काठमाडौँ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदलीको अवस्था रहेको छ। कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउसो सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेश बाहेक अन्य ६ प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही हल्का हिमपातको समेत सम्भावना रहेको छ । राति पनि यही सिलसिलाले निरन्तरता पाउनेछ ।
सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा र देशको उच्च पहाडी तथा हिमाली भूभागका हिमपातको सम्भावना रहेको कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
आज सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
आज बुटवलमा एमालेको जागरणसभा, प्रधानमन्त्रीले सम्बोधन गर्ने
बुटवल । नेकपा (एमाले) ले आज बुटवलमा लुम्बिनी प्रदेशस्तरीय बृहत् जागरणसभा गर्दैछ । पछिल्लो समय संघीय लोकतान्त्रिक गणतन्त्रमाथि भइरहेको प्रहारका विरूद्ध जनतालाई सचेत पार्न जनसचेतना अभियानअन्तर्गत एमालेले आज बुटवलमा जागरणसभा गर्न लागेको हो ।
तीनमहिने वडा केन्द्रित ‘जरा अभियान’ चलाइरहेको एमालेले अभियानअन्तर्गत लुम्बिनी प्रदेशस्तरीय जागरणसभा गर्न लागेको हो । एमालेले गत चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गरिरहेको छ । सोहीअन्तर्गत आज दिउँसो १ बजे रामनगरस्थित बुटवल मण्डपमा प्रदेशस्तरीय जागरणसभा गर्न लागिएको एमाले रुपन्देहीले जनाएको छ ।
सभालाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलसहितका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभापूर्व बुटवलबाट भैरहवासम्म ५ हजार मोटरसाइकल र ५०० सय गाडीसहितको र्याली निकालिने र रामनगरस्थित कार्यक्रम स्थलमा पुग्ने कार्यक्रम रहेको छ ।
एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै गणतन्त्रको पक्षमा राष्ट्रिय जागरण अभियान एमालेले चलाएको जनाईन । ‘सरकारमा भएको पार्टीले किन सभा गरेको भनेर पनि प्रश्न उठेका छन्, पार्टी सरकारमा भएपनि व्यवस्थाविरुद्ध भएका गलत प्रचारलाई आम नागरिकलाई बुझाउन यो जरुरी छ’ सचिव अर्यालले भनिन् ‘काम गर्दा केही कमजोरी भएका पक्कै हुन सक्छन्, त्यसलाई सच्चाउने हो, यो व्यवस्था त्यसै आएको होइन, यसको रक्षा गर्ने सबैको दायित्व हो, गलत प्रचार गर्नेलाई वास्तविकता बताउन र भ्रम चिर्ने मुख्य उद्देश्य हो ।’
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छैनन् ः प्रहरी
काठमाण्डौं । राजावादी प्रदर्शनका कमाण्डर भनिएका दुर्गा प्रसाईं भारतमा पक्राउ परेको समाचारको नेपाल प्रहरीले खण्डन गरेको छ । चैत १५ गते काठमाण्डौंको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमान्डर प्रसाईं भारतमा समातिएको चर्चा भइरहँदा प्रहरीले यसको खण्डन गरेको छ ।
प्रहरी प्रधान कार्यालयले हालसम्म प्रसाईं पक्राउ नपरेको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी दिनेशकुमार आचार्यले गएराति निकालेको विज्ञप्तिमा विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाईं नेपाल प्रहरीको खोजीको सूचीमा रहेको तर हालसम्म प्रसाईं पक्राउ नपरेको उल्लेख छ ।
प्रसाईंको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमार्फत आसाम प्रहरी समक्ष उनले आत्मसमर्पण गरेको दाबी गरेको छ ।
चैत १५ गतेको प्रदर्शनका नाममा हिंसा भड्काएर फरार भएका प्रसाईंलाई नेपाल प्रहरीको विशेष ब्यूरोले पूर्वी नेपालको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको चर्चा भइरहेको छ ।
नेपाल र भारतबीचमा सुपुर्दगी सन्धि नभएकाले अर्कोे देशमा पक्राउ परेमा त्यहाँको प्रहरीले सीमाक्षेत्रमा ल्याएर छोड्ने र लगत्तै सम्बन्धित देशको प्रहरीले जिम्मा लिएर गन्तव्यमा पुर्याउने गरिन्छ ।
वैशाख १५ भित्र क्रियाशील सदस्यता नवीकरण गर्न कांग्रेसको निर्देशन
काठमाण्डौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण टुंग्याउने समय १५ दिन थप गरेको छ । चैत मसान्तभित्रै गरिसक्न पटकपटक निर्देशन दिए पनि नभएपछि कांग्रेसले पुनः वैशाख १५ गतेसम्मको सीमा दिएको हो ।
महामन्त्री गगन थापाले जिल्ला कार्यसमितिहरूलाई पत्र लेख्दै नवीकरण शुल्कसहितको सदस्यता टुंग्याउन निर्देशन दिएका हुन् ।
थापाले ‘नवीकरण गरेको भौचरसहित २०८२ वैशाख १५ गतेभित्र केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा पठाउन निर्देश गरिन्छ’ भनेर पत्र पठाएका छन् ।
१५ औं महाधिवेशनको प्रारम्भिक कामका रूपमा सदस्यता नवीकरण गर्नुपर्ने हुन्छ । तर, ७७ वटामध्ये केही जिल्लाबाहेक धेरैले सदस्यताको विषय टुंग्याउन सकेका छैनन् । त्यसैले कांग्रेसले पटकपटक निर्देशन दिँदै आएको हो ।
कांग्रेसमा चुनावअघि २०८३ मा १५ औं महाधिवेशन गर्न दबाब छ ।
सरकार र शिक्षक महासंघबीचको वार्ता सकियो
काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीचको वार्ता सकिएको छ ।
शिक्षा मन्त्रालयमा भएको वार्तामा के सहमति भयो भन्ने बारे शिक्षा मन्त्रालयले खुलाउन चाहेन ।
‘आजको वार्ता सकिएको छ । वार्तामा भएका कुराकानी आन्तरिक छलफल गरेर भोलि मात्रै सार्वजनिक गर्छौं,’ शिक्षामन्त्रालय सचिवालयका एक सदस्यले भने ।
वार्तामा शिक्षक महासंघबाट सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली सहभागी भएको थियो भने सरकारको तर्फबाट शिक्षामन्त्री विद्या भट्टराई सहितको टोली सहभागी भएका थियो ।
शिक्षक महासंघले २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आइरहेको छ ।
वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने भन्दै उनीहरूले बिहीबार माइतीघरदेखि बिजुलीबजार पुलसम्मको सडक नै कब्जा गरेर प्रदर्शन गरेका थिए ।
मुख्य लेनमा मात्रै प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले आज तीन वटै लेन कब्जा गरेर प्रदर्शन गर्न खोज्दा प्रहरीसँग धकेलाधकेलको अवस्था सिर्जना भएको थियो ।
रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्ने गरी जनताको विकासको आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्देशन दिएका छन् ।
आगामी आर्थिक वर्षको बजेट तर्जुमा तथा प्राथमिकता निर्धारणका सम्बन्धमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्री ओलीले उत्पादन र रोजगारी वृद्धि गर्न ठोस योजनासहित अबको बजेट ल्याउनुपर्ने जनाएका हुन् ।
शान्ति सुरक्षा, भ्रष्टाचार अन्त्य र जनतालाई सहजरुपमा सेवा सुविधा दिएर सुशासन कायम गर्ने सवाललाई प्रामथिकतामा राख्न निर्देश गर्दै उनले मुलुकमा शान्ति खल्बल्याउने तत्वहरु पनि सक्रिय भएकाले सुरक्षा प्रबन्ध र उचित स्रोत साधनको तयारी गर्नुपर्नेमा पनि जोड दिए ।
नेपाल सरकारले हरेक जेठ १५ गते सङ्घीय संसदमा आगामाी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्छ भने त्यसअघि बजेटका प्राथमिकता र सिद्धान्तबारे सदनमा छलफल हुनेछ । सोको तयारीका लागि प्रधानमन्त्री ओलीले आज सबै मन्त्रालयका मन्त्री र सचिवहरुसहितको छलफल डाकेका हुन् ।
“सुशासन कायममा कुनै सम्झौता गर्नु हुँदैन । राजस्व संकलनमा बदमासी पाइएमा सम्लग्न जो कोहीलाई तुरुन्त कारवाही गर्नुपर्छ । पर्याप्त राजश्व उठेपछि नै जनताको विकासमा खर्च गर्न सकिन्छ ।”, प्रधानमन्त्री ओलीले भने, “स्रोतको आधारमाविना बजेट ल्याइएको हालको प्रवृत्ति अन्त्य गर्नुपर्छ । आग्रह र पूर्वाग्रह राखेर बजेट तर्जुमा गर्न मिल्दैन । बजेट जनताको विकासको आवश्यकता र प्राथमिकताका आधारमा उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउनुपर्छ । अनुदान नीतिमा पुनरावलोकन गर्नुपर्छ ।”
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत सुनिश्चितताविना धेरै योजना राखिने र भएको पुँजीगत खर्च गर्न नसक्ने तर थप बजेट माग्नेजस्ता बेथिति सुधारेर विधि र मापदण्डका आधारित रही बजेट तर्जुमामा आफूहरु लागेको जानकारी गराए । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म राजस्व संकलन ५५ प्रतिशत, कुल खर्च ५२ प्रतिशत र पुँजीगत खर्च २८ प्रतिशत भएको छ ।
बीमालेख नविकरण नगरेका बीमितलाई नेपाल लाइफको अफर, बिलम्ब शुल्कमा ५० प्रतिशत छुट
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले समयमै बीमालेख नविकरण नगर्दा लाग्ने जरिवाना अर्थात् बिलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने अफर ल्याएको छ ।
कम्पनीले हालै एक सूचना जारी गर्दै बिलम्ब शुल्कमा छुट दिने जनाएको हो । आगामी जेठ १३ गतेसम्म यो सुविधा जारी हुनेछ ।
बीमालेख नविकरण गर्ने मिति १८० दिन कटेको अवस्थामा यो सुविधा पाइने कम्पनीको भनाइ छ । अर्थात्, नविकरण नभई बीमालेख निष्क्रीय (व्यतित) भएको १८० दिन पुुरा भइसकेको हुनुपर्नेछ । तर, यसमा बिभिन्न शर्त पनि तोकिएको छ ।
कम्पनीकाअनुसार त्यस्तो पोलिसी एक बर्षसम्म सरेन्डर गर्न पाइने छैन । सरेन्डर गरेको अवस्थामा अहिले छुट भएको रकम ‘सरेन्डर भ्यालु’बाट कट्टी गरिनेछ ।
‘यस योजनामा समावेश भएका बीमालेखहरु पुनर्जागरण (नविकरण) को मितिदेखि १ बर्ष भित्र समर्पण (सरेन्डर) भएमा प्रदान गरिएको बिलम्ब शुल्क छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिनेछ,’ नेपाल लाइफको सूचनामा उल्लेख छ ।
एक पटक बिलम्क शुल्कमा छुट लिइसकेको बीमितहरुलाई पुरा बीमा अवधीभर पुनः छुट सुविधा नदिने पनि सुचनामा उल्लेख छ । यसैगरि बीमलेख व्यतित भएको १८० दिन भन्दा बढी समय हुनुपर्ने कम्पनीको भनाइ छ ।
बिभिन्न परिस्थीतिका कारण कतिपय बीमितले बीमा अवधी बाँकी हुदाँ हुँदै पनि बीमालेख नविकरण नगरि बस्छन् । कम्पनी र अभिकर्ताबाट ताकेता नहुदाँ पनि त्यस्तो समस्या बढेको छ । बीमितहरु त्यस्तो बीमालेख बन्द अर्थात् सरेन्डर गर्न पनि आउदैनन् । स्वतस्फूर्त रुपमा बीमालेख नविकरण गर्न पनि आउदैनन् । ढिलो गरि बीमालेख नविकरण गर्दा जरिवाना समेत लाग्ने गर्छ । जरिवाना लाग्ने गरेका कारण पनि बीमितहरु व्यतित बीमालेख नविकरण गर्न नआएको देखिन्छ । यी यस्ता परिस्थीतिलाई दृष्टिगत गर्दै बीमितलाई व्यतित् बीमालेख नविकरणका लागि प्रोत्साहन छुटको नीति ल्याएको कम्पनीको भनाइ छ ।
एनएलजी इन्स्योरेन्सद्वारा निर्जीवन बीमा सम्बन्धि छलफल कार्यक्रम सम्पन्न
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले निर्जीवन बीमा सम्बन्धि अन्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले मंगलबार धनुषा जिल्लाको मिथिला नगरपालिका, ढल्केबरमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
मिथिला नगरपालिका धनुषाका कृषि तथा पशुपन्छी विभाग प्रमुख अशेश्वर साहको प्रमुख आतिथ्यमा संचालित उक्त कार्यक्रममा एनएलजी इन्स्योरेन्सका कर्मचारीहरु, किसान, कृषि तथा पशु प्राविधिक र सरोकारवालाहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।
उक्त अवसरमा एनएलजी इन्स्योरेन्सका मधेश प्रदेश प्रमुख शैलेस राज रेग्मीले निर्जीवन बीमाकोे राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्व र सो को प्रकार एवं दावी फछ्र्यौटसम्बन्धी प्रकृयाको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।
कृषि तथा पशुपन्छी बीमाको प्रकृयालगायत सो को सर्वाङ्गिण महत्वको बारेमा एनएलजी इन्स्योरेन्स शाखा कार्यालय लालबन्दीका प्रमुख युवराज ढकालले प्रकाश पारेका थिए ।
एनएलजी इन्स्योरेन्स शाखा कार्यालय, जनकपुरको तत्वाधानमा संचालित सो कार्यक्रममा उक्त शाखाका प्रमुख संजय कुमार भट्टराईले कृषि बीमासम्बन्धी नेपाल बीमा प्राधिकरणबाट हालै जारी गरिएको सफ्टवेयरको बारेमा किसान तथा सरोकारवालाहरुलाई जानकारी गराउँदै सो को प्रयोगले भविष्यमा कृषि तथा पशुपन्छी बीमासम्बन्धी कार्य अझ पारदर्शी र छिटोछरितो ढंगबाट सम्पन्न गर्न सम्भव हुनेछ जनाए ।
मिथिला नगरपालिका धनुषा पशु सेवा शाखाका राम शंकर यादव, संजय कुमार महतोलगायत पचास जना सहभागीहरु रहेको सो कार्यक्रममा बाली बीमा, तरकारी बीमा, पशुधन बमिालेख एवं अन्य निर्जीवन बीमा व्यवसायसम्बन्धी प्राप्त जिज्ञासाहरु सम्बन्धमा बृहद छलफल गरिएको थियो ।
महालक्ष्मी विकास बैंकले ७.९९ प्रतिशत ब्याजमा घर कर्जा दिने
काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८२ को अवसरमा ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी घर कर्जा एकल अंकको ब्याजदर ७.९९ प्रतिशतमा नै प्रदान गर्ने भएको छ ।
नयाँ वर्ष २०८२ को अवसरमा बैंकिङ्ग क्षेत्रमा नै सस्तो तथा प्रतिस्पर्धी ब्याजदर कायम रहने गरी ग्राहकहरुलाई घर खरिद गर्न÷ निर्माण गर्न ÷पुर्ननिर्माण गर्न तथा अपार्टमेन्ट खरिद गर्न बैंकले यस्तो कर्जा प्रदान गर्ने जनाएको छ ।
यस्तो कर्जा वातावरणीय विशेषता पुष्टी गर्न सक्ने तथा नवीकरणीय वा दिगो स्रोतहरुको प्रयोग गरिएको हुनुपर्दछ । यस्तो कार्यबाट वातावरण संरक्षण गर्न, दिगो विकासको प्रबद्र्धन गर्न तथा नेपाल राष्ट्र बैकको नियामकीय निर्देशनको पालना गर्न समेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंकले हालै मात्र भारतको प्रतिष्ठित म्यागजिन “विजनेश कनेक्ट” बाट ग्राहक केन्दि«त बैंकको अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेको छ भने मोबाइल एप्लिकेसनलाई समेत परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।
बारको अध्यक्षमा मिश्र र महासचिवमा कोइराला विजयी
काठमाडौं । नेपाल बार एशोसिएसनको निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्रले ५०५२ मत ल्याएर विजयी भएका छन्।
उनका प्रतिस्पर्धी माओवादी केन्द्रलगायतका दलहरूको समर्थनमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले भने २६२१ मत मात्र प्राप्त गरे।
त्यस्तै महासचिवमा पनि गठबन्धनका वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले ४८७४ मत प्राप्त गर्दै विजय हासिल गरे। उनका प्रतिस्पर्धी यज्ञमणि न्यौपानेले २३६७ मत ल्याएका थिए।
अन्य पदहरूमा पनि कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारहरूले भारी मतान्तरसहित जित निकालेका छन्।
प्रदेशगत उपाध्यक्ष पदहरूमा कोशी प्रदेशबाट पदमप्रसाद लिम्बु, मधेशबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवसकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा तथा महिला खुला उपाध्यक्षमा सरस्वती श्रेष्ठ विजयी भएका छन्।
















