काठमाण्डौं । नेकपा एमालेकी राष्ट्रियसभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई मंगलबार मन्त्री नियुक्त गरेका छन् ।
घुस प्रकरणमा मुछिएका मन्त्री राजकुमार गुप्ताले मंगलबार राजीनामा दिएपछि रिक्त पदमा न्यौपानेलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
न्यौपाने तनहुँकी वासिन्दा हुन् । उनी राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतक छिन् ।
उनी २०७४ सालको स्थानीय तह चुनावमा तनहुँको भानु नगरपालिकाको मेयर पदमा पराजित भएकी थिइन् ।
राष्ट्रियसभा सदस्य न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त
मालपोत कार्यालय भक्तपुरका प्रमुख र कार्यालय सहयोगी अख्तियारको नियन्त्रणमा
भक्तपुर । भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुर भूमि सुधार शाखाका प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
राउतको साथबाट २४ लाख ५० हजार रकम पनि बरामद गरेको छ । मोही तल्सिङको मुद्दा मिलाउन प्रमुखसहितलाई दिनुपर्ने भन्दै घुस लिएका राउतलाई कार्यालयबाटै मंगलबार रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।
उदयपुरका आचार्यको साथबाट दुईवटा मोबाइल डिभाइस र भक्तपुरका राउतको साथबाट एउटा मोबाइल डिभाइससमेत बरामद गरिएको छ ।
उनीहरुले भक्तपुर चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टागरी उक्त जग्गा मोहीको नाममा जग्गा धनी पुर्जा बनाउने भन्दै घुस लिएको अख्तियारले जनाएको छ ।
नेशनल लघुवित्त आवद्ध भयो नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा
काठमाडौं। नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड पनि आबद्ध भएको छ। अब उक्त संस्थाका करिब ६ सय कर्मचारी सामाजिक सुरक्षा सुविधाले आवृत्त हुनेछन्।
यस सम्बन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले हस्ताक्षर गरेका छन्।
कोषको उपदान तथा पेन्सन योजना एक प्रकारको दीर्घकालीन सामाजिक सुरक्षा कार्यक्रम हो, जसअन्तर्गत संगठित संस्थाहरू तथा तिनीहरूमा कार्यरत कर्मचारीहरूले योगदान आधारित वा गैर योगदान आधारित ढाँचामा आवद्ध हुन सक्छन्।
नेशनल लघुवित्तले ‘घ’ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्था भएर देशभर १८५ शाखामार्फत ७४ जिल्लामा वित्तीय पहुँच विस्तार गरेको छ। हाल यस लघुवित्तबाट करिब २ लाख ४१ हजार घरपरिवार लाभान्वित भइरहेका छन्।
कोषले सञ्चालित उपदान तथा पेन्सन योजनाले कर्मचारीलाई सेवा निवृत्तिपछि निश्चित आम्दानीको व्यवस्था गरिदिनुका साथै संस्थालाई पनि दीर्घकालीन मानव स्रोत व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रभु बैंकका ग्राहकले होपफुल हराइजनमा विशेष छुट पाउने
काठमाडौं । प्रभु बैंकका ग्राहक र कर्मचारीले ललितपुरको झम्सिखेलस्थित होपफुल हराइजन नेपालमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहक र कर्मचारीले होपफुलको मानसिक स्वास्थ्य सम्बन्धि सेवामा विशेष छुट पाउने गरी दुई पक्षीय समझदारी भएको हो ।
एक समारोहका बिच होपफुल हराइजन नेपालका तर्फबाट डा. प्रकृति प्रधान र प्रभु बैंकका तर्फबाट प्रमुख मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरे ।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभिलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने छ ।
होपफुल हराइजन नेपाल नेपालको एक दक्ष एवं अनुभवी विषेशज्ञको टोलीद्वारा निजी क्षेत्रबाट सञ्चालित मानसिक स्वास्थ सेवा प्रदायक संस्था हो । यस संस्थाले सबै उमेर समूहका लागि विभिन्न किसिमका मानसिक स्वास्थ सम्बन्धि सेवाहरु उपलब्ध गराउँदै आइरहेको छ ।
बैंक अफ द इयर २०२३ समेत रहेको प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालय, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टरमार्पmत करिब ३१ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।
युनाइटेड अजोड इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंको आम्रपाली ब्याङ्क्वेट भाटभटेनीमा सोमबार साधारणसभा सम्पन्न भएको हो।
सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, २०८०, ८१ को युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०८१ साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूची सभाबाट पारित गरिएको थियो । साथै, सञ्चालक समितिबाट पेश गरिएका सबै सामान्य र विशेष प्रस्ताव सर्वसम्मतिबाट पारित गरिएको थियो ।
कम्पनीले प्रधान कार्यालय लगायत ६ वटा प्रादेशिक कार्यालय, ३९ वटा शाखा, ४३ वटा उपशाखा कार्यालयहरु, १५ वटा बीमा काउण्टरहरु र ६ वटा तेस्रो पक्ष बीमा काउण्टरहरुबाट र ३६५ बीमा सेवा प्रदान गर्दै आएको ।
सेयर बजारमा ३६ अंकको वृद्धि, साढे ९ अर्बको कारोबार
काठमाडौं । सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.८६ अंक अर्थात् १.३५ प्रतिशतले बढेर २७६२.५७ बिन्दुमा पुगेको छ ।
अघिल्लो कारोबार दिन सोमबार भने नेप्से ३५.०९ अंकले घटेर २७२५.७१ बिन्दुमा बन्द भएको थियो । यसअघिका तीन कारोबार दिन भने नेप्सेमा दोहोरो अंकको वृद्धि भएको थियो ।
मंगलबार नेप्सेमा कुल ९ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन सोमबार भने नेप्सेमा कुल ७ अर्ब ९२ करोड र आइतबार ११ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मंगलबार नेप्सेमा कुल २०९ कम्पनीको सेयर मूल्य बढ्दा ३९ कम्पनीको घटेको छ । आज नेप्सेमा सुपर मादी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक अर्थात् ८.०८ प्रतिशतले बढेको छ ।
आज बैंकिङ समूहको सेयर मूल्य १.९२ प्रतिशत, विकास बैंक समूहमा १.५९ प्रतिशत, फाइनान्स समूहमा १.८२ प्रतिशत, होटल तथा पर्यटन समूहमा १.१५ प्रतिशत र जलविद्युत् समूहमा १.६७ प्रतिशतको सुधार आएको छ ।
यस्तै, लगानी समूहको सेयर मूल्य १.३८ प्रतिशतले बढ्दा लघुवित्त समूहको सेयर मूल्य १.५५ प्रतिशतले उकालो लागेको छ ।
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ।
आज राति देशभर साधरणतया बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम हुने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
धरान–चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा
सुनसरी । मदन भण्डारी राजमार्गअन्तर्गत धरान–चतरा सडक खण्डमा पर्ने बाघ खोला, बगुवा खोला र ठकुरी खोलामा निर्माणाधीन तीन वटा मोटरेबल पुल अन्तिम चरणमा पुगेका छन् ।
यी पुलहरूसँगै यो सडकखण्डमा पर्ने रेल्वे पुलको निर्माण भने अझै सुरु हुन सकेको छैन । निर्माणको जिम्मा लिएको सूर्य एण्ड सन्स कन्स्ट्रक्सन निर्माण कम्पनीका इञ्जिनियर उमेश श्रेष्ठका अनुसार बाघ खोला, बगुवा खोला र ठकुरी खोलाको पुल निर्माण करिब ९५ प्रतिशतसम्म सम्पन्न भइसकेको छ । उनले धरान–चतरा सडकखण्ड सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा निर्माण भइरहेको दुवैतर्फ पेटीसहित ६० मिटर लामो बाघ खोला पुलको काम ९० प्रतिशत सम्पन्न भएको छ ।
त्यस्तै, बगुवा खोलामा ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलको निर्माण ९५ प्रतिशत र ठकुरी खोलामा निर्माणाधीन ३५ मिटर लामो पुलको काम ९० प्रतिशत सम्पन्न भएको उनले जानकारी दिए ।
“रेल्वे पुलको काम भने जङ्गल क्षेत्रभित्र पर्न गएका कारण सुरु हुन सकेको छैन । जङ्गल क्लियरेन्सको काम अफिसले गर्ने भएकाले क्लियरेन्स भएपछि तुरुन्तै काम सुरु गरिनेछ”, इञ्जिनियर श्रेष्ठले भने ।
कम्पनीले चार वटा मोटरेबल पुल निर्माणका लागि भ्याटसहित २१ करोड ७८ लाख ६३ हजार ७५० रुपैयाँमा २०७९ साल जेठ महिनामा ठेक्का स्वीकृत गरी निर्माण सुरु गरिएको थियो । तीन वटै पुल सञ्चालनमा आइसकेका छन् भने छेउछेउमा फिनिसिङको काम बाँकी रहेको इञ्जिनियर श्रेष्ठले जनाए । छेउछाउमा धेरै रुख भएकाले फिनिसिङ र छेउको बाटोमा यसअघि रोकिएको रुख व्यवस्थापनपछि बाँकी काम सम्पन्न गरिने उनले जानकारी दिए ।
उनले भने, “बर्खामा खोलामा यात्रा गर्न निकै कठिन थियो, कैयौँ मानवीय क्षति भएको थियो । अब पुल बनेपछि सहज यात्रा सम्भव भएको छ ।” यो सडकखण्ड भोजपुर, खोटाङ, उदयपुरलगायत जिल्लाका नागरिकका लागि धरान बजारमा स्वास्थ्य सेवा, शिक्षा तथा कृषि उपज बिक्री वितरणका लागि महत्त्वपूर्ण मार्ग हो । पुल नहुँदा वर्षायाममा सास्ती भोग्नुपरेको समस्याको दीर्घकालीन समाधान हुने स्थानीयहरूको विश्वास छ ।
आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाण्डौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
आजको बैठकमा लेखासमितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने र सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।
यसैगरी आजै राष्ट्रियसभाको बैठक १ः१५ मिनेटमा बस्दैछ। राष्ट्रियसभाको आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रतिनिधिसभाबाट सन्देसहित प्राप्त ‘संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची तय भएको संघीय संसद् सचिवालयले जनाएको छ ।
उत्कृष्ट चलचित्र ‘साम्बाला’, उत्कृष्ट अभिनेता विजय बराल
काठमाडौं । विजय बराल उत्कृष्ट अभिनेता घोषित भएका छन् । चलचित्र विकास बोर्डले प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार २०८२ अन्तर्गत बरालले ‘पूर्णबहादुरको सारंगी’बाट उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका हुन् ।
उत्कृष्ट अभिनेत्रीको अवार्ड उपसना सिंह ठकुरीले ‘खुश्मा’बाट पाएकी छन् । उत्कृष्ट निर्देशकको अवार्ड मीन भामले पाएका छन् । उनको चलचित्र ‘साम्बाला’ उत्कृष्ट चलचित्र घोषित भएको छ ।
उत्कृष्ठ लेखनतर्फको अवार्ड दीपकराज गिरीले ‘छक्का पञ्जा–५’बाट पाएका छन् ।
छायांकनतर्फको अवार्ड ‘पिताम्बर’बाट पुरुषोत्तम प्रधानले पाउँदा सम्पादनको अवार्ड भरत रेग्मीले ‘पूजार सार्की’बाट पाएका छन् ।
जुरी अवार्ड प्रदीप खड्काले ‘पूजार सार्की’बाट हात पारेका छन् । दीर्घ साधना सम्मान निर्देशक लक्ष्मीनाथ शर्माले पाएका छन् ।

















