काठमाडौं । माघ महिनामा वाणिज्य बैंकहरुको कर्जा प्रवाह १२ अर्ब २३ करोड रुपियाँले बढेको छ । नेपाल बैंकर्स संघले तयार गरेको माघ महिनाको कर्जा प्रवाह सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।
हाल नेपालमा २० वाणिज्य बैंक छन् । गत पुस मसान्तसम्म वाणिज्य बैंकहरुको कूल कर्जा प्रवाह ४८ खर्ब १५ अर्ब ६२ करोड रुपियाँ थियो । माघ मसान्तसम्म आउँदा त्यो ४८ खर्ब २७ अर्ब ८५ करोड रुपियाँ पुगेको छ । अर्थात्, माघमा १२ अर्ब २३ करोड रुपियाँले कर्जा प्रवाह बढेको छ । कर्जा बक्यौता (आउटस्टान्डीङ) को आधारमा यस्तो देखिएको हो ।
यद्यपि, यो बिगतका महिनाहरुको तुलनामा कम हो । गत मंसिरमा ४२ अर्ब रुपियाँ र पुसमा ९४ अर्ब रुपियाँले कर्जा प्रवाह बढेको थियो । तर, माघमा त्योअनुसार कर्जा प्रवाह बढ्न सकेको देखिन्न । पछिल्लो समय देखिएको आर्थिक शिथिलता कर्जाको माग अस्थिर छ ।
कहिले कर्जाको माग बढ्ने त कहिले घट्ने भएको बैंकरहरु जनाउँछन । समग्रमा अझै पनि सन्तोषजनक रुपमा कर्जाको माग नभएको बैंकरहरु जनाउँछन । अर्थतन्त्र चलायनमान नहुदाँ यस्तो समस्या कायमै रहेको उनीहरुको भनाइ छ ।
माघ महिनामा माछापुच्छ्रे बैंकको कर्जा प्रवाह सबैभन्दा धेरै देखिएको छ । उक्त बैंकको कर्जा प्रवाह चार अर्ब २२ करोड रुपियाँ देखिएको छ । यसैगरी लक्ष्मी सनराइज बैंक दोस्रो नम्बरमा छ । उक्त बैंकले तीन अर्ब ५७ करोड रुपियाँ कर्जा प्रवाह गरेको छ । तेस्रो नम्बरमा रहेको एभरेष्ट बैंकले तीन अर्ब ५१ करोड रुपियाँ कर्जा प्रवाह गरेको देखिन्छ ।
यसैगरी हिमालयनले तीन अर्ब ४५ करोड रुपियाँ, प्रभुले तीन अर्ब १३ करोड रुपियाँ, सानिमाले दुई अर्ब ८२ करोड रुपियाँ, नविलले दुई अर्ब ७२ करोड रुपियाँ, एनएमबीले दुई अर्ब ५९ करोड रुपियाँ र सिटीजनले एक अर्ब ९८ करोड रुपियाँले कर्जा प्रवाह बढाएका छन् ।
नेपाल बैंकले एक अर्ब ३५ करोड रुपियाँ, प्राइम कर्मशियलले एक अर्ब २२ करोड रुपियाँ, ग्लोबल आईएमईले ८४ करोड रुपियाँ, कृषि विकास बैंकले २४ करोड रुपियाँ र सिद्धार्थ बैंकले २२ करोड रुपियाँले कर्जा प्रवाह बढाएका छन् । तर, नेपाल एसबीआईको दुई करोड रुपियाँ, राष्ट्रिय वाणिज्य बैंकको दुई अर्ब ४७ करोड रुपियाँ, कुमारी बैंकको तीन अर्ब ७३ करोड रुपियाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको तीन अर्ब ९२ करोड रुपियाँ र एनआईसी एसिया बैंकको आठ अर्ब ६३ करोड रुपियाँले कर्जा प्रवाह घटेको छ ।
चालु आवको सात महिनामा भने वाणिज्य बैंकहरुको कर्जा प्रवाह दुई खर्ब ५६ अर्ब ९४ करोड रुपियाँले बढेको छ । २०८१ असारमसान्तसम्म वाणिज्य बैंककरुको कर्जा प्रवाह ४५ खर्ब ७० अर्ब ९१ करोड रुपियाँ थियो । माघ मसान्तसम्म आउँदा त्यो ४८ खर्ब २७ अर्ब ८५ करोड रुपियाँ पुगेका छ ।
यो आवमा साउनमा दुई अर्ब रुपियाँ, भदौमा ५३ अर्ब रुपियाँ र असोजमा ५६ अर्ब रुपियाँले कर्जा प्रवाह बढेको छ । तर, कात्तिकमा दुई अर्ब रुपियाँले कर्जा प्रवाह घटेको थियो । त्यसपछि मंसिरमा ४२ अर्ब रुपियाँ, पुसमा ९४ अर्ब र माघमा १२ अर्ब रुपियाँले कर्जा प्रवाह बढेको देखिन्छ ।
माघ मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५९ खर्ब ९७ अर्ब रुपियाँ छ । त्यसमा ४८ खर्ब २८ अर्ब रुपियाँ कर्जा प्रवाह भइसकेको छ । अहिले उनीहरुको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.३५ प्रतिशत छ ।
बैंकहरुले सीडी रेसियो ९० प्रतिशतसम्म पुग्ने गरी कर्जा प्रवाह गर्न पाउँछन् । त्योअनुसार वाणिज्य बैंकहरुले अझै निक्षेपको १०.६५ प्रतिशत रकम कर्जा प्रवाह गर्न पाउँछन्, जुन रकम छ खर्ब ३८ अर्ब रुपियाँ हुन आउँछ । अर्थात्, माग भएको अवस्थाम बैंकहरुले सो बरारबरको कर्जा प्रवाह गर्न सक्नेछन् ।