काठमाडौं। नबिल बैंक लिमिटेडले विदेशमा सिप सिकेर नेपाल फर्किएका व्यक्तिलाई लगानी गर्ने भएको छ । बैंकले विदेशमा राम्रो सिप सिकेर फर्किएका नागरिकलाई १० करोडसम्म ऋण लगानी गर्ने भएको हो ।
बैंकले बिहिबार नबिल दक्ष प्रवासी उद्यमशिल कर्जाको औपचारिक शुभारम्भ गरेको हो । बैंकले कर्जालाई सरल सुलभ र झन्झट रहित ढंगबाट उपलब्ध गराउने जानकारी दिएको छ ।
बैंकले स्वदेशमा उद्यम गर्न चाहने प्रवासी नेपाली र उनीहरूको परिवार लक्षित १० करोड रूपियाँसम्मको कर्जा सुविधा ल्याएको छ । बैंकले न्युनतम १५ लाख रूपियाँदेखि १० करोड रूपियाँसम्मका सुविधा र विभिन्न चरणमा विभाजन गरी कर्जाको सीमा समेत तोकेको छ । बैंकले कृषि, हस्तकला तथा साना उद्यमी गर्ने प्रवासी नेपालीलाई १५ लाख रूपियाँको कर्जा समेत प्रदान गर्नेछ ।
बैंकले लगानी थप गरी उद्योग बिस्तार गर्न चाहनेलाई १५ लाख रूपियाँदेखि १ करोड रूपियाँसम्म कर्जा दिने योजना ल्याएको हो । बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहज बनाउन बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना अभियान चलाएको जनाए । उनले विदेशबाट नेपालीहरुले धेरै प्रकारका सीप,पुँजी लिएर आएकाले उनीहरुलाई रोजगारी र उद्यमशिलतामा ल्याउन सके देशको आर्थिक अवस्था माथि उठ्नसक्ने जानकारी दिए ।
उनले प्रवासी नेपालीहरूले विदेशमा सिकेर आएको सीप प्रयोग गरेर दिगो रूपमा रोजगारी तथा उद्यम गर्नसक्ने वातावरण नविलबैंकले योजना ल्याएको जनाए । दक्ष प्रवासी उद्यमशील कर्जा योजनाबाट बैंकले धेरै नाफा कमाउने उद्देश्य नल्याएको जनाए । उनले विदेशमा सिकेर आएको सीप प्रयोग गरेर स्वदेशमा नै उद्यम गर्ने र रोजगारी सिर्जना हुने अपेक्षाले यो योजना अघि सारेको जनाए ।
अध्यक्ष पौडेलले भने ुबैंकलाई नाफा गर्ने प्रोजेक्ट धेरै छन्, यो कर्जा नाफा गर्नका लागि ल्याइएको होइन,यसको विशुद्ध उदेश्य देशमा उद्यमशिता बढाउनु हो ।ु
बैंकका सीईओ ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले वैदेशिक रोजगारीमा गएर नेपाल आएका नेपालीहरूलाई १५ लाखदेखि १० करोडसम्मको सहुलियतपूर्ण कर्जा दिने योजना ल्याएको जनाए । उनले विदेशमा गएका नेपाली श्रमिकहरुले नविल बैंकको कर्जा योजनाले औपचारिक क्षेत्रबाट रेमिट्यान्स भित्र्याउन प्रोत्साहन गर्ने दाबी गरे । औपचारिक रुपमा रेमिट्यान्स आउँदा आर्थिक रूपमा देशको अर्थतन्त्रमा टेवा पुग्नेगरी योजना ल्याएको जनाए ।
उनले नबिल बैंकको कर्जा योजनाले कर्जा मात्रै नभएर रोजगारी सिर्जना हुने र उत्पादकत्व बढ्न गई अर्थतन्त्रमा टेवा पुग्ने जनाए ।
दक्ष प्रवासी उद्यमशील कर्जाले कर्जा मात्रै नभएर सीपको उपयुक्त प्रयोगमा जोड दिने जनाए । बैंकले ल्याएको योजनाले सञ्चालनमा रहेका उद्योगलाई थप लगानी गरी व्यवसाय अगाडि बढाउनेलाई १ करोडदेखि ५ करोड रूपियाँसम्म सुविधा बैंकले दिने भएको छ ।
उक्त कर्जा व्यापार बढाउने र नयाँ प्रविधि प्रयोग गरेर बजारमा जाने योजना रहेका नेपालीलाई प्रदान गर्नेछ । सञ्चालन गर्दै आएका व्यवसायलाई बजारमा ठूलो क्षमतामा अगाडि बढाउने योजना बनाएका युवाहरूलाई बैंकले १० करोड रूपियाँसम्म कर्जा दिनेछ । बैंकले कर्जामा न्युनतम ब्याजदर प्रस्ताव गरेको छ। बेस रेटमा १.५ प्रतिशत ब्याजदर जोडेर कायम गरेको छ । कर्जा प्राप्तिका लागि धितोको रूपमा व्यक्तिगत ग्यारेन्टी र जग्गा तथा आफूसँग भएको सम्पत्ति राख्न सकिने बैंकले जनाएको छ ।
कार्यक्रममा डिभिजन प्रमुख अमित श्रेष्ठले कर्जासम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्र प्रस्तुत गर्दै श्रेष्ठले बैंकलाई झन्झटिलो प्रक्रियाको आरोप लग्ने गरेता पनि त्यसमा सत्यता नभएको दाबी गरे। श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको लामो अध्ययन पछि मात्रै योजना सार्वजनिक गरेको जनाए।
कार्यक्रममा श्रम तथा रोजगार मन्त्री शरदसिंह भण्डारीले बैंकको कार्यक्रमलाई पुर्णरुपमा सहयोग गर्ने जनाए । मन्त्री भण्डारीले भने ुबैंकले ल्याएको कार्यक्रमपूर्वनै हाम्रो छलफल भएको थियो, अहिले कार्यक्रमले मुर्तरुप पाएकोले सफलताको शुभकामना दिन चाहान्छु ।ु
श्रम सचिव केवलप्रसाद भण्डारीले विदेश जान भिसा लागेका कामदारलाई बैंकले ऋण उपलब्ध गराउनु पर्ने जनाए ।