Page 15

बर्षा बस्नेत बनिन् टिभिएस मोटोसोलमा १२५सीसी स्कुटर डर्ट रेसकी विजेता

काठमाडौं । बर्षा बस्नेतले टीभीएस मोटोसोल २०२४ को १२५ सीसी स्कुटर डर्ट रेस श्रेणीमा उपाधि हात पार्न सफल बनेकी छिन् । टीभीएस मोटोसोल एक अन्तर्राष्ट्रिय स्तरको मोटरसाइकल महोत्सव हो ।
विगत ३ संस्करणदेखि चौथौँ संस्करण सम्म आइपुग्दा यसले मानिस र मेसिन विचको सम्बन्धलाई केन्द्रमा राखेर संसारभरका मोटर राइडिङ समुदायहरूलाई एकै ठाउँमा उभ्याउँदै आइरहेको छ ।
‘टीभीएस मोटोसोल, ईट्स मोर देन अ फेस्टिवल, ईट्स ए फिलिङ’, भन्ने नारासहित आयोजित यो महोत्सवको यो चौथो संस्करण हो । महोत्सवले गोवाको भव्य वागाटोर समुद्र किनारलाई थ्रिल, रोमाञ्चकता र असिमित उत्साहले भरिदिएको आयोजकहरुले जानकारी दिएको छ ।
महोत्सवको यस चौथौँ संस्करणले मोटरसाइकल राइडिङ, थ्रिलिङ रेसहरू, नवीनतम कस्टम मोटरसाइकल सार्वजनिक कार्यक्रम, तथा राइडिङ संस्कृतिको विविध पाटोहरूलाई उत्सवका रुपमा मनाउने अवसर प्रदान गरेको छ । विभिन्न मुलुकका मोटर राइडिङ समुदायहरूको सहभागिता रहेको यस महोत्सवले मोटर स्पोर्ट्सका नयाँ प्रतिभाहरूलाई अगाडि ल्याउने थलोको रूपमा आफूलाई स्थापित गर्दै गइरहेको छ ।
बर्षा बस्नेतको यस सफलताले नेपाललाई अन्तर्राष्ट्रिय मोटरस्पोर्ट्सको नक्शामा झन् मजबुत रूपमा प्रस्तुत गरेको छ । टिभिएस मोटोसोलको चौथो संस्करणमा सहभागी भई, उनले आफ्नो साहस, प्रतिबद्धता र कौशल प्रदर्शन गर्दै नेपाली युवाहरूका लागि प्रेरणाको स्रोत बनेकी छिन् ।
टिभिएस मोटोसोलका आयोजकहरूले महोत्सवको सफलताका लागि आभार व्यक्त गर्दै यो महोत्सव केवल रेसिङ र इभेन्टको बारेमा मात्र नभइ मानिस र मेसिनको अमिट सम्बन्धको उत्सव हो । यो भावना हाम्रो हरेक संस्करणमा झल्किन्छ, र यस वर्ष बर्षा बस्नेतजस्ता प्रतिभाहरूले यसलाई अझ विशेष बनाइदिएको उल्लेख गरेका छन् ।

शुक्रबार एनएमबि बैंकको सेवा अवरुद्ध हुने

काठमाडौं । एनएमबि बैंक लिमिटेडको बैंकिङ सेवा अवरुद्ध हुने भएको छ ।
डेटा सेन्टर अपडेटसम्बन्धी कार्यका लागि बैंकको सेवा शुक्रबार (मंसिर २८) राति साढे १० बजेदेखि शनिबार बिहान साढे १० बजेसम्म अवरुद्ध हुने बैंकले जानकारी दिएको छ ।
यस अवधिमा बैंकबाट जारी गरिएका कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आईपीएस तथा कल सेन्टर सेवा प्रभावित हुनेछन् ।

 

रौतहटमा स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाडौं । रौतहटमा स्कारपियो गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका ४ धन्सार पुल नजिकैको जंगलमा निजगढबाट चपुरतर्फ आउँदै गरेको बा १६च ३१६२ नं.को स्कारपियो दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा मृत्यु हुनेहरूमा सिरहाको अर्नमा गाउँपालिका ३ बंठियाटोलका ६० वर्षीया लरुवतीदेवी महरा सोही ठाउँकी ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगींदेवी महरा, ६२ वर्षीया फुलमन्तिदेवी चमार, ६० वर्षीया रामकुमारीदेवी महरा, ३० वर्षीया सकुन्तलादेवी महरा र सोही गाउँपालिका(५ बलुवाटोलका ४० वर्षीय स्कारपियो चालक श्रीकुमार यादव रहेका छन् ।
दुर्घटनामा अर्नमा ३ की ३० वर्षीया राधा राम, सोही ठाउँका उमेश रामका २ वर्षीय छोरा आर्यन, २५ वर्षीया देवकुमारी महरा, उनका ७ वर्षीय छोरा रितिक महरा र अर्नमा ३ कै ६० वर्षीया कन्यादेवी महरा घाइते भएका छन् ।
उनीहरूको हाइवे ट्रम्मा सेन्टर अस्पताल र वीरगञ्जको बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सरकारी वकिलको कार्यालय पर्सामा लामिछानेको बयान सुरु

काठमाडौँ । सहकारीको रकम अपचलन सम्बन्धी कसुरमा अनुसन्धानका लागि पर्सा पुर्‍याइएका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरु भएको छ। सरकारी वकिलको कार्यालय पर्सामा उनको औपचारिक बयान सुरु भएको हो ।
बयान सकिएपछि लामिछानेलाई फेरि कास्की पठाउने जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ। कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई हिजो पोखराबाट हवाई मार्ग हुँदै काठमाडौँ ल्याई सिमरा पुर्‍याइएको थियो। त्यहाँबाट लामिछानेलाई गाडीमा वीरगन्ज लगिएको थियो।
लामिछानेलाई पर्सा लग्ने जानकारी पाएपछि उनका समर्थकहरूले सिमरामा प्रदर्शन गरेका थिए। सानो पाइला बचत सहकारीको झन्डै एक अर्ब ३५ करोड रुपैयाँ हिनामिना विरुद्ध उजुरी परेपछि पर्सा जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको थियो।

रोहितको अर्धशतकमा लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सले चितवन राईनोजलाई १६८ रनको लक्ष्य दिएको छ ।
मंगलबार बिहान टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनायो ।
लुम्बिनीका लागिकप्तान रोहित कुमार पौडेलले अर्धशतकीय पारी खेले । उनले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ८० रनको योगदान गरे ।
लुम्बिनीका साद बिन जफरले ५२ रन बनाए । उनले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गरे । अर्जुन साउदले १५ रन बनाउँदा आशुतोष घिरैया १ र उन्मुक्त चन्द शून्यमा आउट भए ।
चितवनका लागि रिजन ढकालले ३, कुशल मल्ल र रञ्जित कुमारले १, १ विकेट लिए ।
जारी एनपीएलमा चार खेल खेलिसकेको चितवन तीन जितमा ६ अंक प्राप्त गरी तालिकाको तेस्रो स्थानमा छ भने चार खेल खेलिसकेको लुम्बिनीले खाता खोल्न सकेको छैन् ।

एमाले सचिवालय बैठक आज ४ बजे बस्दै

काठमाण्डौं । एमालेको सचिवालय बैठक आज बस्दै छ । दिउँसो ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्मराज अधिकारीले जानकारी दिए ।
बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, बीआरआई सम्झौता, स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा समीक्षा गरिने एमालेले जनाएको छ ।
मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनको नतिजा सार्वजनिक भइसकेको छ । कीर्तिपुर नगरपालिकाको मेयर र काठमाडौँ महानगर वडा नम्बर १६ सहित उपनिर्वाचन हुने आधा बढी स्थान जित्ने एमालेको आन्तरिक दाबी थियो । तर उसको दाबी अनु्सार परिणा आएको छैन ।
कीर्तिपुरसहितका स्थानमा पराजित भएपछि निर्वाचन परिणामबारे पार्टीमा गम्भीर समीक्षा हुनुपर्ने नेताहरूले जनाउँदै आएका छन् ।

 

बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरूद्व भ्रष्टाचारको आरोपमा मुद्दा दायर

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नागरिकता र राहदानीमा झुटा विवरण दिई लाभ र सुविधा प्राप्त गरेको आरोप लागेको छ । विशेष अदालत काठमाडौंमा आज (९ डिसेम्बर) उनीविरुद्ध आरोपपत्र दायर गरिएको छ ।
आरोप अनुसार, सिलवालले आफ्नो जन्म मिति झुटो प्रस्तुत गर्दै कुटनीतिक र विशेष राहदानी प्राप्त गरेका छन् । उनले आफ्नो जन्म मिति २०१५–०४–१५ भएको जनाएको तर पछि २०१८–०७–२४ भन्ने मिति प्रस्तुत गरी कूटनीतिक राहदानी र विशेष राहदानीका लागि झुटा विवरण प्रस्तुत गरेका थिए ।
सिलवालले नेपाल बीमा प्राधिकरणको अध्यक्षको हैसियतमा पदमा रहँदै कानूनी उमेर ६५ वर्ष पूरा गर्दा पनि ६६ वर्षको उमेरमा पदमा कायम रहे। यसरी, उनले आफ्नो पदको दुरुपयोग गर्दै झुटा विवरणका आधारमा लाभ लिएको आरोप छ ।
नेपाल सरकार र अर्थ मन्त्रालयका मापदण्ड अनुसार, सिलवालको कार्यकाल समाप्त हुनु अघि उमेर ६५ वर्ष पुरा गर्दा उनी अनिवार्य अवकाशमा जानुपर्ने थियो, तर उनले पदमा कायम रही अधिकार र सुविधा प्राप्त गरे। यसले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ र १६ बमोजिमको कसुरको पुष्टि गरेको छ ।
आरोपपत्रमा उल्लेख छ कि, सिलवालले आफ्नो जन्म मिति २०१५–०४–१५ मा आधारित सरकारी कागजात र प्रमाणपत्रहरूको प्रयोग गरेका थिए। तथापि, उनले राष्ट्रिय सेवामा रहँदा र कूटनीतिक राहदानीका लागि झुटा जन्म मिति प्रस्तुत गरेको थाहा पाएपछि, सरकार र सम्बन्धित निकायहरूले उनलाई कारवाही गर्न अनुसन्धान थालेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता घिमिरेका अनुसारउनको कागजातको आधारमा, २०८०–०४–१५ देखि अहिले सम्म सिलवालले ३६,६२,१५४.१६ रुपैयाँको लाभ र सुविधा प्राप्त गरेको देखिन्छ।अख्तियारको आरोपपत्रमा सिलवाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ र दफा १६ बमोजिम दोषी ठहर गर्दै उनलाई कानूनी कारवाहीका लागि अदालतमा पेश गरिएको छ।

रवि लामिछानेलाई सिमरा पुर्‍याइयो

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सिमरा पुर्‍याइएको छ । उनलाई वीरगञ्ज लैजाने क्रममा पोखराबाट काठमाडौं ल्याएर फेरि सिमरा लगिएको हो ।
रविलाई ४ः१३ बजे सिमरा पुर्याइएको थियो । रविलाई पुर्‍याउनु अगावै विमानस्थलमा समर्थकहरुको भीड लागेको थियो ।
सिमराबाट उनलाई गाडीमार्फत वीरगञ्ज पुर्‍याएको हो । यसै प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट वीरगञ्ज लगिसकिएको छ ।
रविसहित १४ जनाविरुद्ध सानोपाइला सहकारीको रकम अपचलनको बारेमा १९ मंसिरमा पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

आइएमई पेले ल्यायो ‘लोड, पे, विन’ अफर, बम्पर उपहारमा १०० प्रतिशत क्यासब्याक

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले ‘लोड, पे, विन’ नामक योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत आइएमई पे प्रयोगकर्ताहरूलाई विभिन्न माध्यमद्वारा सजिलै आफ्नो आइएमई पे एपमा पैसा लोड गर्न र सहज डिजिटल भुक्तानी सुविधा अनुभव गर्न प्रोत्साहित गर्ने उद्देश्य राखिएको कम्पनीले जनाएको छ ।
मंसिर २० गतेदेखि पुस २० गतेसम्म १ महिनाको लागि चल्ने यस योजनामा आइएमई पेका सेवाग्राहीहरुले विभिन्न माध्यमबाट आइएमई पे एपमा पैसा लोड गरी कुनै १ भुक्तानी गर्दा दैनिक १ जना विजेताले १००० रुपैयाँ बोनस रकम प्राप्त गर्न सक्नेछन् र बम्परमा ३ जना भाग्यशाली विजेताले योजना अवधी भरी आइएमई पेबाट गरेको कुल कारोबार खर्चको १०० प्रतिशत नै क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
प्रयोगकर्ताहरुले आइएमई पे एपमा लिङ्क गरिएको बैंकको खाता, अन्य बैंकको एपबाट लोड टु वालेट कनेक्ट आइपीएस, ईरएम बैंकिङ, भिसा कार्ड र एजेन्ट्समार्फत आइएमई पे एपमा पैसा लोड गर्न सक्नेछन् । यस योजनामा सहभागी हुन प्रयोगकर्ताहरुले कम्तीमा १००० रुपैयाँ आइएमई पेमा लोड गर्नुपर्ने हुन्छ र मोबाइल रिचार्ज, हवाई टिकट बुकिङ, केबलकार टिकट बुकिङ, बिलहरुको भुक्तानी जस्तो कुनै पनि कारोबार गरेको हुनुपर्दछ । बम्पर विजेताहरुले कुल कारोबार खर्चको १०० प्रतिशत क्यासब्याक अधिकतम १० हजार रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन्।

नबिल बैंकले सुरु गर्‍यो अपोइन्टमेन्ट बैंकिङ प्रणाली, अब ग्राहकले रोजेको समयमा सेवा पाइने

काठमाडौं । नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ प्रणालीको सुरुवात गरेको छ । आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर व्यस्त समयको व्यवस्थापन गरी छरितो सुविधा दिन यस्तो प्रणाली सुरु गरेको नबिल बैंकले जनाएको छ । तत्कालको लागि नबिल बैंकको केन्द्रिय कार्यालय तीनधाराबाट यस प्रकारको सेवा दिन थालिएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले प्रविधिको प्रयोगमार्फत थप छरितो र कुशल सेवा प्रदान गर्न यो प्रणाली सुरु गरिएको जनाए । ‘हामी ग्राहकहरूको चाहानालाई महसुस गर्दै नवीन समाधानहरू प्रदान गर्न कटिबद्ध छौँ । अपोइन्टमेन्ट बैंकिङ प्रणालीले समय व्यवस्थापनमा सहयोग गर्ने, कुशल सेवा उपलब्ध गराउने हाम्रो लक्ष्यलाई प्रतिबिम्बित गर्दछ,’ ढुंगानाले भने ।
नबिलले व्यस्त पेसाकर्मी तथा व्यवसायीलाई लक्षित गरी नवीनतम प्रविधिमा आधारित अपोइन्टमेन्ट बैंकिङ प्रणालीको प्रयोग गरेर ग्राहकले आफूले चाहेको समय अर्थात् आफूले बुक गरेको समयमा बैंकबाट सेवा लिन सक्नेछन् ।
नगद र चेक कारोबार जस्ता अत्यावश्यक बैंकिङ सुविधा लिनका यो सुविधा लिन सकिने बैंकले जनाएको छ । सुरुवातदेखि नै डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै आएको नबिल बैंक लिमिटेडले ग्राहकको अनुभवका आधारमा नयाँ–नयाँ प्रणालीमा आधारित कदम अघि बढाएको छ । अपोइन्टमेन्ट बैंकिङ प्रणाली डिजिटलाइजेसन अन्तर्गतकै नयाँ आयमको रूपमा लिइएको छ ।
यो प्रणालीका मुख्य दुई विशेषता रहेको बैंकले जनाएको छ।
समय व्यवस्थापनका लागि उपयुक्तः यो प्रणाली समयको अभाव भएका व्यस्त व्यक्तिहरू र व्यवसायीका लागि छिटो, कुशल र गुणस्तरीय सेवा प्रदान गर्न विशेष रूपमा डिजाइन गरिएको हो ।
सहज बुकिङ प्रक्रियाः ग्राहकहरूले नबिल बैंकको वेबसाइट वा एनबैंक एपमार्फत सजिलै अपोइन्टमेन्ट बुक गर्न सक्ने व्यवस्था गरिएको छ ।
ग्राहकहरूले नबिल बैंकको वेबसाइट वा एनबैंक एप प्रयोग गरी सजिलै अपोइन्टमेन्ट बुक गर्न सक्छन्। ग्राहकले बैंकमा जानु अघि उल्लेखित प्लेटफममार्फत लिनुपर्ने सेवा र आफूलाई सहज हुने समय छनोट गर्ने सुविधा दिइएको छ। यसले समय व्यवस्थापनलाई ठुलो सहयोग पुर्‍याउने विश्वास गरिएको छ।
नबिल बैंक लिमिटेड नेपालमा बैंकिङ क्षेत्रको एक अग्रणी संस्था हो । यो बैंकले ग्राहकको चाहानालाई केन्द्रमा राखेर नवीनतम र ग्राहक–मुखी वित्तीय सेवाहरू प्रदान गर्दै आएको छ । नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६८ शाखा र ३ सय २० एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ । नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको नबिल नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको छ।

लेटेष्ट समाचार

समानुपातिक बन्दसूचीका ७६ जना उम्मेदवार अयोग्य ठहर

काठमाण्डौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत दलहरूले पेस गरेका बन्दसूचीबाट ७६ जना उम्मेदवारलाई अयोग्य...

नेपालले आज युएईविरुद्ध टी–२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै

काठमाडौँ । आईसीसी टी २० विश्वकपअन्तर्गत समूह चरणको खेल खेल्नुअघि पहिलो वार्म अप खेलमा नेपालले आज यूएईसँग खेल्दै छ। नेपाल र यूएईबीचको वार्म अप खेल...

झापा–५ मा बालेनको चुनावी अभियान तीव्र

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह यतिखेर झापामा छन्। निर्वाचन नजिकिँदै जाँदा उनले झापा–५ मा चुनावी प्रचारप्रसार तीव्र बनाएका...