेकफास्ट।
– दिन वा रात जुनसुकै समयमा ताजा खाना वा खाजा पाइने द मार्केट।
– विशेष कफी, प्रिमियम बियर, वाइन र ककटेलहरू पाइने जिङ बार ।
– पाहुनाहरूले केही सामान ल्याउन बिर्सेमा किन्न, सापटी लिन वा निःशुल्क प्रयोग गर्न मिल्ने नेसेसिटिज कार्यक्रम ।
– होटेल र कोठाहरूमा निःशुल्क वाइ–फाइ ।
– पारिवारिक वातावरण प्रदान गर्ने स्थानहरू जस्तैः आउटडोर स्विमिङ पुल, फिटनेस सेन्टर, स्पा र बालबालिका खेल्ने क्षेत्र (किड्स प्ले एरिया)।













