Page 15

यू–१९ एसिया छनोट आजदेखि, नेपाल र यूएई भिड्दै

काठमाडौं । आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट आजदेखि सुरु हुँदैछ ।
आइतबारदेखि सुरु हुने खेल आगामी वैशाख ६ गतेसम्म माथिल्लो र तल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछन् ।
नेपालले पहिलो खेलमा आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र यूएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।
नेपाली टोलीमा नरेन भट्टको कप्तानीमा अभिषेक तिवारी, निरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहेका छन् ।
यस्तै, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री, विपिनप्रसाद शर्मा टोलीमा अटाएका छन् ।

 

काठमाण्डौं र ललितपुरका यी स्थानमा आज विद्युत् अवरुद्ध हुने

काठमाण्डौं । काठमाण्डौं र ललितपुरका केही स्थानमा शनिबार विद्युत् अवरुद्ध हुने छ ।
नेपाल विद्युत् प्राधिकरणले काठमाण्डौंको बलम्बु वितरण केन्द्रको थानकोट फिडरअन्तर्गत नैकाप फुटबल ग्राउन्ड र किट्नीभन्ज्याङमा पोल स्थानान्तरण र कन्डक्टर स्तरोन्नतिका लागि बिहान ११ देखि दिउँसो ४ बजेसम्म विद्युत् कटौती हुने जनाएको छ।
ललितपुरको लगनखेल वितरण केन्द्रको इमाडोल २ फिडरअन्तर्गत ग्वार्को, इमाडोल, कृष्णमन्दिर, टिकाथली, लुभुलगायत क्षेत्रमा दिउँसो साढे २ बजे देखि साढे३ बजेसम्म विद्युत् कटौती हुनेछ।
सोही केन्द्रको जावलाखेल फिडरअन्तर्गत जावलाखेल, कुमारिपाटी, नटोलमा दिउँसो १ देखि ४ बजेसम्म र रिङरोड फिडरअन्तर्गत जिल्ला प्रशासन कार्यालय, एभिएम चोक, कुसुन्ती, नखिपोटलगायतमा बिहान ११ देखि १२ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।

काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा

काठमाडौँ । देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ । वाग्मती प्रदेशमा पनि बिहानैदेखि वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा भएको हो ।
बागमतीको अलावा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा पनि बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो सुदूरपश्चिम र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा पूर्णदेखि आंशिक बदली हुनेछ ।
देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव थपिँदा विभिन्न स्थानमा वर्षा भएको हो ।

आज दमकमा एमालेको जागरणसभा, प्रधानमन्त्रीले सम्बोधन गर्ने

झापा । आज दमकमा हुने जागरणसभालाई प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।
लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा र प्रतिगामी चलखेलका विरुद्ध एमालेले आयोजना गरेको कोशी प्रदेशस्तरीय जागरणसभाको तयारी पूरा भएको छ ।
दमकको पशुहाटमा सभा आयोजना गरिएको छ । सभामा सहभागी हुनका लागि कोशी प्रदेशका गाउँगाउँबाट एमालेका कार्यकर्ताहरु दमक झरिरहेका छन् ।
एमालेले हिजो साँझ पत्रकार सम्मेलन गरेर जानकारी दिएअनुसार कार्यक्रम स्थलको पूर्वतर्फबाट आउने सवारी साधनहरु रतुवा पुल पारी रोकेर नारा जुलुससहित सहभागीहरु पशुहाटस्थित कार्यक्रम स्थलमा प्रवेश गर्नेछन् ।
यसैगरी, पश्चिमतिरबाट आउने सहभागीहरु पश्चिम बसस्टेन्डमा सवारी रोकेर नारा जुलुससहित कार्यक्रम स्थल प्रवेश गर्नेछन् । जागरणसभालाई व्यवस्थित गर्नका लागि करिब २ हजार स्वयं सेवक परिचालन गरिएको पार्टीको कोशी प्रदेश इन्चार्ज एवं स्थायी कमिटी सदस्य शेरधन राईले जानकारी दिए ।
सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली आज बिहान १० बजे भद्रपुरतर्फ जाँदैछन् ।

सरकार र शिक्षक महासंघबीच वार्ता जारी

काठमाडौ । सरकार र शिक्षक महासंघबीच वार्ता चलिरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकार र नेपाल शिक्षक महासंघका पदाधिकारीबीच वार्ता भइरहेको हो ।
बिहीबारको वार्ता सकारात्मक भएपछि शुक्रबार पनि दुवै पक्षले सहमतिको बिन्दु खोजिरहेका छन् । मन्त्रालय स्रोतका अनुसार आजको वार्तामा शिक्षामन्त्री विद्या भट्टराई सहभागी छैनन् ।
मन्त्री भट्टराई विद्यालय शिक्षा विधेयकमा दफावार छलफलमा भएकाले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीको नेतृत्वमा वार्ता बसिरहेको हो । शिक्षकको तर्फबाट महासंघ सहअध्यक्ष नानुमाया पराजुलीको टिम सहभागी छ ।
‘हिजो पनि छलफल भएको छ । सकारात्मक छ । आज पनि छलफल भइरहेको छ,’ शिक्षामन्त्रालय स्रोतले भन्यो । कानुन निर्माणबाहेक तत्काल शिक्षा मन्त्रालय र मन्त्रिपरिषद्बाट निर्णय गर्न सकिने विषयमा सरकार लचक भएको छ ।
‘बजेट कार्यक्रमले सम्बोधन गर्ने विषय छन । निजामती सरह सेवा सुविधाको कुरा छ । तलब भत्ता ग्रेडको कुरा छ । बजेट तर्जुमामा छौं । यी विषय संवाद भइरहेको छ । स्थानीय तहमा वित्तीय हस्तान्तरण गरेर पठाउनुपर्ने हुन्छ । अर्थ मन्त्रालयसँग पनि कुरा भइरहेको छ,’ मन्त्रालयका एक अधिकारिले भने ।
कानुन नबनाई मन्त्रालय र क्याबिनेटबाट निर्णय गरेर हुने विषयमा सरकारले गर्ने र संसद्को आगामी अधिवेशनमा विधेयक पेस गर्ने गरी छलफल अगाडि बढेको छ । यद्यपि, महासंघले विशेष अधिवेशन, बर्खे अधिवेशन छिटो बोलाएर वा अध्यादेशबाट ऐन जारी गर्न माग गरिरहेको छ ।
देशभरबाट काठमाडौं आएका शिक्षकहरू २० चैतदेखि दिनहु प्रदर्शन गरिरहेका छन् । आन्दोलनको अगुवाई महासंघले गरिरहेको छ । महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने ऐन जारी नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् । ‘आन्दोल्न रोकिँदैन । परिणाम ननिस्किएसम्म सडक आन्दोलन जारी रहन्छ,’ उनले भने ।

एमाले सिध्याउँछु भन्नेहरु सफल नभएको प्रधानमन्त्रीको दाबी

रुपन्देही । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याउँछु भन्ने स्वार्थी तत्वहरु असफल भएको दाबी गर्दै समृद्धि र विकासको यात्रामा कुनै विराम नलाग्ने जनाएका छन् ।
नेकपा (एमाले) को रुपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमालेले लिएको समृद्धि र विकासको यात्राबाट तर्सिएर देशीविदेशी प्रतिक्रियावादी स्वार्थी तत्वहरुले एमालेलाई विभाजनको कोशिश गर्नेहरु असफल भएको टिप्पणी गरेका हुन् ।
उनले भने, ‘एमालेलाई सिध्याउँछु, केपी ओली विनाको एमाले बनाउँछु भन्नेहरु सफल हुँदैनन् । म धेरै बाँच्ने होइन, त्यसपछि पनि मभन्दा बलवान नेताहरु पार्टीमा आउनेछन् । यस देशको विकासको भाग्यरेखा हामी आफैं कोर्छौँ । मान्छेको घरमा आगो लगाएर र पसलबाट चोरेर भाग्नेहरुले क्रान्ति र परिवर्तनका लागि केही गर्न सक्दैनन् ।’
राजतन्त्र र पञ्चायतकालमा मुलुकमा कुशासन र अव्यवस्था भएकाले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट ल्याइएको लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन अहिलेको सरकारले आफ्ना सबै प्रयास गरिरहेको जनाए ।
उनले विगतमा आफ्ना कुशासन र निरङ्कुशताको राज सम्झिएर प्रतिगामी तत्वहरुले यस व्यवस्थालाई बदनाम गर्न अराजकता र अफबाह फैल्याउन खोजे पनि त्यसबाट कुर्न विचलित नभई समृद्धि र सुसाशनको अहिलेको यात्रामा योगदान दिन सबैमा आग्रह गरे ।
अहिलेको आधुनिक समयमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तमा पछि लाग्नु बेक्कार भएको जनाउँदै उनले लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउँदै जनताको समृद्धि र विकासलाई तीव्र गति दिन वर्तमान संयुक्त सरकार कटिबद्ध रहेको स्पष्ट पारेका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

काठमाण्डौं । दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
प्रसाईँलाई बिहीबार काँकडभिट्टबाट पक्राउ गरी काठमाडौँ लयाइएको थियो ।
प्रहरीले सरकारी वकिलमार्फत अदालतसमक्ष पहिलो चरणमा प्रसाईंलाई १२ दिन हिरासतमा राख्नका लागि अनुमति मागेको थियो ।
यस्तै अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले प्रसाईं क्यान्सरको बिरामी भएका कारण इजलासबाट सम्बन्धित चिकित्सकको सिफारिसमा उपचारको प्रबन्ध गर्न आदेश भएको जनाए ।
चैत १५ गतेको राजावादी प्रदर्शनको क्रममा प्रहरीलाई नै किच्ने गरी गाडी चलाएर भिडलाई उत्तेजित पारेलगत्तै उनी फरार थिए ।

सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा नबिल बैंक सम्मानित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो ५९औँ वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस, २०८१ को अवसरमा आयोजित विशेष कार्यक्रममा सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मान गरेको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकका कामु प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीलाई उक्त सम्मानपत्र प्रदान गरेका हुन् ।
आर्थिक वर्ष २०७९, ८० मा बैंक, वित्तीय संस्था र बिमा कारोबार क्षेत्रका तर्फबाट सबैभन्दा बढी कर दाखिला गरी मुलुकको अर्थतन्त्रमा नबिल बैंकले पु¥याएको योगदानको कदर गर्दै प्रमाणपत्रसहित बैंकलाई सम्मान गरिएकोे हो ।
नेपाल सरकारले पनि यस वर्षको राष्ट्रिय कर दिवसको उपलक्ष्यमा बैंक, वित्तीय संस्था र बिमा क्षेत्रका तर्फबाट आर्थिक वर्ष २०७९, ८० मा सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नबिल बैंकलाई प्रमाणपत्रसहित सम्मान गरेको थियो । नबिल बैंक यसअघि आर्थिक वर्ष २०७९, ८०, आव २०६७, ६८, आव २०७०, ७१, आव २०७१, ७२, आव २०७३, ७४, आव २०७५,७६, आव २०७६, ७७ र आव २०७७, ७८ मा पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित भइसकेको छ ।
नबिल बैंक लिमिटेड नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो । बैंकले जिम्मेवार संस्थाका रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध रहेको जनाएको छ । नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको नबिल नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको छ ।

सानिमा रिलायन्सको पौने १६ लाख कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कुल १५ लाख ७४ हजार २५१ कित्ता संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ ।
यो शेयर संस्थापक शेयरधनीसहित जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । कम्पनीले यसअघि नै संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याइसकेको छ ।
इच्छुक लगानीकर्ताले १५ दिन अर्थात् २०८२ वैशाख १३ गतेभित्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा १५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको हिजो दिउँसो बसेको बैठकले आव २०८०–८१ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव वरिष्मा साउद आचार्यले जनाएकी छिन् ।
कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार २ सय रुपियाँ छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।

लेटेष्ट समाचार

गृह मन्त्रालयको भर्चुअल बैठक ः निर्वाचन सुरक्षामा केन्द्रित रहन निर्देशन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग भर्चुअल बैठक सम्पन्न...

सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसदवाट फिर्ता लिने सरकारको निर्णय

काठमाण्डौं । सरकारले सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्न बनेको विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदवाट फिर्ता लिने निर्णय गरेको...

पुरानो संसद् फर्काउने चलखेल र धम्की स्वीकार्दैनौं ः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अझै पनि ज–जसले गठबन्धन गरे पनि निर्वाचनबाट आउने परिणाम स्वीकार्न तयार रहेको जनाएका छन्...