काठमाण्डौ । अनुयायीहरू बेपत्ता पारेको आरोपमा प्रहरीले तपस्वी रामबहादुर बमजनलाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई काठमाण्डौबाट पक्राउ गरेको प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
अनुयायीहरूमाथि बलात्कार र हिंसा गरी बेपत्ता पारेको आरोप उनीमाथि लागेको छ । सर्लाही जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरे पनि उनी बेपत्ता थिए ।
अनुयायीहरू बेपत्ता पारेको आरोपमा तपस्वी बमजन पक्राउ
दूरसञ्चार प्राधिकरणको कार्यवाहक अध्यक्षमा अधिकारी
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको कार्यवाहक अध्यक्षमा सदस्य नवराज अधिकारी तोकिएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले यस्तो जानकारी दिएकी हुन् । बैठकले मंगलबार राजीनामा बुझाएका प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको राजीनामा स्वीकृत गरेको छ ।
खनालको राजीनामापछि रिक्त अध्यक्ष पदमा दूरसञ्चार नियमावलीको नियम ३ ‘क’ बमोजिम प्राधिकरणका सदस्य नवराज अधिकारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक अध्यक्ष तोकिएको हो ।
नियुक्तिको लागि सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
एनएमबि बैंक र यूएसएडद्वारा विराटनगरका उद्यमीलाई डिजिटल वित्तीय साक्षरता प्रदान
काठमाडौं । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट (यूएसएड) सँगको सहकार्यमा विराटनगरमा साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यम वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।
उद्यमीलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका र व्यवसाय वृद्धि र दिगोपन बढाउन उपलब्ध विभिन्न सेवा र मार्केटिङ प्रविधिबारे जानकारी गराउन कार्यक्रम केन्द्रित रहेको बैंकले जानकारी दिएको छ । कार्यक्रममा विभिन्न उद्योगबाट ११० भन्दा बढी प्रतिनिधि सहभागी रही सक्रिय रूपमा छलफलमा संलग्न भएका थिए ।
एनएमबि बैंकले हाल देशभरका २०१ शाखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।
श्रमिकबाट वृद्वि गरिएको शुल्क नलिन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाल श्रम तथा रोजगार मन्त्रालयले वृद्धि गरेको भनिएको शुल्क श्रमिकहरूबाट नलिई यथावत रुपमा हुनेगरी कार्यान्वयनको व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिएका छन ।
मंगलबार दिउँसो सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले नेपालीहरूको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको स्मरण गराउँदै उनीहरूलाई अतिरिक्त आर्थिक भार थप्ने मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन ।
‘हाल वृद्धि भएको भनिएको शुल्क श्रमिकहरूबाट नलिई यथावत रुपमा हुनेगरी कार्यान्वयनको व्यवस्था मिलाउनुहोला’, प्रधानमन्त्री दाहालले भने, ‘आन्तरिक वा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप सेवा शुल्क लगायत थप आर्थिक भार पर्ने कुनै प्रकारको काम नगर्ने नगराउने व्यवस्था गर्नुहोला ।’
शेयर बजारमा २०.६२ अंकको सुधार, ६ अर्ब बढीको कारोबार
काठमाडौं । शेयर बजार आज दोस्रो दिन पनि उचालिएको छ । बजार उचालिएसँगै कारोबार रकम पनि बढेको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २०.६२ अंकले बढेको हो । १ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०८०.१२ अंकमा पुगेको छ ।
आज ३०९ कम्पनीका १ करोड ७९ लाख ४९ हजार ५ सय ६२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८ सय ६६.६७ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार बढेको दिन विभिन्न ११ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् ।
कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कालीका लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, अपर साङ्गे हाइड्रो, त्रिशुली जलविद्युत, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन रि–इन्स्योरेन्सको शेयर मूल्य १०–१० प्रतिशतले बढेको हो ।
त्यस्तै नेपाल वायरहाउजिङ, तेह्रथुम पावर र ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य क्रमशः ९.९९, ९.९९ र ९.९७ प्रतिशतले बढेको हो ।
त्यस्तै समग्रमा बजार बढे पनि धौलागिरि लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.१९ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि सोनापुर मिनिरल्सकै उच्च कारोबार भएको छ । उक्त कम्पनीको २१ करोड ४९ लाख ४५ हजार ८ सय ९३.९० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार २६.३६ अंकले बजार घट्दा ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३ सय ७९.८५ रुपियाँ र हिजो सोमबार ३६.५७ अंकले बजार बढ्दा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९ सय ६.२८ रुपियाँ बराबरको कारोबार भएको थियो ।
महोत्तरीमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
काठमाण्डौ । महोत्तरीमा दुईटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बर्दिबास–जलेश्वर सडक खन्डको औरही नगरपालिका–१ मा भएको दुर्घटनामा अरु दुई जना घाइते भएका छन् । गम्भीर घाइते दुवै जनाको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका थली विर्ताका ३० वर्षीय मुकेश चमार र भंगहा नगरपालिका–३ का ३२ वर्षीय धर्मेन्द्र महतोको रहेको प्रहरीले जनाएको छ ।
सोमबार राति प्रदेश २–०२–००४ प १८४० र ज ११ प ८०९९ नम्बरका मोटरसाइकल ठोक्किएका थिए । दुर्घटनामा दुवै मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाममा बाबुले गरे छोराको हत्या
इलाम । इलामको माई नगरपालिकामा गए राति बाबुले छोराको हत्या गरेका छन् ।
माई नगरपालिका–६, बिहीबारेका ३७ वर्षीय दिलकुमार राईले छोरा १८ वर्षीय जीवनको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
घरायसी विवादमा दिलकुमारले छोरामाथि खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते जीवनलाई तत्काल उपचारका लागि झापा लगिएको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दिलकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राष्ट्रियसभा निर्वाचन ः आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने
काठमाण्डौ । राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएकाहरुविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिनेछ ।
निर्वाचन कार्यक्रमअनुसार सोमबार उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिने कार्यतालिका रहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
यस्तै पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण हुनेछ ।
माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदानका लागि २०४७ मतदाता रहेका छन् ।
राष्ट्रिय सभामा पहिलो दल माओवादी, दोस्रो नेपाली कांग्रेस
काठमाडौं । राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि हुने निर्वाचनमा सातै प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धन विपक्षीसँग प्रतिस्पर्धा गरेरै अघि बढ्ने भएको छ । यसको पुष्टि उनीहरुले सिट भागबण्डासँगै मनोनयन दाखिलाबाट गरेका छन् ।
दलहरु केहीले प्रत्यक्ष निर्वाचनमा हारेका नेतालाई राष्ट्रिय सभामा व्यवस्थापन गर्न खोजेका छन् । केही भने नयाँ अनुहारले उम्मेदवारी दाबी गर्न पाएका छन् । पराजित तर व्यवस्थापनमा गठबन्धनको सदाशयता पाएका नेता कांग्रेसका कृष्णप्रसाद सिटौला हुन् । उनले कोशीबाट मनोनयन दर्ता गराएका छन् । आफ्नै दलभित्र गुटको भागबण्डामा सहमति नहुँदै उनको टिकट पक्का भइसकेको थियो ।
सत्ता गठबन्धन दलहरुले आफ्नो भागमा परेको सिटका लागि मात्र उम्मेदवारी दर्ता गराए । प्रमुख प्रतिपक्षी एमालेले १९ सिटमै प्रतिस्पर्धा गर्दैछ । आगामी फागुन २० गते पदावधि पूरा हुने राष्ट्रिय सभाका २० सदस्यमध्ये धेरै अर्थात ९ जना एमालेका छन् ।
यसमा निर्वाचित ८ छन् भने राष्ट्रपतिले मनोनीत गरेका एक जना छन् । गुमेको सिटमा एमाले फर्किने सम्भावना निकै कम छ । निर्वाचनमा पार्टीहरुको निर्देशनअनुसार मतदाता इमानदार भए १९ सिटमै गठबन्धन दलको वर्चस्व हुने देखिएको छ ।
राष्ट्रपति कांग्रेसका भएकाले उनले मनोनीत गर्ने सदस्य पनि गठबन्धनभित्रकै नेताको भागमा जाने पक्का छ । राष्ट्रिय सभामा अब माओवादी केन्द्र सबैभन्दा ठूलो दल हुने देखिएको छ । माओवादीबाट हाल उपाध्यक्षसमेत १५ जना छन् । ३ जना फागुन २० मा बिदा भए पनि ६ जना निर्वाचित भए माओवादी सांसदको संख्या १८ पुग्नेछ ।
राष्ट्रिय सभामा कांग्रेसका १० सांसद छन् । जसमा ४ जना फागुन २० गते बिदा हुँदैछन् । गठबन्धनको योजनाअनुसार नतिजा आए कांग्रेसका १० जना निर्वाचित हुनेछन् । यो अवस्थामा १६ सिटसहित कांग्रेस राष्ट्रिय सभाको दोस्रो ठूलो दल बन्नेछ ।
एकीकृत समाजवादीले गठबन्धनको भागबण्डामा २ सिट पाएको छ । २ सांसद फागुन २० बाट बिदा हुँदा त्यही सीट पदपूर्तिले एकीकृत समाजवादीका लागि यो निर्वाचन खासै लाभहानिको देखिँदैन । जबकी अहिले १८ सांसदसहित ठूलो दल रहेको एमाले भने तेस्रो हुने अवस्था आएको छ । ९ सांसद घटेपछि उसका ९ जना बाँकी हुनेछन् ।
नयाँ संविधान जारीसँगै तीन तहको सरकारको अभ्यासमा मुलुकले अझै धेरै कानुनहरु बनाउनै बाँकी छन् । समाजमा पछाडि पारिएका वर्गको पहुँच अझैसम्म सुनिश्चित भइसकेको छैन ।
निर्वाचन आयोगका अनुसार सोमबार दर्ता भएका ५२ मनोनयनमा महिला समूहतर्फ १८, दलिततर्फ ५, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ जनाको छ ।
सबैभन्दा धेरै मनोनयन बागमती प्रदेशमा परेको छ । महिला ४, दलित ३, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि ४ र अन्य समूहका लागि ४ जना गरी १५ जना उम्मेदवारको मनोनयन परेको छ । कोशी र मधेश प्रदेशमा महिला २ र अन्य समूहका लागि ३ गरि ५, ५ जनाको मनोनयन दर्ता भएको छ ।
गण्डकी प्रदेशमा महिला ३, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि २ र अन्य समूहका ३ जना गरी जम्मा ८ जनाको मनोनयन दर्ता भएको छ । लुम्बिनीमा महिला ३, अन्य समूहका लागि ४ सहित ७ जनाको मनोनयनपत्र दर्ता भएको छ । कर्णालीमा महिला २, दलित समूहका लागि २ र अन्य समूहका लागि २ गरी जम्मा ६ जनाको मनोनयन दर्ता भएको छ ।
सुदूरपश्चिममा महिला २, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि २ र अन्य समूहका २ गरी ६ जनाको मनोनयनपत्र दर्ता भएको छ । आयोगले पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते निर्वाचन चिन्ह वितरण गर्ने आयोगको कार्यतालिका छ ।
निर्वाचनका लागि आयोगले मतदाता र मतभार आइतबार सार्वजनिक गरिसकेको छ । जसअनुसार सातै प्रदेशमा प्रदेश सभाका मतदाता ५ सय ४९ छन् भने स्थानीय तहका १ हजार ४ सय ९८ छन् । प्रदेश सभामा प्रति मतदाताको ५३ मतभारका दरले जम्मा मतभार २९ हजार ९७ छ । स्थानीय तहको प्रति मतदाताको १९ मतभारका दरले जम्मा मतभार २८ हजार ४ सय ६२ छ । दुवैतर्फ गरेर २ हजार ४७ मतदाताको जम्मा मतभार ५७ हजार ५ सय ५९ छ ।
राष्ट्रियसभाका १९ सिटमा ४७ उम्मेदवार चुनावी मैदानमा
काठमाण्डौ । राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुने भएको छ । आगामी फागुन २० गते १९ जना राष्ट्रियसभाका सदस्यको पदावधि सकिने भएपछि एक महिना अगावै निर्वाचन हुन लागेको हो।
सत्ता गठबन्धन एकजुट भएर राष्ट्रियसभाको निर्वाचनमा होमिएको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै चुनावी मैदानमा उत्रेको छ । जसअनुसार गठबन्धनबाट १९ जना चुनावी मैदानमा छन् । जसमा कांग्रेसबाट १० जना, माओवादी केन्द्रबाट ६ जना, एकीकृत समाजवादीबाट २, जनता समाजवादीबाट १ जनाको उम्मेदवारी परेको छ।
त्यस्तै नेकपा एमालेबाट १९ र राप्रपाबाट ९ जना मैदानमा छन् । कांग्रेसले कोशीमा कृष्णप्रसाद सिटौला र मधेशमा आनन्द ढुङ्गाना, बाग्मतीमा जितजंग बस्नेत र विष्णुदेवी पुडासैनी, गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार तथा लुम्बिनीमा विष्णुकुमारी सापकोटा, कर्णालीमा कृष्णबहादुर रोकाया, सुदूरपश्चिममा बलदेव बोहरा र नारायणदत्त भट्टलाई उम्मेदवार बनाएको छ ।
माओवादीले कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरुपा शर्मा, कर्णालीबाट विष्णु विक, लुम्बिनीबाट झक्कु सुवेदी र सुदूरपश्चिमबाट रेणु चन्दलाई उठाएको छ।
नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशका दलित कोटाबाट दोलखाका घनश्याम रिजाल र कर्णाली प्रदेशको महिला कोटाबाट दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाएको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रिय सभा सदस्यमा निर्वाचनमा पूजा चौधरीलाई उम्मेदवार बनाएको छ।
त्यस्तै एक्लै मैदानमा उत्रिएको एमालेले १९ जना नै उम्मेदवार तय गरेको छ। एमालेले कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर) लाई उठाएको छ। मधेस प्रदेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी) उम्मेदवार भएका छन्।
बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गता (अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौं), दलितबाट ध्रुवराज विश्वकर्मा (धादिङ) उठ्दैछन्। गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा) र अपांगताअल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ) उम्मेदवार भएका छन्।
लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ), अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा) लाई उम्मेदवार बनाइएको छ। कर्णालीमा महिलाबाट विमलाकुमारी शाही (हुम्ला), अन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु), दलितबाट हिक्मत विक (दैलेख) उम्मेदवार भएका छन्।
सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपांगता अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली) लाई उम्मेदवार बनाइएको छ।
राप्रपाले कोशीमा उद्धव पौडेल, बागमतीमा महिलामा नानू नगरकोटी, दलितमा पूर्णबहादुर खड्का, अपाङ्गमा भरतमणि भट्ट र अन्यमा हेमजङ गुरुङलाई उम्मेदवार बनाएको छ । त्यस्तै गण्डकीमा महिलाबाट गौमाया श्रेष्ठ र पुरुषबाट रोमबहादुर भण्डारी, लुम्बिनीबाट निरञ्जन थापा र विजयीलक्ष्मीलाई उम्मेदवार बनाइएको छ ।














