काठमाडौं । गत साताका पाँचै दिन बढेको शेयर बजार यो साताको पहिलो दिन आज करेक्शन देखिएको छ । बजार घटेसँगै कारोबार ७ अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २६.५१ अंकले घटेको हो । ०.९९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६४९.५२ अंकमा ओर्लिएको छ ।
समग्रमा बजार घटे पनि उत्पादनमूलक समूह र म्यचुअल फण्ड क्रमशः ०.७३ र ०.०४ प्रतिशतले बढेका छन् । बाँकी अरु समूह राताम्मे भएका छन् ।
आज ३४२ कम्पनीका १ करोड ५७ लाख ३६ हजार ३ सय ७२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८ करोड ५४ लाख ४९ हजार ४ सय ३३.६० रुपियाँ बराबरको कारोबार भएको छ ।
विभिन्न ५ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । सागर डिस्टिलरी, निफ्रा ग्रिन इनर्जी ऋणपत्र, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेकका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९, ९.९९, ९.९९ र ९.९९ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै एनएमबि ऋणपत्र २०९० का लगानीकर्ताहरुले सबैभन्दा बढी ८.९९ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज हिमालयन रि–इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २३ करोड ५ लाख ५९ हजार ९ सय ४७.६० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।













