काठमाडौं । शेयर बजार उचालिए पनि कारोबार रकम भने खुम्चिंदै गएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार ९.३४ अंकले उचालिएको हो । ०.४६ प्रतिशतले बजार बढ्दा नेप्से २००१.६४ अंकमा उक्लिएको छ ।
आज ३०८ कम्पनीका ५२ लाख ३९ हजार ४ सय १६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५ सय २६.२१ रुपियाँ बराबरको कारोबार भएको छ ।
बजार बढेको दिन बोटलर्स नेपाल बालाजु, बीपीडब्लू लघुवित्त, सामलिङ पावर, बोटलर्स नेपाल तराई र गुराँस लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.२६, ८.७२ र ८ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै चिरख्वा हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.०६ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज सोनापुर मिनिरल्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १४ करोड १९ लाख ६२ हजार ६ सय ९०.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार २६.८१ अंकले बजार घट्दा ३ अर्ब ८ करोड ६९ लाख ५१ ह्जार ७०.५१ रुपियाँ र हिजो सोमबार १३.२८ अंकले बजार बढ्दा २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६०.६८ रुपियाँ बराबरको कारोबार भएको थियो ।