काठमाडौं । जेनजी आन्दोलनको समयमा घटेका विभिन्न दुःखद् घटनाहरुमा भएको जिउधनको क्षतिप्रति महालक्ष्मी विकास बैंकले दुःख व्यक्त गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै बैंकले दुःख व्यक्त गरेको हो ।
‘यस दुःखद् घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन प्रति धैर्यधारण गर्नसक्ने शक्ति प्राप्त होस् भनी कामना गर्दछौँ । साथै, उपचारार्थ रहेका सम्पूर्ण घाइते व्यक्तिहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’ बैंकले भनेको छ ।
बैंकले घटनाहरुमा सरकारी, सार्वजानिक र निजी सम्पतिहरुमा भएको क्षतिप्रति पनि दुःख व्यक्त गरेको छ । साथै, सुरु भइसकेको सरकार गठनको प्रक्रिया चाँडै टुंगिने तथा त्यसले मुलुकको असामान्य अवस्थालाई शीघ्र सामान्य बनाउँदै शान्ति, सुशासन, निष्पक्ष व्यवसायिक वातावरण, आर्थिक स्थायीत्व र सुरक्षाको प्रत्याभूती गर्ने दिशामा सफल हुने विश्वास बैंकले लिएको छ ।
आन्दोलनको क्रममा बैंकको लेकसाइड पोखरा शाखा रहेको भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको र यस शाखा कार्यालयबाट प्रवाह हुने बैंकिङ सेवाहरु नजिकको शाखा कार्यालयहरुमार्फत लिन बैंकले अनुरोध गरेको छ । साथै, बैंकको लेकसाइड पोखरा शाखा बाहेक अन्य सम्पूर्ण १०२ शाखा कार्यालयहरु पूर्ण रुपमा सेवा सञ्चालनमा आईसकेको तथा बैंकको सम्पूर्ण डिजिटल सेवाहरु सुरक्षित रुपमा सञ्चालन भइरहेको समेत बैंकले जनाएको छ ।