काठमाडौं । नेपाल टेलिकमले आफ्नो प्रिपेड रोमिङ सेवा विस्तार गर्दै अब ६२ देशमा उपलब्ध गराउने भएको छ। कम्पनीले विभिन्न देशका ८९ सेवा प्रदायकसँग सम्झौता गरेपछि यो सेवा थप विस्तार भएको हो।
चालु आर्थिक वर्षको साउनपछि लाटभिया, स्लोभेनिया, टर्की, ताइवान (आरओसी), घाना, रोमानिया र लाओसका नयाँ सेवाप्रदायकसँग सम्झौता गरिएको छ। साथै पाकिस्तान, बेलारुस र श्रीलंकामा समेत थप सेवा प्रदायकसँग सहकार्य बढाइएको कम्पनीले जनाएको छ।
यसअघि नै अष्ट्रेलिया, क्यानडा, चीन, भारत, जापान, जर्मनी, सिंगापुर, दक्षिण कोरिया, युएई, युके र अमेरिका लगायत विभिन्न देशमा रोमिङ सेवा उपलब्ध थियो। हाल थप विस्तारसँगै सेवा पहुँच अझ व्यापक भएको छ। यस अन्तर्गत प्रयोगकर्ताले विदेशमा रहँदा भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सक्नेछन्।
विदेश जाने वा बस्ने नेपालीलाई लक्षित गर्दै कम्पनीले रोमिङ सेवा सहज बनाएको जनाएको छ। प्रिपेड प्रयोगकर्ताका लागि भारत बाहेक अन्य देशमा सेवा स्वतः सक्रिय हुने सुविधा उपलब्ध छ। भारतका लागि भने मोबाइलबाट ८ज्ञद्धज्ञछ८ठ३ डायल गरी रोमिङ विकल्प चयन गर्नुपर्ने हुन्छ।
पोस्टपेड प्रयोगकर्ताको हकमा सेवा सञ्चालनका लागि कम्तिमा ५ हजार रुपैयाँ ब्यालेन्स आवश्यक पर्ने व्यवस्था गरिएको छ। नेपालमै रहँदा वा विदेश पुगेपछि पनि इमेलमार्फत सेवा सक्रिय गर्न सकिने सुविधा रहेको छ।
रोमिङ सेवा सक्रिय भएपछि मोबाइल स्वतः विदेशी नेटवर्कमा जडान हुन्छ। भारतमा भने प्रयोगकर्ताले म्यानुअल रूपमा नेटवर्क चयन गर्नुपर्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ।
नेपाल टेलिकमले आगामी दिनमा थप देशमा समेत सेवा विस्तार गर्दै लैजाने योजना बनाएको छ।













